नेतृत्वको पदीय मोह र त्यागको मूल्यांकन


पविता मुडभरी पुडासैनी

जंगलमा सिकार गर्न गएका प्रह्लाद–पुत्र विरोचन रुख ढलेर किचेपछि छटपटाउँदै एउटा ऋषिको कुटीमा पुगे । ऋषि अंगिराका पुत्र सुधन्वा पनि त्यहीँ आइपुगेका थिए । ऋषि बत्सकी पुत्री दीपावलीले विरोचनलाई बडो श्रद्धासाथ घाउमा औषधि लगाइदिइन् । दीपावलीको सुन्दर रुपले विरोचन मोहित भए । यता सुधन्वा दीपावलीसँग झन् गहिरो प्रेममा फसिसकेका थिए । दुवैजना दीपावलीलाई छाड्नै नसक्ने अवस्थामा पुगिसकेका थिए । दीपावलीलाई विरोचनले अपहरण गरेर लगेपछि सुधन्वा क्रोधित भए । विरोचन र सुधन्वामध्ये कसलाई विवाह गर्ने भन्ने दैत्यगुरु शुक्राचार्यको प्रश्नको जवाफमा दीपावलीले दुवै चन्द्र र सूर्य जत्तिकै महान् भएकाले कसलाई छान्ने भन्ने विषयमा आफू निणर्य गर्न नसक्ने बताइन् । अन्त्यमा यो विवाद राजा प्रह्लादकहाँ पुग्यो ।

प्रजावत्सल राजा प्रह्लादले न्यायाधिकर्ताका रुपमा उभिएर दीपावलीको विवाह आफ्नो पुत्र विरोचनसँग नभई ऋषि–पुत्र सुधन्वासँग नै हुने फैसला गरे । उनले छोरा विरोचनले दीपावली अपहरण गरेर ठूलो अपराध गरेको कारण आफू पुत्रमोहमा फसेर विरोचनका पक्षमा निर्णय नगर्ने बताए । नीतिवान् र न्यायप्रेमी राजा प्रह्लादका यस्ता अनेकौँ न्यायिक फैसलाबाट अत्यन्त खुशी भएका विष्णु भगवान् प्रह्लादसामु उपस्थित भई नेतृत्वको न्यायिक इमानदारिता बचाउन र निर्णायक क्षमता उदाहरणीय बनाउन राज्यको उत्तराधिकारी छोरालाई सुम्पिएर संन्यास लिन आग्रह गरे ।

आदर्श राजा, असल नेतृत्व, न्यायप्रेमी र त्यागी शासकका रुपमा आफूलाई उभ्याउन विष्णु भगवान्ले प्रह्लादलाई राजगद्दी त्याग्न आग्रह गरेका हुन् । जनतालाई न्याय र सुविधा दिई राजाको उत्तरदायित्व निभाउन छोरा विरोचनलाई अराएर विष्णुभक्त प्रह्लाद दरबार छाडी संन्यासी भएर हिँडे । विष्णुपुराण ग्रन्थका एक अनुकरणीय पात्र प्रजावत्सल राजा प्रह्लादले झैँ आफ्नो शासनकाललाई उदाहरणीय बनाउने र अन्ततः सत्ता उत्तराधिकारीलाई सुम्पने प्रवृत्ति हाम्रा शासकहरुमा कहिले देखिएला ?

जेलमा रहँदा आफूले दोहो¥याएर महाभारत ग्रन्थ पढेको अभिव्यक्ति दिएका प्रधानमन्त्री ओलीले आफ्नै हातमा देशको नेतृत्व आएको समयमा अत्याचारी र सत्ता उन्मादले उन्मत्त दानवीय प्रवृत्ति अँगाल्ने कि न्याय, निष्ठा र नैतिकता अंगालेर समृद्ध नेपाल सुखी नेपालीको नारालाई कार्यरुप दिने उनकै हातमा छ । पहिलो कार्यकालमा भारतीय नाकाबन्दीको विपक्षमा उभिएर उनले जुन साख र सम्मान कमाएका थिए, दोस्रो कार्यकालमा नेपालको चुच्चे नक्सालाई संविधानमा राख्न गरेको पहलले उनको छवि केही उचालेको देखिए पनि नक्सामा समेटिएको भूमि फिर्ता ल्याउन र नेपाली भूमिबाट सेना फिर्ता लैजान भारतलाई सहमत गराउन उनी हच्किसकेका छन् ।

