रमेशकेशरी वैद्य
नेपाल मुलुक सानो भए तापनि टेलिभिजन च्यानलको निकै विकास भएको छ । हुन त टीभी च्यानलहरु धेरै भएर मात्र हुँदैन, यसमा भेराइटीहरु तथा सुधारात्मक परिवर्तनको खाँचो छ, जुन भएको देखिँदैन । जस–जसले यो क्षेत्रमा विकास गरे, उनीहरुले टीभी च्यानलहरुमा थप कार्यक्रमहरु राखेर अझ बढी विकास गर्नु जरुरी छ । कारण जब हामी च्यानलहरु खोल्छौं, बिहानदेखि बेलुकासम्म प्रायः अन्तर्वार्ता, गीतहरु तथा समाचारमा नै सीमित भएको देख्छौं । तर यति कार्यक्रमले दर्शकहरुलाई टीभी च्यानलहरुले सन्तुष्ट मिल्दैन । यसका लागि टीभी च्यानलहरुले खेलकुद, अन्य गेम्सजस्ता मनोरञ्जनात्मक कार्यक्रमहरु राखेर टेलिभिजन च्यानलहरुलाई आकर्षक बनाउन सक्नुपर्दछ ।
एक समय थियो, नेपालमा च्यानलहरु कम भए पनि टेलिसिनेमाहरुको निकै विकास थियो । विदेशी टेली च्यानलहरु भए तापनि दर्शकहरु नेपाली टेलिफिल्महरु हेरेर रमाउँथे । तर आज हाम्रो मुलुकमा विज्ञापन धेरै हुँदा पनि, पोख्त कलाकारहरु धेरै हुँदा पनि नेपाली जनताले टीभी च्यानलहरुमा राम्रा, शिक्षाप्रद, घरायसी तथा सामाजिक टेलिसिनेमा हेर्न पाएको देखिँदैन । जसले गर्दा प्रायः दर्शकहरु नेपाली च्यानल हेर्न छोडी विदेशी च्यानलहरु हेर्न बाध्य हुन्छन् । यी कुराहरु किन गरी राख्नुपरेको छ भने टेलिसिनेमा पनि एउटा यस्तो माध्यम हो, जसले समाजलाई शिक्षा दिनुबाहेक मानिसको बौद्धिक विकास गर्नमा मद्दत पु¥याइराखेको हुन्छ । साथै यसले सारा नेपालीलाई मनोरञ्जन पनि दिइराखेको हुन्छ ।
तर अचम्म छ, आजभोलि यो क्षेत्रमा सिनेकर्मीहरु कोही अग्रसर भएको देखिँदैन । सिनेकर्मीबाहेक यो क्षेत्रमा टीभी च्यानलहरु पनि अग्रसर हुनु जरुरी छ । एवं प्रकारले व्यवसायी अर्थात् विज्ञापन दाताहरुले पनि इमानदार भएर यो क्षेत्रको लागि सघाउ पु¥याउनु आवश्यक छ । जब टेलिसिनेमाको विकास हुन्छ तब टेलिभिजन च्यानल र रोजगारको हिसाबले कलाकारहरुको जीवनशैली पनि परिवर्तन हुँदै जान्छ ।
नेपालमा टीभी च्यानलहरुको विकास भएको पनि लामो समय भइसक्यो तर चिल्ड्रेन प्रोग्रामको विकास हुन सकिराखेको छैन । यदि टीभी च्यानलमा यस्ता प्रोग्रामहरुको विकास भएको खण्डमा केटाकेटीहरुको मानसिक विकास हुँदै जानेछ । यसले गर्दा बच्चाले सानै उमेरदेखि एउटा राम्रो संस्कार सिक्दै जानेछ । त्यसकारण टीभी च्यानलहरुले बिहान–बेलुका सामान्य ज्ञान, खेलकुद, कार्टुन, जादुजस्ता कार्यक्रमहरु आफ्नो च्यानलमा राखेर बालबच्चाहरुको बौद्धिक विकास गर्न सक्नुपर्छ ।
अहिले हाम्रो मुलुकमा धेरै राम्रा कलाकार, निर्देशक, क्यामेरा म्यान तथा निर्माताहरुको कमी छैन । तर यिनीहरुको सिनेमा बनाउने र धेरै पैसा कमाउने सोचले गर्दा नेपालमा टेलिसिनेमाको विकास नभई राखेको मान्न सकिन्छ । तर यस्तो होइन, सानो पर्दाको चलचित्र बनाएर पनि पैसा कमाउन सकिन्छ । सानो पर्दाको चलचित्र क्षेत्रमा पैसाको कमाइका साथै जोखिम पनि कम हुन्छ । कलाकारहरुले अर्थात् सिनेकर्मीहरुले सेल्युलाइड चलचित्रमा भन्दा बढी नाम र इज्जत कमाउन सक्छन् । अर्को एउटा फाइदाको कुरा के छ भने, अहिले देशमा धेरै टीभी च्यानलहरु भएकाले सधैँ हलवालाहरुसँग जस्तै लफडा चलचित्रको लागि लाइनमा बस्नुपर्ने तथा समयको बरबाद यहाँ गर्नुपर्दैन ।
