न्याय सेवाका २ सय ९४ राजपत्रांकित कर्मचारीको सरुवा


काठमाडौं, (नेस)
न्याय सेवा आयोगको आइतबार बसेको बैठकले न्याय, सरकारी वकिल समूह तथा कानुन सेवामा कार्यरत २ सय ९४ जना कर्मचारीलाई सरुवा गरेको छ । आयोग स्रोतले दिएको जानकारीअनुसार सरुवा हुनेमा राजपत्रांकित प्रथम श्रेणीदेखि शाखा अधिकृतसम्म रहेका छन् ।

न्याय सेवामा कार्यरत १३ जना राजपत्रांकित प्रथम श्रेणीका कर्मचारीलाई विभिन्न कार्यालयमा सरुवा गरिएको छ । यसैगरी सरकारी वकिल समूहमा कार्यरत १२ जना राजपत्रांकित प्रथम श्रेणीका कर्मचारीलाई पनि कार्यरतभन्दा अन्य कार्यालयमा सरुवा गरिएको छ ।

न्याय सेवाका २९ जना राजपत्रांकित द्वितीय श्रेणीका कर्मचारीलाई पनि आयोगको बैठकले सरुवा गरेको छ । त्यस्तै सरकारी वकिल समूहबाट द्वितीय श्रेणीका ४६ जना कर्मचारीहरु विभिन्न कार्यालयमा सरुवा भएका छन् । कानुन समूहका तीन जना द्वितीय श्रेणीका कर्मचारीलाई बैठकले सरुवा गरेको छ ।

न्याय समूहमा कार्यरत तृतीय श्रेणीका १ सय ४७ जना कर्मचारीलाई पनि आयोगको बैठकले सरुवा गरेको छ । बैठकले सबैभन्दा धेरै सरुवा गरेको न्याय समूहका तृतीय श्रेणीका कर्मचारी हो ।

सरकारी वकिलतर्फ कार्यरत तृतीय श्रेणीका ४१ जना कर्मचारीहरु पनि सरुवामा परेका छन् । यसैगरी कानुन समूहतर्फका तीन जना कर्मचारीहरु सरुवा हुने सूचीमा रहेका छन् ।

यसभन्दाअघि न्यायपरिषद्को बैठकले १ सय १४ जना जिल्ला न्यायाधीशलाई सरुवा गरेको थियो । सरुवा भएका न्यायाधीशहरुले अब पहिलेको अदालतमा मुद्दा सुनुवाइ गर्ने कार्य स्थगित गरेका छन् । अब उनीहरुले नयाँ अदालतमा गएपछि मात्र मुद्दा सुनुवाइ गर्ने भएका छन् ।

न्याय परिषद्बाट थाहा भएअनुसार अबको केही दिनपछि उच्च अदालतका न्यायाधीशहरुको सरुवा गर्ने योजना छ । उच्च अदालतका न्यायाधीशहरुको सरुवा गर्ने तयारी भइरहेको न्याय परिषद् स्रोतले बतायो ।