स्थानीयले बनाएको ‘कांसाहोप ताल’ आन्तरिक पर्यटन केन्द्र बन्दै

0
Shares

रामधन राई, खोटाङ ।

खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका स्थानीयले निर्माण गरेको कांसाहोप ताल हाल आन्तरिक पर्यटन केन्द्रको रुपमा विकास भएको छ । लकडाउनकैबीच खार्मीको माथिल्लो भेग लेकगाउँका २२ घर स्थानीयले भंगेटारमा निर्माण गरेको तालमा हाल दैनिक सरदर १०–१५ जना जिल्लावासी पुग्ने गरेका छन् ।

स्थानीयकै पहलमा स्वदेश तथा विदेशमा रहने समाजसेवीहरुवाट संकलन गरेको साना–साना सहयोग तथा श्रमदानवाट निर्मित तालमा व्यवसायिक रुपले डुंगा सञ्चालन गर्न थालेपछि आन्तरिक पर्यटक त्यसतर्फ जान लोभिएका हुन् । हाल लाईफ ज्याकेटसहित व्यवसायिक रुपमा काठको डुंगा सञ्चालनमा ल्याइएको छ । प्रतिव्यक्ती ७५ रुपैयाँ शुल्कमा २० मिनेट शयर गर्न सकिने

व्यवस्था सहित व्यवसायिक रुपमा डुंगा सञ्चालनमा ल्याइएपछि जिल्लास्थित विभिन्न गाँउहरुवाट दैनिक रुपमा घुम्ने समुहहरु आउन थालेको ताल निर्माण उपभोक्ता समितिका सचिव दिपककुमार तामाङले बताउनुभयो । मानव निर्मित कृत्रिम तालमा आठ सयमा डुंगा रिजर्भ गरेर एक घण्टासम्म शयर गर्ने व्यवस्था मिलाइएको छ । स्थानीय काठबाट बनाइएको डुंगामा एक पटकमा आठ जनाले शयर गर्न सक्ने समितिले जनाएको छ ।

कांसाहोप तालमा रमिता हेर्ने र घुमफिर गर्ने स्थानीय आउन थालेपछि व्यवसायिक रुपमा डुंगा सञ्चालनमा ल्याइएको हो । तालमा डुंगा शयर गर्दै लम्वुर लगायतका तीन वटा हिमश्रंखला अवलोकन गर्न सकिने समितिका सचिव तामाङको भनाई छ ।

कांसाहोप, बाँझोबारी, रमितेडाँडा लगायतका ठाउँको पर्यटन प्रवद्र्धनका लागि स्थानीयले चन्दा उठाएर करिब ३ लाख ५ हजारको खर्चमा कृत्रिम ताल निर्माण गरेका हुन् । जमिन रिचार्ज गर्नेदेखि तल्ला क्षेत्रमा सिँचाई गर्न मिल्नेगरी निर्माण गरिएको एल आकारको तालको वाहिरी घेरा ६ सय ७० फिटको रहेको छ ।

नियमित पानी उम्रने मुहान भएको सानो खाल्डोलाई लकडाउनकै बेला स्काभेटर प्रयोग गरेर फराकिलो बनाएर तालको आकार दिइएको हो । तालसम्म पुग्नका लागि दिक्तेलवजार–मुढे–पैंयाँ हुँदै कच्ची सडक बनिसकेको छ । यस्तै दिक्तेलवजार–सोल्मा–तालखर्क –वाँझेवारी र खार्मी स्कुल हुँदै पनि कच्ची सडकमार्फत तालसम्म पुग्न सकिन्छ ।

तामाङ भाषामा मटेंग्रा बनाउने माटोलाई ‘कांसा’ र खाल्डोलाई ‘होप’ भनिन्छ । सो स्थानको खाल्डोमा मटेंग्रा बनाउने माटो पाइने र झिक्ने गरेकाले सो स्थानलाई कांसाहोप भनिएको स्थानीय बताउँछन् ।

कांसाहोप तालबाट दुई मिनेट पश्चिममा रहेको रमितेडाँडा वा रमितेढुंगा घुमफिरका लागि चर्चित छ । सो स्थानबाट टाढा–टाढाका मनोरम दृश्यावलोकन गर्न सकिने तामाङले बताउनुभयो । त्याँहावाट हिमालका दृश्यहरुसँगै सोलुखुम्वुको पत्ताले, लेले लगायतका अधिकांश डाँडाहरु, ओखलढुंगाका सदरमुकाम लगायतका क्षेत्रहरु समेत देख्न सकिन्छ । निकट भविश्यमै उक्त रमिते ढुंगा वरीपरी रेलिङ राख्ने या नजिकै टावर राख्ने दुईमा एक काम गर्ने योजना रहेको तामाङले सुनाउनुभयो ।

बाँझोबारीबाट सिधै कांसाहोप ताल पुग्ने छोटो दुरीको सडक निर्माण गर्न सके बाँझोबारी र कांसाहोपको पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने स्थानीयको अपेक्षा छ ।

यस वर्ष तालको प्रवद्र्दनमा खर्च गर्नेगरी साँडे दुई लाख रुपैंयाँ वजेट नगरपालिकाले उपलव्ध गराउने भएको छ । सो रकम तथा श्रमदानवाट तालको क्षेत्रफललाई दोव्वर वनाउने निर्माण समितिको योजना रहेको छ ।

यस्तै, हाल एउटा सञ्चालन भईरहेकोमा अरु दुई डुंगा र केही लाईफ ज्याकेटहरु थप्ने समितिले जनाएको छ । डुंगा सञ्चालनको लागि दुई–दुई जनाको टीम वनाईएको छ । आम्दानी भएको रकममध्ये डुंगा चलााउनेलाई ५० प्रतिशत दिएर समितिमा राख्ने गरिएको छ ।