नेपालमा टेलिसिनेमा विकास नहुनुका दुई कारण छन् । एक, सानो पर्दाको चलचित्र के बनाइ भयो र भन्नेहरु छन् । अर्को कुरा, विज्ञापनकर्ताबाट पैसा नै उठ्दैन । वास्तवमा भन्ने हो भने, अहिले विज्ञापनको क्षेत्र पहिलाभन्दा निकै फराकिलो भएको छ । टीभी च्यानलहरुले पनि विज्ञापनबाट आर्थिक लाभ लिइराखेका छन् तर चलचित्रकर्मीहरुलाई यस्तो छाप परेको छ कि विज्ञापनकर्ताबाट रकम नै उठ्दैन, हामीले टेलिफिल्म किन बनाउने ? तर यो सोच गलत हो । अहिले सबै व्यापारी, व्यवसायीहरु खराब छैनन् । यदि टेलिचलचित्र निर्माताहरुलाई यिनीहरुले धोका दिन्छन् भने देशको कानुन के काम लाग्यो ? चलचित्रकर्मीहरुको संगठन के काम लाग्यो ? त्यसकारण यो क्षेत्रमा सधैँ नकारात्मक सोच पनि राख्नुहुँदैन ।
सबै सिनेकर्मी तथा टीभी च्यानलहरु सकारात्मक भई मिलेर अघि बढ्नुपर्दछ । नेपालमा चलचित्रको विकासपश्चात् चलचित्रबाट मानिसहरुले धेरै कुरा थाहा पाए पनि औसतमा यो क्षेत्रबाट सर्वसाधारणले ज्ञान तथा शिक्षा हासिल गर्न पाएका छैनन् । यसका मुख्य कारण प्रायः चलचित्रका लगानीकर्ताहरु चलचित्र बनाएर रातारात धनी हुन चाहन्छन् । अहिले कोभिड–१९ अर्थात् कोरोना भाइरस रोगले गर्दा चलचित्र लगानीकर्ताहरुको सोच पनि गोलमटोल भएको छ । तर समय सधैँं एउटै हुँदैन, सबैको राम्रो दिन फेरि आउनेछ । त्यसकारण सबैले राम्रो दिनका लागि सकारात्मक भएर आशा गर्नुपर्दछ ।
त्यसैले भविष्यका लागी होमवर्क, फ्रेमवर्क तयार गरेर राख्नुपर्दछ । वास्तवमा मानिस भएर जन्म लिएपछि मुलुकलाई राम्रो सन्देश दिन सक्नुपर्दछ । चलचित्र भनेको आर्थिक लाभ लिन, मनोरञ्जन लिनको लागि मात्र नभई जनतालाई केही ज्ञान र शिक्षा पनि किन नदिने ? अब यो नभन्नुस् कि ममा ज्ञान नै छैन । त्यसो हो भने अरुको कुरा सुन्ने गर्नुस् । धेरै व्यक्तिसँग संगत गर्नुस् । पत्रिका, पुस्तक पढ्ने बानी बसाउनुस् । बिस्तारै तपाईंको दिमागले ज्ञान संकलन गर्दै जानेछ । तर यस्ता कुरा तथा सोचहरु चलचित्र लगानीकर्ताहरुमा नभएजस्तो आभास हुन्छ । यी कुरा किन गर्नुपरेको हो भने, हाम्रो मुलुकमा सोझा तथा शिक्षा कम भएकाहरुको जमात ठूलो छ । यस्ता मानिसको मानसिकता परिवर्तन गर्न पनि शिक्षाप्रद चलचित्र तथा टेलिचलचित्र सशक्त माध्यम हुन सक्छ । यसै सन्दर्भमा चलचित्रको कुरा गर्दा, सरकारको असहयोग समस्या, हल समस्या, पाइरेसी समस्या, टीभी फिल्म समस्या, कर समस्या आदिका लागि चलचित्र युनिट तथा संगठन मजबुत हुनु जरुरी छ, जुन भएको देखिँदैन । त्यस्तै यस क्षेत्रमा काम गर्ने कर्मचारीले उचित पारिश्रमिक नपाएको गुनासो पनि छ । यसमा ध्यान पु¥याउनु जरुरी छ ।
प्रतिक्रिया