चुच्चे नक्सा प्रकाशन गरेर ऐतिहासिक उपलब्धि हासिल गरेको बताउने प्रधानमन्त्रीले हाल चुच्चे नक्सा पाठ्यक्रममा सार्वजनिक नगर्न निर्देशन दिएसँगै उनको बेलाबखत राष्ट्रियतासँग जोडिने राजनीतिक तिकडम छताछुल्ल भएको छ । पदीय मोह त्यागेर भए पनि भारतद्वारा अतिक्रमित भूभाग लिपुलेक, कालापानी र लिम्पियाधुरा फिर्ता गरी ऐतिहासिक ख्यातीलाई स्थापित गर्ने यो स्वर्णिम अवसर गुमाउँदै छन् उनी । नेतृत्वले आफ्नो सफल शासनकालको विरासत जोगाउन सधैँ पदमै टाँसिइरहने होइन । कुलमान घिसिङले झैँ पदमा रहुन्जेल राम्रो काम गरी अन्ततः पदमोह त्याग्दा नै नेतृत्वको प्रतिष्ठा बढ्छ ।

हाल सरकारको स्वरुप शक्तिशाली छ तर कामको प्रकृति र प्रक्रिया प्रभावकारी छैन । दलले पाएको अभूतपूर्व अवसरको सही उपयोग नेतृत्वले गर्न सकेन । राज्यको ढुकुटीबाट ठूलो धनराशी खर्च भइरहेको संघीय शासन व्यवस्थाको अनुभूति नागरिकले गर्न पाएका छैनन् । संघीयतापछि पनि गाउँ रित्तो बनाएर शिक्षा, स्वास्थ्य, रोजगारलगायतका अत्यावश्यक आवश्यकता पुर्तिका लागि नागरिकले राजधानी र शहर नै धाउनुपर्ने विवशताले संघीयतालाई गिज्याइरहेछ । हाल कोरोना रोगसँगै भोकले झन् आक्रान्त छन् जनता । कैयाँै दिनदेखि चुलो नबलेर सडक पेटीमा भात खानेको लस्कर बढिरहेको छ ।

देशको नेतृत्व गलत व्यक्तिका हातमा पुग्दा देशवासीले अभाव, अन्याय र अत्याचार सहनुपरेका र देशै गुमाउनुपरेका यथार्य हामीले देखे÷भोगेकै छौँ । नेतृत्वको असीमित अधिकार र स्वेच्छाचारितालाई संविधानले नियन्त्रण गर्दागर्दै नीति र नैतिकता लत्याएर अनि स्वेच्छाचारिता लादेर देशलाई भड्खालोमा जाकेका उदाहरण पनि हाम्रा सामु छन् ।

आत्मप्रशंसाबाट आफ्ना कैयौँ असफलता छोप्न निरन्तर लागिरहेका प्रधानमन्त्री ओलीका भनाइ र गराइका तालमेलका बारेमा कसैले केही बोलिहाले वा लेखिहाले उनी छाती नभएकाहरु भन्दै टुक्के शब्दवाणका झटारो बर्साउँछन् । उनको प्रशंसा गरेर नथाक्नेहरु मानवदवीको लागि योग्य ठहरिएका छन् । राजनीतिमा यति विघ्न अन्योल, अराजकता र दिशाहीनताले अशुभ भविष्यको संकेत गरिरहेको विकराल अवस्थामा पनि प्रधानमन्त्री ओलीको अडान, प्रतिबद्धता र त्यागका कारण समृद्ध नेपाल सुखी नेपाली अभियानले गति लिएको भन्दै उनलाई राजनेताको पगरी गुथाउने स्वनामधन्य लेखकको कमी छैन यहाँ । उनका भद्दा प्रशंसा गाउँदै र चाकरी बजाउँदै लेखिने केही समाचार तथा विचार सामग्रीहरु राजतन्त्र र राणातन्त्रलाई माथ गर्ने खालको देखिन्छ ।

