ब्राजिलसँग बोलिभिया पराजित


साओपाओलो, (एजेन्सी)
रोबर्टो फिर्मिनोले दुई तथा मार्किन्हो र फिलिप काउटिनहोले एक–एक गोल गर्दा ब्राजिलले बोलिभियालाई विश्वकप २०२२ छनोट खेलमा ५–० ले हराएको छ।
साओपाओलोमा भएको उक्त खेलमा एक गोल आत्मघाती भएको थियो। ब्राजिलले विश्वकप छनोटअन्तर्गत घरेलु मैदानमा खेलेको खेलमा हालसम्म हार व्यहोरेको छैन। ब्राजिलको यो घरेलु मैदानमा अपराजय भएको ५४औं खेलसमेत हो। मार्किन्होसले १६औं मिनेटमा गोल गर्दै टिमलाई १–० को अग्रतामा राखेका थिए।
त्यसपछि, फिर्मिनोले १८औं र ४९औं मिनेटमा गोल गर्दै टिमलाई ३–० को अग्रतामा पु¥याए। ६६औं मिनेटमा आत्मघातीको गोलले ब्राजिल ४–० को अग्रतामा रहेको थियो। त्यसको सात मिनेटपछि काउटिन्होले हेडमार्फत गोल गरेपछि ब्राजिलको बोलिभियामाथि सानदार जित आत्मसात् भएको थियो।
बोलिभियाले पछिल्लोपटक विश्वकप १९९४ मा छनोट हुन पाएको थियो। दक्षिण अमेरिकी समूहबाट १० टिमको सहभागिता रहेको छ। जसमा शीर्ष चार टिमले २०२२ मा कतारमा हुने विश्वकपमा सीधै खेल्न पाउनेछन्। पाँचौं स्थानमा रहने टिमले अन्तर क्षेत्रिय समूहमा प्लेअफ खेल्नेछ।
ब्राजिलले मंगलबार पेरुविरुद्ध खेल्न लिमामा यात्रा गर्नेछ। त्यस्तै, बोलिभियाले घरेलु मैदानमा अर्जेन्टिनासँग खेल्नेछ। अर्जेन्टिनाले गत बिहीबार विश्वकप छनोटमा इक्वेडरलाई १–० ले हराएर जितको शुरुआत गरेको छ।
त्यसैगरी, अन्य खेलमा कोलम्बियाले भेनेजुयलालाई ३–० ले पराजित गरेको छ। डुभान जापाताले १६औं मिनेटमा गोल गरेर टिमलाई अग्रतामा राखेका थिए। उनले हुआन क्वाड्राडोको लो क्रसमा गोल गरेका हुन्। उनका एटलान्टा टिमका साथी खेलाडी लुइस मुरिएलले ९ मिनेटपछि गोल गर्दा घरेलु टिम २–० को अग्रतामा रहेको थियो। मुरिएलले नै पहिलो हाफ सकिन केही सेकेन्ड बाँकी हुँदा गोल गरेर टिमलाई ३–० को अग्रतामा पु¥याएका थिए।