नेपाल उद्योग वाणिज्य महासंघ र सरकार तथा पार्टीहरु


विनोदबहादुर श्रेष्ठ

नेपाल उद्योग वाणिज्य महासंघ भनेको कुनै राजनीतिक संघसंस्था होइन । यो उद्योगी व्यवसायीहरुको छाता संगठन हो । यसका दुईवटा मुख्य उद्देश्य रहेका छन् । पहिलो उद्देश्य निजी क्षेत्रको हकहितका लागि लड्ने तथा सरकारलाई हरेक आर्थिक गतिविधिमा लबिङ गर्ने हो । दोस्रो उद्देश्यचाहिँ मुलुकको आर्थिक समृद्धि र विकासका लागि सरकारसँग सहकार्य गरी सरकारलाई सुझाव दिने हो । निजी क्षेत्रको प्रतिनिधिमूलक संगठनमा मनमुटाव हुनुहुँदैन, कुनै राजनीति हुनुहुँदैन र विभाजन पनि हुनुहुँदैन भन्ने गरेका छौं । त्यसैले उद्योग वाणिज्य महासंघमा पनि हामी सबैले चुनावबाट भन्दा सहमतिमा नेतृत्व छानौं भनेका छौं ।

राजनीतिक दलमा महाधिवेशनअघि सहमतिमै नेतृत्व छानौं भनिरहे पनि अन्तिममा चुनाव नै हुन्छ । उद्योग वाणिज्य महासंघमा पनि त्यस्तै अवस्था बारम्बार दोहोरिने गरेको छ । त्यसैले महासंघ र राजनीतिक दल उस्तै–उस्तै जस्ता देखिन थालेका छन् । दलहरुमा जस्तै राजनीति उद्योग वाणिज्य महासंघमा पनि देखिन लागेपछि मलाई दाँज्न मन लागेको छ । प्रजातान्त्रिक प्रक्रियामा चुनाव अपरिहार्य छ । चुनाव हुनु धेरै राम्रो हो । यस्तो हुँदा हाम्रो संगठनका हरेक कुरा राजनीतिक वातावरणसँग मिल्न जान थालेकाले पनि मलाई दाँज्न मन लागेको हो ।

देशमा अहिले कोरोना भाइरस संक्रमणको महामारीले डरलाग्दो स्थिति सिर्जना भएको छ । अर्थ व्यवस्था चलयमान हुन सकिरहेको छैन । लामो लकडाउन खोले पनि नहुने, बन्द गरे पनि नहुने अवस्था देखिएको छ । आममानिसलाई रोजीरोटी जुटाउनसमेत गाह्रो हुँदै गएको छ । छ महिनादेखि मानिसहरुले आम्दानी गुमाउँदै गएका छन् । सबै क्षेत्रमा कोभिड–१९ को डरले केही काम अनि विकास हुन सकेको छैन ।

अहिले त्यस्तो कुनै क्षेत्र छैन, जहाँ कोरोना भाइरस संक्रमणले असर नपारेको होस् । एकातिर देशको यस्तो स्थिति छ भने अर्को पार्टीभित्रबाट कार्यकारी नेतृत्वलाई बारम्बार अप्ठ्यारो स्थितिमा पु¥याइरहेको स्थिति छ । तर उहाँले मैदान छाड्नुभएको छैन । हरेक दिन छलफल गरेर समस्याको समाधानतिर जानुभएको छ । उहाँले मुलुकको कार्यकारीको रुपमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहनुभएको छ । जस्तोसुकै परिस्थितिमा पनि मैदान नछोड्ने त्यो राम्रो पक्ष हो ।

पार्टीमा ६ जनाको कार्यदल बन्यो । प्रतिवेदन आयो । कसरी पार्टीभित्रको समस्यालाई समाधान गर्ने, कहिले र कसरी कार्यान्वयन गर्ने, केन्द्रीय समिति महाधिवेशन कहिले गर्ने, नयाँ नेतृत्व कसरी चयन गर्ने भनेर सुझाव दियो । राजनीतिक दलमा जस्तै महासंघमा पनि समस्या समाधानका लागि ६ जनाको कार्यदल बन्यो । कार्यदलले प्रतिवेदन पनि बुझायो । तीन विकल्पहरु तय गरेर पेस ग¥यो ।

नेपाल उद्योग वाणिज्य महासंघ, जो निजी क्षेत्रको एकमात्र संघीय प्रतिनिधिमूलक संस्था हो । जसको इतिहास कुनै पनि राजनीतिक पार्टीहरुभन्दा कम छैन । महामारीले देशको आर्थिक स्थिति प्राय ठप्प हुँदा निजी क्षेत्रले त्यसको समाधानका लागि अगुवाइ गर्नुपर्नेमा पछिल्लो समय गतिविधि ठप्प छन् । महासंघको काँधमा आर्थिक गतिविधि चलयमान गरिराख्नुपर्ने, उद्योगी व्यवसायीहरुको सबै समस्याहरु समाधान गर्ने, सबै क्षेत्रको विकास गर्ने, मजदुर, उत्पादन, बजारको समस्या समाधान गर्नुपर्ने जिम्मेवारी छन् ।

