बैंगलोरले सुपर ओभरमा मुम्बईलाई हरायो


शारजाह, (एजेन्सी)
जारी इन्डियन प्रिमियर लिग (आईपीएल) को १०औं खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले मुम्बई इन्डियन्सलाई सुपर ओभरमा हराएर दोस्रो जित हात पारेको छ।
आईपीएलको इतिहासमा पहिलोपटक २ सय रनभन्दा बढीको लक्ष्य तेर्साए पनि खेल टाइ भएको थियो। सो खेलमा बैंगलोरले टस हारेर पहिले ब्याटिङ गर्दै ३ विकेटको क्षतिमा २ सय १ रन बनायो। त्यसको जवाफमा मुम्बईले ५ विकेटको नोक्सानीमा २ सय १ रन जोडेको थियो। मुम्बईले अन्तिम ५ ओभरमा ८९ रन बटुलेर आईपीएलमा नयाँ कीर्तिमान पनि राखेको छ। यसअघि यसै सिजनको पछिल्लो खेलमा राजस्थान रोयल्सले किंग्स इलेभेन पन्जाबविरुद्ध अन्तिम ५ ओभरमा ८६ रन बटुलेको कीर्तिमान रचेको थियो।
खेलमा मुम्बई हारकै नजिक थियो। टोली १५ ओभरमा ४ विकेट गुमाएर १ सय १२ रनमा थियो। बचेको ५ ओभरमा टोलीले ९० रन जोड्नुथियो। किरोन पोलार्ड १० रनमा र इसान किसन ६१ रनमा थिए। बैंगलोरका खेलाडी जितमा ढुक्क पनि थिए। तर, पोलार्ड र किसनले सानदार ब्याटिङ गरेर खेललाई रोमाञ्चक मोडमा पु¥याएका थिए।
पोलार्ड र किसनले अन्तिम ५ ओभरमा ८९ रन जोड्दा खेल टाइ भएको थियो। पोलार्डले २४ बलमा ६० रन जोडेका थिए। किसनले ५८ बलमा ९९ रन बनाएका थिए। उनी एक रनले शतकबाट चुके पनि। उनको यो चौथो अर्धशतक थियो भने पोलार्डले २० बलमै आफ्नो ३५औं अर्धशतक पँरा गरे। उनीहरूले पाँचौं विकेटका लागि १ सय १९ रनको साझेदारी गरेका थिए।
खेल टाइ भएपछि निर्णय सुपर ओभरमा पुगेको थियो। सुपर ओभरमा भने मुम्बई इन्डियन्सले मात्र ८ रनको लक्ष्य दिएको थियो। पोलार्डले ५ रन र हार्दिक पाण्डेले २ रन बनाएका थिए। सो सहज लक्ष्य विराट कोहली र एबी डिभिलियर्सले भेटाएपछि बैंगलोरले जित दर्ता गरेको थियो। कोहली र डिभिलियर्सले क्रमशः ५ र ६ रनको योगदान दिए। यो जारी आईपीएलमा दोस्रो सुपर ओभर थियो। यसअघिको सुपर ओभरको खेलमा दिल्ली क्यापिटल्सले ंिकंग्स इलेभेन पन्जाबलाई हराएको थियो। जसमा पन्जाबले मात्र २ रन बनाएको थियो।

यसअघि ब्याटिङमा बैैंगलोरका लागि तीन ब्याट्सम्यानले अर्धशतक लगाएका थिए। डिभिलियर्सले ५५ रन, देवदत्त पडिक्कलले ५४ रन र एरोन फिन्चले ५२ रनको योगदान दिए। पडिक्कलले आईपीएल करियरमा दोस्रो अर्धशतक बनाए भने फिन्चले आईपीएलको करियरमा १४औं अर्धशतक बनाएका थिए। डिभिलियर्सको भने यो आईपीएलमा ३५औं अर्धशतक थियो। उनी आईपीएलमा ५ हजार रन पँरा गर्न ५ सय रनले पछि छन्। मुम्बईका बलरमा टे«न्ट बोल्टले सर्वाधिक २ विकेट हासिल गरेका थिए।
फ्लप कोहली
बैंगलोरका कप्तान विराट कोहली जारी आईपीएलमा लगातार फ्लप ब्याट्सम्यान साबित भइरहेका छन्। उनले मुम्बईविरुद्ध मात्र ३ रन बनाए। उनलाई राहुल चाहारले आउट गरेका थिए। उनले यसअघि सनराइजर्स हैदराबादविरुद्ध १४ रन जोडे भने किंग्स इलेभेन पन्जाबविरुद्ध मात्र १ रनको योगदान दिएका थिए।