भीरकोटले गर्ने भयो फोहोरमैला व्यवस्थापन


स्याङ्जा, (नेस)
भीरकोट नगरपालिकाले फोहोरमैला व्यवस्थापन गर्ने भएको छ । फोहोरमैला व्यवस्थापनका लागि केन्द्रको निर्माण गरी फोहोरमैला व्यवस्थापन गर्न लागेको हो ।
फोहोरमैला व्यवस्थापनका लागि गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले प्रशासकीय भवनको शिलान्यास गर्नुभएको छ । भवनको शिलान्यास गर्दै मन्त्री लम्सालले तिनै तहको सरकारबीचमा समन्वय भएमात्रै समृद्ध नेपाल सुखी नेपाली सम्भव भएको बताउनुभयो । मन्त्री लम्सालले केन्द्र, प्रदेश र स्थानीय सरकार मिलेर समृद्धि हासिल गर्न सकिने भन्दै पर्यटनका माध्यमबाट समृद्धि र विकास सम्भव भएको बताउनुभयो ।
सरसफाइ पर्यटनको मुख्य आधार भएकाले जिल्लाको मध्यभागमा रहेको भीरकोटमा भएका धार्मिक तथा ऐतिहासिक पर्यटनको विकास गर्नुअघि सरसफाइमा ध्यान दिएको उहाँको भनाइ छ ।
भीरकोटले फोहोरबाट चालू आर्थिक वर्षमा १ लाख ४३ हजार ८ सय ३५ रुपियाँ आम्दानी गरेको छ भने २ लाख ५० हजारको फोहोर बिक्री गर्न बाँकी रहेको नगरपालिकाले जनाएको छ ।
प्रशासकीय भवन निर्माणका लागि १ करोड ९९ लाख ५५ हजार १ सय ३० रुपियाँको बोलपत्र आह्वान भएको छ । प्रशासकीय भवनसँगै पानीपोखरी, शौचालय, कल्भड, ल्यान्ड फिल्ड साइडको भित्री बाटो ग्राभेल हुनेछ । २४ रोपनी ९ आना एक पैसाको जग्गा नगरपालिकाले ५१ लख १५ हजार ६ सय रुपियाँमा खरिद गरेको थियो ।
कार्यक्रममा गण्डकी प्रदेश सांसद दीपक चर्तीमगर, प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्री, नेकपाका नगर अध्यक्ष मीनप्रसाद कोइराला, कांगे्रसका नगरसचिव श्यामकाजी अधिकारीलागायतले आफ्नो धारणा राख्नुभएको थियो ।