बाध्य भएर कोभिड प्रोटेक्सन चार्ज लिइरहेका हौं : नर्भिक अस्पताल

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

नर्भिक अन्तर्राष्ट्रिय अस्पतालले कोभिड प्रोटेक्सन चार्ज (कोभिड सुरक्षा शुल्क) को विषयमा आइरहेको समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ । विज्ञप्तिजारी गर्दे अस्पतालले अहिलेको अवस्था अनुसार बाध्य भएर कोभिड प्रोटेक्सन चार्ज लिइरहेको खुलाएको छ ।

अस्पतालका अनुसार अन्तर्राष्ट्रिय गाइडलाइनअनुसार अस्पतालको ठाउँ ठाउँमा ह्याण्ड स्यानिटाइजेसनको उपलब्धता, प्रत्येक भिजिटरहरुलाई निःशुल्क मास्क डिस्पोजेबल मास्क वितरण, डिस्पोजेबल शू कभर आदिको प्रयोग गर्न लगाउने, ह्यूमन टच प्वाइन्ट (मानिसहरुले बढीभन्दा बढी छुनसक्ने ठाउँ) लाई वैज्ञानिक प्रविधिद्वारा हरसमय संक्रमणरहित तुल्याउने तथा प्रत्येक सेवाकर्मीहरुलाई संक्रमणबाट सुरक्षित राख्न र उनीहरुबाट बिरामीलाई संक्रमण हुन नदिन विभिन्न खालका प्रोटेक्टिभ डियर्सहरुको प्रयोग गरिएकाले कोभिड प्रोटेक्सन चार्ज लिनुपरेको जनाएको छ ।

‘नर्भिकले कोभिड र नन्कोभिडका लागि छुट्टाछुट्टै भवनमा आफ्नो स्तरीय सेवा संचालन गर्दै आएको छ । अस्पतालमा रहेका नन्कोभिड बिरामीलाई संक्रमणबाट पूर्ण रुपमा सुरक्षित राख्न सकियोस् भन्नेमा हामी सजग छौं । यस्ता, नन्कोभिड बिरामी राखिएको अस्पताल भवनलाई डब्ल्यूएचओले तोकेको, अन्तराष्ट्रिय अभ्यासमा ल्याइएको उच्चस्तरीय वैज्ञानिक प्रविधि र सामाग्रीहरु प्रयोग गरेर सम्पूर्ण अस्पताल भवनलाई जोखिमरहित बनाउने हाम्रो प्रयास रहिआएको छ,’ विज्ञप्तिमा भनिएको छ,’ अहिलेको जटिल परिस्थितिमा विकल्पविहीन भएका हामीले बाध्य भएर कोभिड प्रोटेक्सन चार्ज लिइरहेका हौं । यो हाम्रो रहर नभई बाध्यताको रुपमा बुझिदिन अनुरोध गर्छौ ।’

प्रेस विज्ञप्ति

विभिन्न संचारमाध्यममा यस अस्पतालको नाम जोडेर आएका ‘कोभिड सुरक्षा शुल्क(कोभिड प्रोटेक्सन चार्जेज)’ सम्बन्धी समाचारहरुप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।

कोभिड–१९ को विषम परिस्थितिमा दैनिक ठूलो संख्यामा बहिरङ्ग लगायतका विभागमा आउने सेवाग्राही तथा भर्ना भएका बिरामीहरुको भिजिटर र निजहरुले बोकेर ल्याउनसक्ने संक्रमणलाई अत्यन्त वैज्ञानिक ढंगबाट व्यवस्थापन र नियन्त्रण गर्नुपर्ने हुन्छ, जसले गर्दा भर्ना भएका बिरामीहरुमा कोभिडको प्रभाव नपरोस् ।

