प्याकेजिङ् खाद्यबस्तुको खोलमा भएको उपभोग्य मिति हातैले मेटिन्छ

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

प्याकेटमा राखेर बजारमा विक्री हुने खाद्यबस्तुको उपभोग्य अवधि लेखिएका अक्षर हातैले मेटिने गरेको भेटियो । मंगलबार बिहान कालीमाटी क्षेत्रका खाद्य स्टोरहरुमा गरिएको अनुगमनका क्रममा हेरिएका एक दर्जन बढी प्रकारका खाद्य बस्तुमा यस्तो समस्या देखिएको हो ।

कालीमाटीबाट बल्खुतर्फ लाग्दा प्रहरी चौकी नजिकै शिवज्योती पतञ्जली आयुर्वेद सेवा केन्द्र छ । केन्द्रमा निम्बसले मार्केटिङ् गरेको व्यञ्जन व्राण्ड सामान थिए । तीमध्ये पोलिस नगरिएको लेखिएका १ केजी तौलका ९ वटा कालो दालका प्याकेट र ९ प्याकेट नै पापड थियो । ती सबैमा लेखिएको मिति हातले सजिलै मेटियो । यी सामानसँगै लेवल नराखिएको जौको सातु १० प्याकेट र चिप्स ३१ प्याकेट वरामद गरियो ।

समस्या शिवज्योतीमा मात्र होइन । त्यसै क्षेत्रको आयुषा खाद्य स्टोर बेचेको टमाटो ससको उपभोग्य मिति मेटेर फेरि लेखिएको जस्तो भेटियो । बट्टा कुच्चिएका र पुराना थिए । अनुगमन टोलीले १ बट्टा नमूना परीक्षणका लागि लियो भने १३ वट्टा बिक्रीका लागि रोक लगायो ।

त्यस क्षेत्रमा खुल्ला बोरामा हालेर खाद्य बस्तु बेच्न राख्ने गरिएको छ । कसैले प्याकेजिङ् गर्ने गरेका छन् तर खाद्य अनुज्ञा पत्र लिएका छैनन् । सामान कसले पठायो? उनीहरुले बिल किन दिएनन्?, सामान बिग्रिए कसलाई फिर्ता गर्नुहुन्छ? उनीहरु व्यापारीहरुले मुख खोल्न चाहेनन् ।

बनस्थलीबाट ५ किलो सुकेका खुर्सानी किन्न आएको भनेर काम बताउने एक खुद्रा उपभोक्ता भन्दै थिए — ‘अनुगमन आको र’छ, र पो आज सबै पसल बन्द रहेछन् । उतै किन्दा महङ्गो पर्छ । अब भोलि फेरि आउनुपर्ला ।’