भक्तपुरमा एक साता देखि दुई बालिका बेपत्ता

0
Shares

पुष्कर बुढाथोकी, भक्तपुर ।

भक्तपुर जिल्लाको मध्यपुर ठिमी नगरपालिका सुधार केन्द्र टोलबाट एक साता अघिदेखि दुई बालिका बेपत्ता भएका छन् ।असोज १३ गते बिहान पसल जान्छु भनेर हिँडेका दुई बालिका हालसम्म घर नफर्किएको परिवारले जनाएको छ ।

एकै ठाउँबाट हराउनेमा १२ वर्षकी श्रीजना पौडेल र १४ वर्षकी कुसुम वाइवा रहेका छन् । यी दुबै सानोठिमीका दुई फरक विद्यालयमा पढ्ने गर्दछन् ।घरभन्दा झण्डै २०० मिटर पर रहेको पसल गएका उनीहरु घर नफर्केको श्रीजनाका दाजु हरि पौडेलले बताउनभयो ।

बालिकाहरु एक्कासी हराएपछि परिवारले वरपर खोजी गरेको थियो । पौडेलले उनीहरुका सबै साथीलाई बुझ्दा र चोकको सिसिटिभी फुटेज हेर्दा पनि केही पत्ता नलागेको र कसैमाथि शंका गर्ने ठाउँ पनि नभएको बताउनुभयो ।

परिवारले उनीहरु कतै नभेटिएपछि महानगरीय प्रहरी वृत ठिमीमा निवेदन दिएका छन् भने जिल्ला प्रशासन कार्यालय भक्तपुरमा पनि उजुरी दिने तैयारी गरेका छन् ।

तीन वर्षदेखि एकै घरमा बस्ने कुसुम घरबेटीकी छोरी हुन् भने श्रीजना परिवारसहित फ्ल्याटमा बस्ने गरेकी थिइन् । अनलाइन कक्षा भए यता उनीहरुसँग एउटा सीम सहितको मोबाइल भए पनि हराएको दिनदेखि स्वीच अफ छ ।

उनीहरु सँधैजस्तो बिहान बेलुका सँगै खेल्ने गरेकामा त्यो दिन बिहान पनि खेल्न र खानेकुरा किन्न सँगै पसल गएको परिवारको भनाई छ ।

महानगरीय प्रहरी वृत्त ठिमीका प्रमुख प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले खबर पाए लगत्तै शंकास्पद व्यक्तिहरुलाई सोधपुछ गरिएको तर अहिलेसम्म केही पनि पत्ता नलागेको बताउँदै उनीहरुको तीब्र रुपमा खोजी भइरहेको जानकारी दिनुभयो ।