प्रधानमन्त्रीको अस्वाभाविक प्रशंसा गरेर लेख्ने÷बोल्नेहरुले नै उनीमा थप अनावश्यक दम्भ र स्वेच्छाचारिता बढाएका छन् । नेतृत्वको अनावश्यक प्रशंसा, जी हजुरी, चाकरीबाज, स्तुतिगान र जयजयकार हाम्रो पुस्ताले यसअगाडि कहिल्यै नदेखेको भद्दा प्रहसन हो । पार्टीको आन्तरिक द्वन्द्व र किचलो मिलाएर सत्ता टिकाइरहने तिक्डमलाई नै महान् कार्य भन्दै प्रधानमन्त्रीलाई राजनेताको पगरी गुथाउने केही भजनमण्डलीको प्रशंसाले उनलाई थप आत्मरतितिर धकेलिरहेछ ।

शासकहरुको मनोमानी र निरंकुशताविरुद्ध आवाज उठाउनुको साटो हाइहाइ गर्ने, प्रशंसा गर्ने र अवसरको पर्खाइमा आत्मरति गर्ने प्रवृत्तिले विधिको शासन कमजोर हुने, स्वेच्छाचारिता बढ्ने र जनमतको सम्मान नहुने विडम्बना बारम्बार दोहोरिरहेको छ । संविधानअनुसार चल्नुपर्नेमा आफू अनुकूल संविधान संशोधन गर्दै, संविधानको प्रस्तावना विपरीत अनेक विवादास्पद कानुन संसद्मा दर्ता गर्दै, सर्वसत्तावादी चरित्र प्रस्तुत गरेको भन्दै आफ्नै दलका शीर्ष नेताहरुले सरकारले जनचाहनाअनुरुप उपलब्धि हासिल गर्न नसकेको आलोचना गरिरहँदा लाभका लागि लामबद्धहरु उनको अस्वाभाविक प्रशंसा गरिहेछन् ।

सन्तान नभएका प्रधानमन्त्रीले भ्रष्टाचार गरेर कसैका लागि सम्पत्ति थुपार्नु छैन । आफू भ्रष्टाचार नगर्नेले भ्रष्टाचार रोक्न केको आपत्ति ? तर विडम्बना, महामारीका बेला भ्रष्टाचारकै इतिहासमा नयाँ कृतिमान कायम गर्दै गर्दा प्रधानमन्त्री ओली खै कहाँ छ भ्रष्टाचार भन्दै अझै पनि नागरिकलाई छक्याउँदै सरकारको सुशासन र सफलताको दुहाइ दिइरहेछन् । न्याय र विधिको शासन मरेको अवस्थामा आफ्नो कार्यकाल अदभूतरुपमा सफल भएको बताइरहेछन् उनी ।

भ्रष्टाचारको अभियोगमा पदत्याग गरेका गोकुल बास्कोटा र बलात्कारको आरोपमा राजीनामा दिएका कृष्णबहादुर महरा केपी ओलीको कार्यकालका एैँजेरु भएर खडा भइरहँदा हत्याको आरोपमा अदालतमा मुद्दा विचाराधीन रहेका अग्निप्रसाद सापकोटालाई सभामुख नियुक्त गरी सरकारको सुशासनको मखुण्डो उघारिदिएका छन् । वाइडबडी जहाज, सेक्युरिटी प्रेस खरिद, ओम्नी प्रकरण, यति प्रकरण, ३३ किलो सुन प्रकरणलगायतका अनेकाँै भ्रष्टाचार र आर्थिक अनियमितताका शृङ्खलाले सरकार र जनताबीचको सम्बन्ध चिसिएको यो विषम परिस्थितिमा पनि प्रधानमन्त्री ओली आफ्नै आत्मप्रशंसामा निर्लज्ज मुस्कुराइरहेछन् ।

