डा केसीलाई अनशन फिर्ता लिन सरकारको आग्रह

0
Shares

काठमाडौँ  ।

सरकारले स्वास्थ्य क्षेत्रका विभिन्न माग राखी अनशनरत प्रा डा गोविन्द केसीलाई अनशन फिर्ता लिन आग्रह गरेको छ ।

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले प्रा डा केसीले विगतदेखि उठाउँदै आएका धेरै माग पूरा भएर कार्यान्वयनमा गइसकेको बताउनुभयो । परराष्ट्रमन्त्री ज्ञवालीले चिकित्सा शिक्षासम्बन्धी ऐन र उक्त ऐनअनुसार उच्चस्तरीय आयोग बनेर काम शुरु भइसकेको र सातै प्रदेशमा सरकारी तवरबाट मेडिकल कलेज खुल्ने विषय पनि सम्बोधन भइसकेको उल्लेख गर्नुभयो ।

सिङ्गो मुलुक कोरोना भाइरस सङ्क्रमणविरुद्धको लडाइँमा रहेका अवस्थामा अनशन, धर्ना, हडताल र सत्याग्रह सुहाउँदो विषय नभएको बताउँदै उहाँले केही विषय बाँकी भए पछि छलफल गर्न सकिने धारणा व्यक्त गर्नुभयो । मन्त्री ज्ञवालीले प्रा डा केसी र उहाँका साथीहरुलाई अहिले अनशन फिर्ता लिई कोरोनाविरुद्धको लडाइँमा होमिन आग्रहसमेत गर्नुभयो ।