गुरुयोजनाको टुंगो नलाग्दासम्म प्रदेश राजधानीमा नयाँ घर बनाउन रोक्न मुख्यमन्त्रीको निर्देशन

0
Shares

यमलाल भुसाल, बुटवल ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश राजधानी राप्ती उपत्यकामा गुरुयोजनाको टुंगो नलाग्दाँसम्म नयाँ घर बनाउन राकिने बताउनु भयो । प्रदेशको राजधानी र नामाकरण टुगिएपछि मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका कर्मचारीलाई उहाँले अब गुरुयोजनाको टुंगो नलाग्दासम्म नयाँ घर पनि बनाउन रोक्न निर्देशन दिनु भयो ।

प्रदेश राजधानी राप्ती उपत्यकामा हुनसक्ने गैर कानुनी किनबेच तथा अतिक्रमण रोक्न कर्मचारीहरु चनाखो भएर लाग्न समेत मुख्यमन्त्री पोखरेलले निर्देशन दिनु भयो । सरकारले यस अघि दाङको राप्ती गाउँपालिका,गढवा गाउँपालिकाको वडा नम्बर १,२ र ३ तथा अर्घाखाँचीको शितगंगा नगरपालिकाको वडा नम्बर ८ र ९ मा जग्गाको किनबेच र कित्ताकाटमा रोक लगाइसकेको छ ।

कानुनी रुपमा जग्गाको किनबेच रोक लगाइसकेको भएपनि गैरकानुनी रुपमा किनबेच हुनसक्ने भएकाले त्यस्ता गलत कामलाई निस्तेज गर्न सरोकारवाला निकायलाई निर्देशन दिनु भयो ।

उहाँले राप्ती उपत्यकाको राप्ती गाउँपालिका, गढवा गाउँपालिका र शितगंगा नगरपालिकाको मैदानी भागमा गुरुयोजना बनाएर प्रदेशको सुन्दर राजधानी बनाउने गरी अघि बढेको बताउनु भयो ।

राप्ती उपत्यका भन्नाले दाङको राप्ती गाउँपालिका, गढवा गाउँपालिकाको वडा नम्बर १,२ र ३ तथा अर्घाखाँचीको शितगंगा नगरपालिकाको वडा नम्बर ८ र ९ को राप्ती किनारको मैदानी भाग भएकाले कोही भ्रममा नपर्न उहाँले आग्रह गर्नु भयो । राजपत्रमा राप्ती उपत्यका भन्ने प्रष्ट रहेको उहाँले बताउनु भयो । गुरुयोजना बनेपछि पहिलो प्राथमिकता प्रशासनिक संरचनाको उपस्थिति रहने र अरु क्रमसःबनाइदै जाने बताउनु भयो । उहाँले नक्शाको डिजाइन,गुरुयोजना र ल्याण्डपुलिङ जस्ता कामक्रमसः अघि बढ्ने बताउनु भयो ।