चाडबाडमा कालोबजारी गर्नेमाथि कारबाही शुरू

तीन सातामा २७ फर्मलाई कारबाही, कालोबजारी गर्नेलाई नछाडिने

0
Shares

ईश्वरराज ढकाल, काठमाडौं

कोरोना कहरको मौका छोपेर राजधानीमा कालोबजारी बढ्न थालेपछि काठमाडौं महानगरपालिकाले अनुगमनलाई तीव्रता दिएको छ । लगातार अनुगमन गर्न थालेको महानगरको उपभोक्ता हित संरक्षण समितिले तीन सातामा १ सय २३ फर्मको अनुगमन गरेको जनाएको छ ।

चाडवाडको समयमा एकलौटी मूल्यवृद्धि गर्ने, दैनिक उपभोग्य सामग्री अभाव गराउने, अखाद्य वस्तु प्रयोग गरी मिठाईजन्य वस्तु निर्माण गर्ने, बासी र सडेगलेका मासु बेचबिखन गर्ने, खान अयोग्य पानी बिक्रीवितरण गर्नेजस्ता अपराधजन्य क्रियालाप बढ्न थालेपछि समितिले सक्रियता बढाएको हो ।

कामपाले अनुगमन क्रममा पसलमा मूल्यसूची, व्यवसाय दर्ता र नवीकरण, नापतौलको प्रमाणपत्र, लेबलमा खुलाउनुपर्ने विवरण, म्याद गुज्रिएका सामानको व्यवस्थापन, बिल लिने दिने प्रक्रिया, खाद्य अनुज्ञापत्र भएनभएको विषय खोजी गरेको थियो ।

यस अवधिमा कामपाले २७ फर्म तथा कम्पनीलाई २ लाख ५५ हजारसम्मको जरिवाना सिफारिस गरेको छ । कामपा कृषि विभाग प्रमुख एवं समितिका टोली प्रमुख हरि भण्डारीले राजधानीबासीलाई मनपरी सामग्री बिक्रीवितरण गर्ने कम्पनी र फर्ममाथि कारबाही गर्न सिफारिस गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘अनुगमनका क्रममा मनोमानी गर्ने कम्पनी र व्यक्तिलाई कारबाही गर्न वाणिज्य विभागलाई सिफारिस गरेको हौं ।’ कसुरका आधारमा अनुगमन टोलीले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई कारबाहीको सिफारिस गरेको छ । उपभोक्ता संरक्षण ऐन २०७५ ले दिएको अधिकार प्रयोग गरेर जरिवाना सिफारिस गरेको छ । हालसम्म जरिवानाबापत १२ लाख ८७ हजार रुपियाँ राजस्व संकलन भएको छ ।

म्याद गुज्रिएका सामान बिक्री गरिरहेका ११ पसलबाट करिब १० लाख रुपियाँ मूल्य बराबरका सामान नष्ट गरिएको छ । म्याद गुज्रिएकामध्ये दाल मैदा, खाने तेल, बट्टा वा प्याकेटमा राखिएका खानेकुरा, चकलेट, मिठाई, बिस्कुट, मसला, फलफूल, जुस, चाउचाउ, चाउमिन, पानीलगायत खानेकुरा तथा पेय पदार्थ छन् । खुद्रा व्यापार गर्ने ७६ वटा पसललार्ई ७ दिनभित्र दर्ता प्रक्रियामा आउन निर्देशन दिइएको छ । यीमध्ये २२ व्यापारी अनुगमन टोलीको सम्पर्कमा आएका थिए ।

संविधानको अनुसूची ८ ले र स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले दिएको अधिकार प्रयोग गरेर महानगरले तरकारी, फलफूल र माछामासुको अनुगमन गरिरहेको छ । टोलीमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, महानगरको पशु सेवा विभाग, उपभोक्ता अधिकार अनुसन्धान मञ्चका पदाधिकारी सहभागी थिए ।

समितिले काठमाडौंका कालीमाटी, बल्खु, नक्साल, तीनकुने, मनोहरा, माछापोखरी र कुलेश्वरको तरकारी र फलफूल पसल अनुगमन गरेको थियो । कुलेश्वर, कोटेश्वर, बालाजु, वनस्थली, बत्तीसपुतली क्षेत्रमा दाल, चामल र तेलका ठूला गोदाम अनुगमन गरेको थियो ।

समितिले प्याजमा कालोबजारी गरेको आरोपमा बल्खु, कालीमाटी र तीनकुने तरकारी बजारबाट केहीलाई पक्राउ गरी प्याज जफत गरेको थियोे । अनुगमनका क्रममा ४६ रुपियाँमा खरिद गरेको प्याजको कृत्रिम अभाव सृजना गरेर १ सय ३० रुपियाँमा बिक्री गरेको फेला पारेको थियो ।

