तीन महिलाको हत्या भएको चार वर्षसम्म दोषी पत्ता लागेन

0
Shares

रामधन राई, खोटाङ ।

खोटाङमा तीन महिलाको हत्या भएको करिव ४ वर्ष वित्दा समेत दोषी पत्ता लाग्न सकेको छैन । खोटेहाङ गाउँपालिका सिम्पानीकी रीता तामाङ, हलेसी तुवाचुङ नगरपालिकाकी ज्ञानुमायाँ विश्वकर्मा र जन्तेढुङ्गा गाउँपालिकाकी देवी विश्वकर्माको हत्या भएको लामो समय वित्दा समेत दोषी पत्ता लाग्न नसकेको हो ।

२०७३ माघ २६ गते हत्या भएको खोटेहाङ गाउँपालिका–९ सिम्पानीकी १७ वर्षीया रीता तामाङको हत्यामा संलग्न अझै पत्तो लागेको छैन । सिम्पानीबजारस्थित शिव खड्काको होटलमा काम गर्दै आएकी रीता घर नआएपछि खोजीका क्रममा कुशेऔसी जङ्गलको बाटोभन्दा करिब ४० मिटर तल भिरमा मिल्काइएको अवस्थामा मृत फेला परेकी थिइन् । घटना स्थलमा मडारिएको, घस्रिएको पाइएकाले युवतीलाई सामुहिक बलात्कारपछि हत्या गरिएको राष्ट्रिय मानव अधिकार आयोगको टोलीले आशंका गरेको थियो । दोषी निर्धक्कसाथ हिडिरहेको तर प्रहरी प्रशासन भने अनुसन्धानमा उदासीन बनेको रीताका बुवा वीरबहादुरको गुनासो छ ।

त्यस्तै, २०७४ साउन ४ गते मृत फेला परेकी जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङकी ३७ वर्षीया देवी विश्वकर्माको हत्यामा संलग्न दोषी पनि पत्ता लाग्न सकेको छैन । जन्तेढुङ्गा गाउँपालिका–४ डम्बर्खुशिवालस्थित माइतीघरबाट घर फर्कने क्रममा सम्पर्क विहीन भएको दोश्रो दिन विश्वकर्मा मृत फेला परेकी थिइन् । विश्वकर्माको शव सडक भन्दा करिब पाँच सय मिटर तल फेला परेको थियो । कम्मरमुनिको कपडा खोलिएको र नाकबाट रगत बगेको अवस्थामा विश्वकर्माको शव फेला परेको थियो ।

हलेसी तुवाचुङ नगरपालिकाकी ज्ञानुमायाँ विश्वकर्मा हत्यामा संलग्न पनि फेला पर्न सकेको छैन । विश्वकर्मा २०७४ जेठ १६ गते स्थानीय गुँरासेडाडाँमुनि मृत फेला परेकी थिइन् । जिल्लामा आपराधिक घटना बढेपछि गृहमन्त्री समक्ष समेत गुनासो राखेको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेका राजन ढकालले बताउनुभयो । गृहमन्त्री रामबहादुर थापाले अनुसन्धानलाई तिब्रता दिने आश्वासन दिएको ढकालले सुनाउनुभयो । खोटाङका प्रहरी प्रमुख प्रहरी नायव नारायणप्रसाद चिमरीयाले भने अनुसन्धान भइरहेको बताउनुभयो ।