मुटुमैत्री भोजन


नेपालले पनि विश्व मुटुरोग दिवस मनाएको छ । हाम्रो मुलुकमा बच्चादेखि युवा र वृद्ध सबै उमेर समूहका व्यक्ति मुटुरोगी हुनुका साथै समयमै उपचार नपाएर मृत्युवरण गर्नेको संख्या ठूलो छ । सर्वसाधारण नागरिकलाई मुटुरोग लागेमा उपचारका लागि सहज पहुँच नहुनु, अस्पताल टाढा र निजी क्षेत्रबाट सञ्चालित महँगा अस्पतालहरु गरिबमैत्री नहुनुले नेपालमा उपचारबाट बञ्चित हुनेको संख्या अधिक छ । यद्यपि नेपाल सरकारले नसर्ने रोगहरुको रोकथाम र नियन्त्रणका लागि सन् २०१४ देखि २०२० सम्मको कार्य योजनात बनाई कार्यान्वयनतर्फ अग्रसरता देखाएकोछ ।
नेपालमा कुल जनसंख्याको २५ प्रतिशत अर्थात करिव ७५ लाख जनता मुटुरोगी भएको अनुमान गरिएको छ । नेपालमा करिब ३० प्रतिशत वयस्कलाई उच्च रक्तचाप, २० प्रतिशतलाई कोलेस्टेरोल, १० प्रतिशतलाई मधुमेह, १ प्रतिशत बालबालिकालाई बाथ–मुटु रोग छ । वर्षेनी १ हजार बालबालिका बाथ–मुटुरोगका कारण हार्ट फेल भएर मर्ने गर्दछन् । यस्तै प्रकारले बच्चाजन्माउने बेलामा धेरै महिलाहको पनि बाथ–मुटुरोगकै कारण मृत्यु भैराखेको छ । ९० प्रतिशत नेपालीले मुटुमैत्री खाना खाँदैनन् । ४० प्रतिशतले चुरोट, सुर्ती सेवन गर्छन्, जसले मुटुरोग बढाउँछ । यस वर्ष कोरोना महामारीका कारण विश्वव्यापी संकट उत्पन्न भएको छ । कोरोनाबाट मृत्यु हुनेहरुमा मुटुरोगीहरुको संख्या अत्यधिक छ । मुटुरोगीहरुले विशेष सावधानी अपनाउनुपर्ने विज्ञहरु बताउँछन् । दीर्घकालीन रोकथामतर्फ पनि सरकारले नीति कार्यक्रममार्फत लगानी बढाउनुपर्ने विषयमा विज्ञहरुले ध्यानाकर्षण गराएका छन् । मुटुरोगको उपचारका निम्ति लगानी भएको कुल रकमको १० प्रतिशत मुटुरोग लाग्नै नदिने रोकथाममा लगानी गर्नुपर्ने र मुटु दिवस सरकारले नै कार्यक्रम तय गरी मनाउनुपर्ने विज्ञहरुको धारणा छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री नमराज रावतले नेपालीहरुको आर्थिक, सामाजिक अवस्था कमजोर भएकै कारण खानपान, व्यायाम, जीवन शैली, गरिबी, भूबनोटका कारण मुटुरोगका बारेमा ज्ञान नभएको र भएपनि उपचारको पहँुचमा पुग्न नसकेको बताउनुभएको छ । नेपाल सरकारले १५ वर्ष मुनि र ७५ वर्ष माथिका मुटुरोगीको निःशुल्क उपचार गर्नुका साथै विपन्न परिवारलाई १ लाखसम्म उपचार खर्च स्वास्थ्य मन्त्रालयले उपलब्ध गराउँदै आएको जानकारी पनि मन्त्रीबाट आएको छ । विश्वमा बर्षेनी १ करोड ८० लाख मानिस मुटु रोगका कारण मर्ने गर्दछन् । यसमध्ये विकासोन्मुख राष्ट्रहरुमा मुटु रोगबाट मर्नेहरुको संख्या ८० प्रतिशतभन्दा बढी हुन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०३० सम्ममा मुटु रोगबाट विश्वभर मर्नेहरुको संख्या वर्षेनी २ करोड ५० लाख पुग्ने अनुमान गरिएकोछ । विकासोन्मुख राष्ट्रमा हृदयघातका कारण मृत्यु हुनेको संख्या २५ प्रतिशत छ भने सन् २०३० सम्ममा यो संख्या बढेर ३५ प्रतिशत पुग्ने अनुमान गरिएको छ । यो हाम्रोलागि ठूलो चिन्ताको विषय हो ।

मुटुको रोग बद्दै जानुको मुख्य कारण मानिसहरुको जीवनशैली अस्वस्थकर हुनु हो । खानामा अत्यधिक चिल्लो, गुलियो र नुनको मात्रा बढीे छ, हरियो सागपात, फलपूmल आदि कम छ, चुरोट, सुर्तीको सेवन र रक्सी पिउने बानी धेरै छ, । यी बानी सुधार्नु नै मुटुबचाउने उत्तम उपाय हो ।