कर्णाली सरकारविरुद्ध आयो अविश्वासको प्रस्ताव


  • दीपेन्द्र शर्मा, सुर्खेत

कर्णाली प्रदेश सरकारविरुद्ध नेकपाका सासंदहरुले आइतबार अविश्वासको प्रस्ताव दर्ता गरेका छन् ।
नेकपा कर्णाली प्रदेशका बहुसंख्यक सांसदहरुले हस्ताक्षर गरेर सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।

सांसदहरुले हस्ताक्षर गरेको पत्र नेकपा संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहलाई बुझाएका छन् । सांसदहरुले कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री तथा संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव शाहलाई बुझाएका हुन् ।

तत्कालीन माओवादी पक्षका मुख्यमन्त्री शाहीविरुद्ध पूर्वमन्त्री तथा तत्कालीन एमाले पक्षका सांसद यामलाल कँडेलको नेतृत्वमा १८ जना सांसदले हस्ताक्षर गरी संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहलाई बुझाएको सांसद सुशीलकुमार थापाले जानकारी दिनुभयो ।

हस्ताक्षर गर्नेमा पूर्वमाओवादी पक्षका ३ सांसद रहेका छन् भने १५ जना पूर्वएमाले पक्षका छन् । हस्ताक्षर गर्नेमा पूर्वमाओवादीको कोटाबाट उपसभामुख भएकी पुष्पा घर्ती विष्ट, सांसदहरु धर्मराज रेग्मी र ठम्मर विष्ट रहेका छन् भने बाँकी १५ जना पूर्वएमालेका सांसदहरु छन् । नेकपा संसदीय दलमा ३३ जना सांसद रहेका छन् ।

पूर्वएमालेबाट सरकारमा रहेका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल, उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा, कर्णाली प्रदेश सभाका सभामुख राजबहादुर शाही र प्रमुख सचेतक गुलाबजंग शाहले हस्ताक्षर गरेका छैनन् ।

त्यस्तै हस्ताक्षर नगर्नेमा पूर्वमाओवादी तर्फका सरकारमा रहेका मुख्यमन्त्री शाहीसहित आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसी, ७ जना सांसदलगायत १५ जना बाँकी रहेका छन् ।

संसदीय दलको नेता र सरकार प्रमुख एकै व्यक्ति हुने कानुनी व्यवस्था रहेको छ ।