बरामद गरेको १३ हजार २ सय ६८ किलो प्याज खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई ६० रुपियाँ प्रतिकिलो प्रतिव्यक्ति ३ किलोका दरले बिक्री गरेको थियो । पछिल्लो समय तरकारी र खाद्य पदार्थमा ठगी गर्ने घटना बढेपछि कामपाले अनुगमनलाई तीव्रता दिएको हो । अनुगमन समितिका संयोजक एवं कामपाका उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले जनतालाई बासी र सडेगलेका मासुजन्य र अन्य खाद्यवस्तु खुवाउनेलाई हदैसम्मको कारबाही गर्न सिफारिस गरेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘हामीले अनुगमनलाई निरन्तरता दिनेछौं, कालोबजारी गर्नेलाई छाडिन्नँ ।’

टोली प्रमुख भण्डारीले विभिन्न टोली बनाएर अनुगमनलाई निरन्तरता दिने जनाउँदै यो क्रम दशैंको फूलपातीसम्म र दशैंलगत्तै तिहार र छठसम्म जारी राख्ने जानकारी दिनुभयो । कामपाले गत वर्षभन्दा यो वर्ष अनुमगनलाई व्यापक बनाएको दाबी गर्दै भण्डारीले भन्नुभयो– ‘बजारमा मनपरी गर्नेमाथि कडा कारबाही गर्नेछांै ।’

खसीबोकाको स्वास्थ्य परीक्षण गरिने

काठमाडौं महानगरपालिकाले दशैंमा राजधानी भित्रिने खसीबोकाको स्वास्थ्य परीक्षण गर्ने भएको छ । त्यसका लागि तयारी शुरू गरेको छ । कोभिड–१९ संक्रमण बढेको राजधानीमा भीडभाड कम हुने गरी खसीबोका बिक्री गर्न खुला स्थानको तयारी गरिरहेको छ ।

राजधानीमा भित्रिएका खसीबोकालगायत चौपायालाई स्वास्थ्य परीक्षण गरेर मात्रै बिक्री गर्ने व्यवस्था गर्न नयाँ योजना तयारी भइरहेको कामपा कृषि विभाग प्रमुख हरि भण्डारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार राजधानी भित्रिएका खसीबोकालगायत चौपायाको स्वास्थ्य परीक्षण गरी खान योग्यको सिङमा हरियो र अयोग्यको सिङमा रातो रङ लगाउने व्यवस्था गरेको छ । सिङमा रातो रङ लगाएको खसीबोका खान अयोग्य र हरियो रङ लगाएकोलाई योग्यको जनाउ दिन हरियो र रातो रङ लगाउने व्यवस्था गरिएको भण्डारीको भनाइ छ ।

सिङमा रातो रङ लगाएको रोगी खसीबोकालाई केही दिन आइसोलेसनमा राखेर स्वस्थ भएपछि मात्रै बिक्री गर्ने गरी व्यवस्था गरिएको भण्डारीको भनाइ छ । रातो लगाएका सबै खसीबोका खान अयोग्य हँुदैनन्, धपेडीले गर्दा थाकेर अस्वस्थ भएका खसीबोकाको सिङमा पुनः हरियो रङ लगाएर बिक्री गर्न इजाजत दिने तयारी गरेको छ ।

कामपाले गत वर्ष जस्तै यो वर्ष पनि कलंकी खसीबजार, कोटेश्वर, बालाजु, टुकुचालगायतका स्थानमा बिक्री केन्द्र तोक्ने तयारी गरेको छ । ‘अन्य स्थान पनि माग भएको छ, सो विषयमा वडा कार्यालयहरूसँग समन्यव गरिरहेका छौं।’ –भण्डारीले भन्नुभयो ।

बागमती किनार, बानेश्वर पुलको छेउलगायतका स्थान माग भएको र ती स्थानको बारेमा निर्णय हुन बाँकी रहेको छ । पशु सेवा विभागको समन्वयमा खसीबोका बिक्री व्यवस्थापन गर्ने तयारी कामपाको छ ।

कामपाले पशु चिकित्सकसहितको टोलीलाई खसीबोकाको स्वास्थ्य परीक्षण गर्ने जिम्मा दिने भएको छ । पशु चिकित्सक र कामपा प्रहरीसहितको संयुक्त टोलीले अनुगमन गरी बिक्री केन्द्रलाई व्यवस्थापन गरी स्वास्थ्य परीक्षण गर्नेछ । कामपाले दशैंको घटस्थापनादेखि नवमीसम्म मुख्य बिक्री केन्द्रमा चेकजाँच गर्ने भएको छ ।

(२)

(३) एङ्कर