राजधानी घोषणाले दुर्गमका बासिन्दामा बढाएको आशा

0
Shares

नरेन्द्र केसी, दाङ
नजिकै राजमार्ग देखिन्छ, तर यो गाउँसम्म गाडी पुग्दैन । पिठ्युँमा राप्ती नदी बगिरहेको छ तर गाउँमा न सिँचाइ सुविधा छ, न खानेपानी । भूभाग साविक लुम्बिनीमा पर्ने अर्घाखाँची जिल्लामा छ तर सामान्य बिरामी हुँदा उपचार गर्नेदेखि किनमेल गर्न दाङको बजार भालुबाङ झर्नुपर्छ ।

अर्घाखाँचीको शीतगंगा नगरपालिका–८ का बासिन्दाको पीडा हो यो । यी तिनै गाउँ हुन्, जहाँ लुम्बिनी प्रदेशको राजधानीको भूभागले समेटेको छ । प्रदेशसभाको दुई तिहाइबाट पारित भएको लुम्बिनी प्रदेशको राजधानी दाङको राप्ती गाउँपालिका, गढवा गाउँपालिकाको वडा नम्बर १, २ र ३ तथा अर्घाखाँचीको शीतगंगा नगरपालिकाको वडा नम्बर ८ र ९ को भूभागमा राजधानी बनाउने उल्लेख छ । जसका लागि जग्गाको अभाव र दुरुपयोग नहोस् भनेर यी भूभागको जग्गा खरिदबिक्री तथा कित्ताकाटमा रोक पनि लगाइएको छ ।

यो घोषणाले यहाँका बासिन्दा खुसी त भएका छन् तर खुसी टिक्ने नटिक्ने आशंका कायम छ । प्रदेशको घोषणामा परेको वडा नम्बर ९ त अझै विकट छ । जहाँबाट उपचारमा भालुबाङमा झर्न पनि पाँच घण्टा पैदल हिँड्नुपर्ने बाध्यता रहेको शीतगंगा नगरपालिका वडा नम्बर ९ सिलिङखोला लहरेनीका ७३ वर्षीय रेमबहादुर विकले बताउनुभयो । प्रदेश राजधानी घोषणाले आफ्नो गाउँमा पनि गाडी चल्छन् कि भन्ने आशा पलाएको उहाँले बताउनुभयो ।

प्रदेश सरकारको घोषणाबाट जनप्रतिनिधिहरु पनि हर्षित छन् । प्रदेश सरकारले राजधानीको भूभागमा समेटेकोमा खुसी व्यक्त गर्दै शीतगंगा ८ का अध्यक्ष रुकबहादुर आलेले भन्नुभयो– ‘अब लगत्तै खाली जग्गा पहिचान गरेर सिफारिस गर्नेछौं, कुनै न कुनै संरचना आउनेछ भन्ने आशामा छौं ।’ वडा नम्बर ८ र ९ का साथै राप्ती नदीसँग प्युठानतर्फ जोडिएको वडा नम्बर ७ मा पनि प्रदेश राजधानी भूभागमा समेटेर विकास गर्न सकिए साविक लुम्बिनीको दुर्गम भूभागका रुपमा रहेका यी गाउँहरुले न्याय पाउने उहाँको आशा छ ।

विभिन्न पहाडी जिल्लाबाट बसाइँ सरेर आएका अति विपन्न समुदायको बसोबास रहेको जनाउँदै नगरपािलकाले पनि प्रदेश राजधानी घोषणासँगै यी वडाहरुको विकास हुन्छ भन्ने आशा बढेको जनाएको छ । कुनै न कुनै प्रदेश राजधानीका संरचना राखेर यहाँका बासिन्दालाई आर्थिक उत्पादनसँग जोड्नुपर्ने शीतगंगा नगरपालिकाका प्रमुख सूर्यप्रसाद अधिकारीको भनाइ छ ।

‘मूलतः प्रदेश सरकारले राप्ती नदीको तटीय क्षेत्रमा राजधानी राख्ने अवधारणाअन्तर्गत प्युठानको बांगेसालदेखि हाम्रा पालिकाका वडा, राप्ती र गढवा गाउँपालिकालाई समेट्ने भनेको छ’, उहाँले भन्नुभयो– ‘यदि यसो हो भने त्यसका लागि विस्तृत गुरुयोजना बनाइदिनुपर्छ, हाम्रो नगरपालिकाका वडाहरुलाई पर्यटन प्रवद्र्धनसँग जोड्ने बढी नै सम्भावना छ ।’