श्रमजीवी पत्रकारलाई दुःख नदिन आग्रह

0
Shares

न्युज अफ नेपाल, हेटौंडा।

नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले कोरोना महामारीको कारण देखाउँदै श्रमजीवी पत्रकारलाई दुःख नदिन सञ्चारगृहहरु समक्ष आग्रह गरेको छ ।

महासंघले सञ्चारगृहहरुले श्रमजीवी पत्रकारलाई दबाबपूर्ण बेतलबी बिदामा राख्ने, निष्कासन गर्ने, पारिश्रमिक कटौती गर्ने र काम गर्ने वातावरण बिथोल्ने, नियमित पारिश्रमिक दिने नगरेको गुनासो प्राप्त भएको भन्दै उक्त कार्यप्रति महासंघले खेद व्यक्त गरेको छ ।

त्यस्ता कार्य तत्काल बन्द गर्न सम्बन्धित पक्षसँग जोडदार माग गरिएको छ । श्रमजीवी पत्रकारका हकहितविरुद्ध क्रियाकलापलाई रोक्न सशक्त, दबाबमूलक अभियान सञ्चालन गर्ने निर्णय महासंघले गरेको छ ।

महासंघ प्रदेश अध्यक्ष प्रताप बिष्टको अध्यक्षतामा मंगलबार चितवनको पर्यटकीय नगर सौराहामा बसेको महासंघ प्रदेश समितिको सातौं बैठकले केन्द्र, प्रदेश र स्थानीय तहबाट सञ्चारसम्बन्धी नीति र कानुन तय गर्दा प्रेस स्वतन्त्रतामा अंकुश नलगाउन तथा पत्रकार महासंघसहित सरोकार पक्षसँग छलफल गरी सहमति कायम गर्न आग्रह गर्ने निर्णय गरेको महासचिव कृष्ण सारुमगरले बताउनुभयो ।

कोभिड–१९ को संक्रमण तीव्ररुपले बढिरहेको अबस्थामा अग्रभागमा रहेर पेशागत कर्म निर्वाह गरिरहेका पत्रकार पनि संक्रमित हुने क्रम बढेकाले स्वास्थ्य सुरक्षा जोखिम मोलेर अग्रभागमा काम गर्ने सबै पत्रकारको पीसीआर परीक्षण र संक्रमितको उचित उपचारको व्यबस्था मिलाउन सरकारसँग माग गरिएको छ ।

कोभिड–१९ का कारण आर्थिक मारमा परेका सञ्चारमाध्यम र सञ्चारकर्मीलाई राहत तथा सञ्चारमाध्यमलाई सहुलियतपूर्ण ऋणको व्यबस्था गर्न तीनै तहको सरकारसँग माग गर्ने निर्णय गरिएको सारुमगरले बताउनुभयो ।

नयाँ सदस्यता र सदस्यता नवीकरण सम्बन्धमा बागमती प्रदेश समितिअन्तर्गत् जिल्ला शाखाहरुबाट प्राप्त भएका सिफारिस, गुनासो तथा उजुरीबारे छलफल गरी १ सय ५६ नयाँ सदस्यहरु जिल्ला समितिको निर्णयको प्रतिलिपिसहित सिफारिस प्राप्त भएकाले सदस्यता स्वीकृत गरी अनुमोदन गर्ने र अभिलेखका लागि केन्द्रीय समितिमा पठाउने निर्णय गरिएको छ ।

विवादित तथा उजुरी र गुनासो आएका जिल्लाहरुको हकमा आगामी बैठकमा प्रतिवेदन पेश गर्ने गरी कोषाध्यक्ष सीताराम अधिकारीको संयोजकत्वमा कार्यसमिति सदस्यद्वय ईश्वर जोशी र प्रवीण बराल सदस्य रहेको अध्ययन कार्यदल गठन गर्ने निर्णय गरिएको महासचिव सारुमगरले जानकारी दिनुभयो ।