खोटाङमा दिनहुँ कोरोना संक्रमित बढ्दै

0
Shares

रामधन राई, खोटाङ ।

खोटाङमा दिनहुँ जसो कोरोना संक्रमित वढिरहेको छ । गएको ४ दिनमा मात्र ७ जनामा कोरोना संक्रमण पूष्टी भएपछि जिल्लामा कोरोना संक्रमणको जोखिममा पर्न लागेको संकेत गरेको छ । असोज १५, १७ र १९ गते गरी जिल्लामा ७ संक्रमित फेला परेका हुन् ।

सुनसरीको दुहवीस्थित दङ्गाको तालिममा गएर जिल्ला प्रहरी कार्यालय फर्किएका प्रहरी जवानमा १५ गते सङ्क्रमण पुष्टि भएको हो । जवानहरुको १२ गते स्वाव संकलन गरी परीक्षणका लागि टेकु पठाईएको थियो ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा बनाइएको आइसोलेसन वार्डमा राखेर उपचार शुरु गरिएको खोटाङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले बताउनुभयो । यसअघि विराटनगरबाट सरुवा भएर जिल्ला प्रहरी कार्यालय आएका छ जना प्रहरी जवानमा कोरोना पुष्टि भएको थियो । ६ जना नै उपचारपछि घर फर्किसकेका छन् ।

यस्तै, खोटेहाङ गाउँपालिका–३ सावाकटहरेका एक जना, सोही गाउँपालिका–३ इन्द्राणीपोखरीका एक र खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेका एक जना पुरुषलाई असोज १७ गते कोरोना संक्रमण पूष्टी भएको हो । सावाकटहरेका संक्रमित ईलाका प्रशासन कार्यालय खोटाङबजारका प्रमुख हुन् ।

यस्तै, जन्तेढुंगा गाउँपालिका–५ चिसापानीमा माईतीघर बिराटनगर पुगेर १० दिनअघि घर आएकी एक महिला र काठ्माण्डौंबाट घर आएका पुरुषलाई असोज १८ गते कोरोना पोजिटिभ देखिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पवन पोखरेलले बताउनुभयो । महिला घर आएको पाँच दिनपछि बिराटनगरमा रहेका भाईलाई कोरोना पूष्टी भएपछि पिसिआर परीक्षणका लागि उनको असोज १५ गते स्वाव संकलन गरिएको थियो ।

संक्रमण पूष्टी भएका दुबै जनालाई होमआइसोलेसनमा राख्ने व्यवस्था मिलाइएको स्वास्थ्य शाखा प्रमुख पोखरेलले सुनाउनुभयो । दुवै जनालाई घर आएदेखि नै होम क्वारेन्टीनमा राखिएको बताइएको छ । संक्रमित पुरुषसँगै आएका अन्य दुई जनाको भने पहिचान भएको छैन ।

यससँगै, जिल्लामा कोरोना संक्रमितको संख्या २८ पुगेको छ । हालसम्म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट पिसिआर परीक्षणमा पठाइएकामध्ये १५ जना, हलेसी तुवाचुङ नगरपालिकामा ४ जना, दिप्रुङ चुईचुम्मा गाउँपालिकामा १ जना, साकेला गाउँपालिकामा १ जना, ऐसेलुखर्क गाउँपालिकामा १ जना र बराहपोखरी गाउँपालिकामा १ जनालाई कोरोना संक्रमण पूष्टी भएको छ ।

यसअघि विभिन्न समयमा सङ्क्रमण देखिएका २१ जना उपचारपछि घर फर्किसकेका छन् । १० स्थानीय तहमध्ये हालसम्म रावाबेँसी गाउँपालिकामा कोरोना संक्रमित फेला परेको छैन ।

लकडाउन खुलेसँगै वाहिरी जिल्ला तथा जिल्लामा आवतजावत वढ्नु तथा सजकतामा ध्यान दिन छाड्नुले गर्दा जोखिम वढ्दै गएको जिल्लावासी को भनाई छ ।