खुलेका विद्यालय दशैंसम्मका लागि बन्द हुन थाले

0
Shares

न्युज अफ नेपाल, हेटौंडा ।

केन्द्रीय सरकारले पढाउन निर्देशन जारी गरेपछि खुल्न थालेका विद्यालय बन्द हुने क्रम बढेको छ । शिक्षकलाई कोरोना संक्रमण देखिएपछि बागमती गाउँपालिकाले पठनपाठन बन्द गर्ने निर्णय गरेको हो ।

पालिकाका ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुँदा संक्रमितमध्ये एक शिक्षक हुन् । संक्रमितमध्ये एक शिक्षक रहेको बागमती गाउँपालिकाका शिक्षा शाखा प्रमुख रमेश बिडारीले बताउनुभयो ।

कोरोना संक्रमित शून्य रहेको र संघीय सरकारले असोज १ गतेदेखि बैकल्पिक विधिबाट पठनपाठन गर्न दिएको निर्देशनबमोजिम पालिकाका विद्यालयमा सिकाइ सहजीकरण भइरहेको थियो । आइतबारबाट विद्यालयमा भौतिक दुरी कायम गरेर पठनपाठन सुचारु गरेको पालिकाका शिक्षकमा कोरोना पुष्टि भएपछि पालिकाले दशैंअघिसम्म विद्यालय बन्द गर्ने निर्णय गरिएको जनाइएको छ ।

बागमती गाउँपालिकामा ७ जनामा कोरोना पुष्टि भएको छ । कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा गरिएको परीक्षणमा ७ जनामा कोरोना पुष्टि भएको हेटौंडा उपमहानगरका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईंले बताउनुभयो । गाउ“पालिकाको वडा नम्बर–६ र ४ का १ महिलासहित ६ पुरुषमा कोरोना पुष्टि भएको हो ।