नर्भिकले कोभिड र नन्कोभिडका लागि छुट्टाछुट्टै भवनमा आफ्नो स्तरीय सेवा संचालन गर्दै आएको छ । अस्पतालमा रहेका नन्कोभिड बिरामीलाई संक्रमणबाट पूर्ण रुपमा सुरक्षित राख्न सकियोस् भन्नेमा हामी सजग छौं । यस्ता, नन्कोभिड बिरामी राखिएको अस्पताल भवनलाई डब्ल्यूएचओले तोकेको, अन्तराष्ट्रिय अभ्यासमा ल्याइएको उच्चस्तरीय वैज्ञानिक प्रविधि र सामाग्रीहरु प्रयोग गरेर सम्पूर्ण अस्पताल भवनलाई जोखिमरहित बनाउने हाम्रो प्रयास रहिआएको छ । त्यसका लागि अन्तराष्ट्रिय गाइडलाइनअनुसार अस्पतालको ठाउँ–ठाउँमा ह्याण्ड स्यानिटाइजेसनको उपलब्धता, प्रत्येक भिजिटरहरुलाई निःशुल्क मास्क डिस्पोजेबल मास्क वितरण, डिस्पोजेबल शू कभर आदिको प्रयोग गर्न लगाउने, ह्यूमन टच प्वाइन्ट(मानिसहरुले बढीभन्दा बढी छुनसक्ने ठाउँ)लाई वैज्ञानिक प्रविधिद्वारा हरसमय संक्रमणरहित तुल्याउने तथा प्रत्येक सेवाकर्मीहरुलाई संक्रमणबाट सुरक्षित राख्न र उनीहरुबाट बिरामीलाई संक्रमण हुन नदिन विभिन्न खालका प्रोटेक्टिभ डियर्सहरुको प्रयोग गरिएको छ ।

यी सबै प्रयासहरुका लागि ठूलो धनराशि खर्च हुने गर्छ, जसको व्यवस्थापन वर्तमान शुल्कबाट समेत असंभव छ । अहिलेको जटिल परिस्थितिमा विकल्पविहीन भएका हामीले बाध्य भएर कोभिड प्रोटेक्सन चार्ज लिइरहेका हौं । यो हाम्रो रहर नभई बाध्यताको रुपमा बुझिदिन अनुरोध गर्छौ ।

हामीले कोभिड संक्रमणको शंका भएका डाक्टर, नर्सिङ स्टाफ र अन्य सेवाकर्मीहरुलाई तत्काल आइसोलेसनमा राख्नुपर्ने व्यवस्था मिलाएका छौं, जसले गर्दा बिरामीहरुलाई कुनै पनि प्रकारको संक्रमण नसरोस् । यसले दोहोरो, तेहेरो अतिरिक्त जनशक्ति प्रयोगमा ल्याउनुपर्ने जटिल अवस्था सिर्जना भएको छ ।

कोभिडको संक्रमण काठमाण्डौमा समुदायस्तरमा फैलिएको बेलामा पनि हामी नर्भिक नन्कोभिड अस्पतालभित्र भएका बिरामीहरुलाई संक्रमणमुक्त राख्न सफल भएका छौं । र, यसको एक मात्र प्रमुख कारण, हामीले अपनाएका सुुरक्षा अवधारणा र उपायहरु नै हुन् । त्यसकारण यो शुल्कलाई बिरामीहरुको संरक्षणका लागि प्रयोग गरिएको भनी बुझिदिनुहुन अनुरोध गर्दछौं ।

नर्भिक क्रिटिकल केयरका लागि सबैभन्दा विश्वसनीय थलो हो भन्ने कुरा आम समुदायको बुझाई छ र हाम्रो विशेषज्ञता भन्नु नै क्रिटिकल केयर म्यानेजमेन्ट हो, यसमा हामीलाई गर्व छ । क्रिटिकल बिरामीहरुमा संक्रमण झनै चाँडो हुने संभावना रहन्छ । र, हाम्रा बिरामीहरुलाई संक्रमणमुक्त राख्ने काम अहिलेको बेलामा हाम्रा लागि ठूलो चुनौति बनेको छ । हामीले अहिलेसम्म त्यो चुनौतिलाई सामान गर्दै आइरहेकै छौं । हाम्रो यो दृढ संकल्प र प्रयासले यहाँ भर्ना हुने बिरामीहरुलाई संक्रमणमुक्त राख्न सकिएको छ । यो कार्यमा हामीले सबै मिडियाकर्मी, आम जनसमुदायको सद्भावको अपेक्षा गरेका छौं । जसले गर्दा हामीलाई क्रिटिकल बिरामीहरुलाई सही ढंगले सेवा गर्न उर्जा प्राप्त होस् ।