वर्षमा ५ लाखका दरले रोजगारीका अवसर सिर्जना गर्ने घोषणा गरेका थिए उनले । प्रधानमन्त्री रोजगार कार्यक्रमका निम्ति छुट्याइएको करिब ५ अर्ब रुपियाँ कोरोना महामारीका कारण स्वदेश भित्रिएका लाखौँ युवालाई रोजगारी सिर्जना गर्न किन नयाँ उद्योगधन्दा र विकास निर्माणका कार्य अघि बढाइएन ? रोजगार कार्यक्रमको अर्बौँ रकम सरकारको गोजीमै थन्किँदा कोरोना महामारीको अनेक कष्ट झेलेर स्वदेश भित्रिएका युवाहरु गाउँमा जिउने आधार नभएको भन्दै फेरि भारतलगायत अन्य मुलुक फर्किरहेछन् ।

नेतृत्वलाई किन छुँदैन महामारी छिचोल्दै स्वदेश छाड्न निस्किएको यो लस्करले ? नयाँ उद्योगधन्दा एउटै नखोलेको यही सरकारको पालामा करको चर्को दर र कोरोेना महामारीले व्यापार व्यवसाय चौपट छन् । रासायनिक मलको हाहाकार रोक्न देशमै मल कारखाना खोलेर कृषिमा क्रान्तिकारी परिवर्तन गर्न र औद्योगिक उत्पादन बढाउन सरकार किन योजना र रणनीति अघि बढाउँदैन ?

हरेक क्षेत्र कमिसन, दलाल र बिचौलियाको बिगबिगीले आक्रान्त छ । कमिसन, भ्रष्टाचार र आर्थिक अनियमितताको पर्याय बनेको सरकार मेडिकल सामग्री खरिद प्रकरण, क्वारेन्टिन व्यवस्थापन र कोरोना उपचारमा नराम्ररी नांगिइसकेको छ । यता जनताले भरोसा गरेका कुलमानको बहिर्गमन उता हरुवा बामदेवको चोर बाटोबाट संसद्मा आगमन । राजनीतिक नियुक्ति होस् कि प्रशासनिक पद वा मानपदवी प्रदान गर्दा होस्, निर्वाचनमा पराजित अनि जनताका नजरमा भ्रष्ट र सामाजिक तथा राजनीतिक क्षेत्रमा बदमासी कमाएका व्यक्ति सरकारबाटै पुरस्कृत हुन्छन् भन्ने नजिर बसाल्न यो सरकार कम्मर कसेरै लागेको देखियो । नीति मिचेर चोर बाटोबाट शासक बनाइने दुस्साहस स्वीकार्न विवश छौँ हामी ।

नेतृत्व चयन प्रक्रियालाई दलभित्रैबाट लोकतान्त्रिक र पारदर्शी बनाउँदै लैजानुपर्नेमा राजनीतिबाटै संन्यास लिनुपर्ने उमेरका वृद्ध हरुवा नेता बामदेवलाई चोर बाटोबाट संसद् छिराई देशको नेतृत्व तहसम्म पु¥याउन प्रधानमन्त्री आतुर देखिन्छन् । नेपाली राजनीतिमा प्रधानमन्त्री ओलीले पाउन र लिन बाँकी अब केही छैन । दुई तिहाइ जनमतसहितको नेतृत्वमा रहेर पनि राष्ट्रलाई उल्लेख्य योगदान दिन उनी अक्षम साबित भएका छन् ।

उनले अब पदको मोह छाडी त्यागको संस्कृति अँगाल्दा नै बचेखुचेको छवि जोगिन सक्छ । देशको लागि मात्र नभई पार्टीको लागि योगदान गर्नसमेत वृद्ध दीर्घरोगी प्रधानमन्त्रीले राजनीतिबाटै विश्राम लिनु उपयुक्त हुन्छ । त्याग, चिन्तन, निष्ठा र सच्चा राष्ट्रप्रेम भएको व्यक्ति नेतृत्वमा आउने बाटो खुल्ला गर्नसमेत तिनले पदीय मोह त्याग्नुपर्छ अब ।