क्रिकेटरको छनोट र ग्रेडिङ पुनः हुने

0
Shares

काठमाडौं, (नेस)
क्रिकेटरको ग्रेड विभाजनको निर्णयमाथि चौतर्फी आलोचना भएपछि नेपाल क्रिकेट संघ (क्यान)ले खेलाडी छनोट र वर्गीकरण पुनः गर्ने भएको छ। क्यानले बिहीबार विज्ञप्ति जारी गरेर पहिले गरेको निर्णयमाथि पुनर्विचार गरी नयाँ तरिकाले खेलाडी छनोट र वर्गीकरण गर्ने जनाएको छ। यसअघि असोज ६ गते चितवनमा बसेको क्यानको बोर्ड बैठकमा राष्ट्रिय १८ पुरुष र १९ महिला खेलाडीलाई केन्द्रीय सम्झौतामा राख्दै गे्रड विभाजन राखेको थियो।
उक्त निर्णय सार्वजनिक भएसँगै यसको आलोचना भयो। नेपाल क्रिकेट खेलाडी संघले समेत सुझावसहितको विज्ञप्ति राष्ट्रिय खेलकुद परिषद्लाई बुझाएको थियो। क्यानले पुनः खेलाडी वर्गीकरण निर्धारण समितिलाई महिला र पुरुष राष्ट्रिय क्रिकेट टिमका कप्तान, उपकप्तान र प्रशिक्षकसँग आवश्यक छलफल गर्दै सुझावसहितको प्रतिवेदन आगामी बोर्डमा पेस गर्ने पनि विज्ञप्तिमा जनाएको छ।
क्यानले वर्गीकरण गरेसँगै खेलाडीको पारिश्रमिक ग्रेडअनुसार तोकिएको छ। पुरुषतर्फको ग्रेड ‘ए’ का खेलाडीले ५० हजार, ‘बी’ ग्रेडका खेलाडीले ४० हजार र ‘सी’ ग्रेडका खेलाडीले ३० हजार पारिश्रमिक पाउनेछन्। महिलातर्फ भने ग्रेड ‘ए’ मा पर्ने खेलाडीले १५ हजार, ‘बी’ ग्रेडमा पर्ने खेलाडीले १२ हजार र ‘सी’ ग्रेडमा पर्ने खेलाडीले १० हजार पारिश्रमिक पाउने व्यवस्था गरिएको हो।
क्यानले सार्वजनिक गरेको नयाँ ग्रेड
पुरुष खेलाडीको ग्रेड
ग्रेड ‘ए’ ज्ञानेन्द्र मल्ल, पारस खड्का, सन्दीप लामिछाने, शरद भेषवाकर, करण केसी, वसन्त रेग्मी, दीपेन्द्र सिंह ऐरी र विनोद भण्डारी।
ग्रेड ‘बी’ सुशन भारी, सोमपाल कामी, आरिफ शेख, पवन सरार्फ
ग्रेड ‘सी’ सुवास खकुरेल, रोहितकुमार पौडेल, कुशल मल्ल, रासिद खान, अभिनाश बोहोरा र कमलसिंह ऐरी।
महिला खेलाडीको ग्रेड
ग्रेड ‘ए’ रुबिना क्षत्री (बेल्बासे), नेरी थापा, इन्दु बर्मा, सीता रानामगर र करुणा भण्डारी
ग्रेड ‘बी’ ज्योति पान्डे, अप्सरी बेगम, रोमा थापा, विन्दु रावल, कविता जोशी, ऋतु कनोजिया, काजल श्रेष्ठ र सरिता मगर।
ग्रेड ‘सी’ कविता कुँवर, डली भट्ट, अनुराधा चौधरी, सोनु खड्का, अञ्जली चन्द र शोभा आले।