कोरोनाका कारण थला परेको आर्थिक क्षेत्र चलायमान बनाउन पुनर्जीवन दिने किसिमका वित्तीय प्याकेज ल्याउन पहल गर्नुपर्ने जिम्मेवारी पनि महासंघमा छ । महासंघको साधारणसभा तथा निर्वाचन आगामी मंसिर ११ र १२ गते काठमाडौंमा विद्युतीय माध्यमबाट गर्ने गरी तय भएको छ । निर्वाचनको मतदान गर्दा एकपटकमा २५ जनाभन्दा बढी जम्मा नहुने गरी सामाजिक दूरी कायम गर्ने गरी एवम् स्वास्थ्य तथा सुरक्षाका सम्पूर्ण मापदण्डहरुसमेत पालना गरी सरकारले अनुमति दिएको छ ।

यस्तो स्थितिमा महासंघको अध्यक्षले मैदान छाड्नुभएको छैन । छाड्नु पनि हुँदैन । कतिपयले मैदान छाड्न पनि नभनेका हैनन् । पहिले नै तयार गरिएका प्रश्न अनि तय गरिएकै जवाफले संगठन र महासंघका समस्याको समाधान हुँदैन । यसका लागि सल्लाह र छलफलको आवश्यकता हुन्छ । घरको कोठामा बसेर संगठन र महासंघमा अहिले देखिएको समस्याको समाधान गर्छु भन्नु तत्कालीन अवस्थामा सपना मात्र हुन जान्छ ।
राजनीतिक दलमा हस्ताक्षर गरेर पार्टीको स्थायी समिति बैठक बोलाइयो ।

महासंघमा पनि हस्ताक्षर गरेर कार्यसमिति बैठक बोलाइयो । तर दल र महासंघ दुवैतिरको समस्या जहाँको त्यहीँ देखिन्छ । सरकार र पार्टीका कार्यकारी नेतृत्व लिएको व्यक्तिलाई समय अवधि र कार्यकाल बाँकी हुँदै हटाउन खोज्ने कार्य राम्रो पक्ष अवश्य हैन । अर्कोतर्फ महासंघमा समय अवधि कार्यकाल सकिएपछि पनि सोही पदमा बाध्यताबाट कायम रहनु अवश्य पनि राम्रो पक्ष हैन ।

दुवै कार्यकारी नेतृत्व लिएका व्यक्तिले अहिलेको अवस्थामा मैदान छाडनुभएको छैन । समस्यालाई समाधानको बाटोतिर लगिरहेको देखिन्छ, त्यो राम्रो पक्ष हो ।
अहिलेको परिस्थिति यस्तो छ कि प्रमुख दलहरुले तोकेको महाधिवेशन समयमै नहुने डर कायमै छ । अर्कोतर्फ उद्योग वाणिज्य महासंघमा पनि पहिला तोकेका मितिहरूमा साधारणसभा चुनाव हुन नसकेको र अब पनि मिति तोकेको समयमा नहुने डर देखिँदै छ ।

राजनीतिक दल र महासंघको नेतृत्वमा हुनेहरुले तोकेको समयमा महाधिवेशन र साधारणसभा नभएमा वा भएमा फाइदा–बेफाइदा, हार–जितका कुराहरु गर्न लाग्नु दुःखद कुरा हो । अहिलेको संकटको समयमा पार्टीहरुले पद, कार्यकाल, चुनावलाई बिर्सेर एकजुट भई देश हितमा कसरी लाग्ने भन्नेतिर ध्यान खर्चिनुपर्छ । त्यस्तै महासंघमा पनि एकछिन्लाई पद बिर्सेर फाइदा–बेफाइदा, जोड–घटाउ, हार–जित नहेरी कसरी महासंघलाई ठूलो दुर्घटनाबाट बचाउने अनि देशको आर्थिक समृद्धि र विकासको लागि सरकारसँग सहकार्य गर्ने भन्ने कुरामा ध्यान जानु आवश्यक छ ।

संगठन सुधार, दीर्घकालीन योजनाभन्दा एकले अर्कोलाई हराएर नेतृत्वमा पुग्ने र टिक्ने रणनीतिमा ध्यान केन्द्रित गर्ने समस्या दुवै संगठनमा देखिनु त्यो राम्रो पक्ष हैन । दुवै संगठन सामूहिकभन्दा व्यक्तिवादी प्रवृत्ति हाबी हुने विश्लेषण गर्न सकियो भने जति सक्यो छिटो त्यहाँबाट बाहिर आउन सकिन्छ । अहिलेको अवस्थामा व्यक्तिवादी प्रवृत्तिबाट बाहिर आउनु जरुरी पनि भैसकेको छ । यो समय देश, जनता, उद्योगी, व्यवसायीको हितमा काम गर्न सक्ने संगठनको निर्माणका लागि हामी सबै लाग्नुपर्ने आवश्यकता छ ।

देशको साना, मझौला, ठूला सबै खाले उद्योग–व्यापारको भविष्य र अस्तित्व रहने कि नरहने भन्ने गम्भीर परिस्थितिमा महासंघको नेतृत्वले मैदान छोड्नुहुँदैन । प्रस्ट भाषामा भन्नुपर्दा महासंघ सबै वर्ग, भूगोल, व्यवसाय गर्ने सबै तह र तप्काका उद्योगी व्यापारीको प्रतिनिधित्व भएको संस्था हो । चाहे खुद्रा व्यापारी, यातायात, बैंकिङ, पर्यटन, शेयर बजार, घरजग्गा, वैदेशिक रोजगार, निर्माण व्यवसायी हरेक क्षेत्रमा आबद्धहरुले महासंघप्रति गर्व गर्ने अवस्था बनाउनु अहिलेको आवश्यकता हो । निजी क्षेत्रको संघीय प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघको जय होस् ।
(लेखक श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष हुनुहुन्छ ।)