लिभरपुलको सहज जित


लन्डन, (एजेन्सी)

इंग्लिस प्रिमियर लिग फुटबलका डिफेन्डिङ च्याम्पियन लिभरपुलले नयाँ सिजन लिगको तेस्रो खेलमा सहज जित हात पारेको छ।

सोमबार राति भएको खेलमा लिभरपुलले आफ्नो घरेलु मैदानमा पाहुना टोली आर्सेनलविरुद्ध पुनरागमन गर्दै ३–१ गोलअन्तरको जित निकालेको हो। यससँगै लिभरपुलले नयाँ सिजनमा आफ्नो विजयी यात्रालाई कायमै राख्न पनि सफल भएको छ।

आर्सेनलले खेलको २५औं मिनेटमा एलेक्जेन्डर लाकाजेटको गोलबाट शुरुआती अग्रता लिएको थियो। लिभरपुलका डिफेन्डर रोबर्टसनको गल्तीको फाइदा उठाउँदै लाकाजेटले सहजै गोल गरेका थिए। तर, गोल व्यहोरेको तीन मिनेटपछि नै लिभरपुलका लागि साडियो मानेले बराबरी गोल फर्काए।

त्यसपछि खेलको ३४औं मिनेटमा रोबर्टसनले गोल गर्दै टिमलाई अग्रता दिलाए। खेल सकिन २ मिनेट बाँकी छँदा क्लबका नवप्रवेशी फरवार्ड डिएगो जोटाले गोल गरेपछि खेल लिभरपुलले ३–१ ले जितेको हो। लिभरपुलले खेलेको तीनवटै म्याचमा शतप्रतिशत जितको नतिजा निकालेर ९ अंक जोडेको छ। यता, यसअघिका दुई खेल जितेको आर्सेनलको भने दुई खेलबाट ६ अंक रहेको छ।

सोमबार राति भएको अर्को खेलमा एस्टन भिल्लाले पनि फुलह्यामलाई ३–० गोल अन्तरले सहजै हरायो। फुलह्यामको सहज जितमा खेलको चौथो मिनटमै ग्रेलिसले गोल गरेका थिए। त्यस्तै, खेलको १५औं मिनेटमा हाउरिहानेले दोस्रो गोल गरेपछि पहिलो हाफसम्म एस्टन भिल्ला २–० ले अघि रहेको थियो।

त्यस्तै, खेलको ४८औं मिनेटमा मिंग्सले एस्टन भिल्लाको तेस्रो गोल सम्भव पारे। जितसँगै एस्टन भिल्लाले दुई खेलबाट ६ अंक बटुलेको छ। यता नयाँ सिजन शुरू भएपछि खेलको तीनवटै म्याच हारेका फुलह्यामले भने हालसम्म कुनै पनि अंक जोड्न सकेको छैन।