कर्णालीका खस–भोटे भाषामा पाठ्यपुस्तक बनाइने

0
Shares

बीरबहादुर बम, मुगु

सदरमुकाम गमगढीमा विद्यालयमा मातृभाषा पढाउन अध्ययन सामग्री निर्माण गर्न थालिएको छ । मातृभाषा अध्ययन सामग्री निर्माण कार्यशाला गोष्ठी गरी कर्णालीका खस–भोटे भाषामा पाठ्यसामग्री निर्माण गर्न थालिएको हो ।

लोप हुने अस्थामा रहेको कर्णाली खस भाषा र तिब्बती भोटे भाषाको संरक्षण गर्न मातृभाषामा अध्ययन सामग्री निर्माण कार्यशाला सञ्चालन गरिएको कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र मुगुका जिल्ला संयोजक टेकबहादुर शाहीले बताउनुभयो । असोज ९ गतेदेखि चलेको कार्यशाला १३ गतेसम्म चल्ने उहाँले भनाइ छ ।

मुगुमा अभिभावकमा आधुनिक शिक्षा अंग्रेजी भाषाको प्रभाव बढ्दै जाँदा स्थानीय भाषा ओझेलमा परेको छ । नेपाल सरकारले पूर्वप्रथामिक र प्रथामिक तहमा स्थानीय भाषालाई स्थान दिनुपर्ने भनेको छ । तर, कार्यान्वयन नभएकाले साना नानीबाबुलाई घरमा बोलिरहेकै भाषामा अध्यापन गराई उनीहरूको बोध क्षमतालाई बढाउमा पाँचदिने कार्यशालाले जोड दिएकोे कार्याशालामा सहभागी प्रभात मावि रोवाका प्रधानाध्यापक चन्द्रबहादुर बढुवाल बताउनुहुन्छ ।

युनिसेफ, विश्व शिक्षाको आर्थिक तथा प्राविधिक सहयोग र किर्डाक नेपाल मुगुको आयोजनामा गोष्ठी सञ्चालन भइरहेको जिल्ला संयोजक शाहीले बताउनुभयो । ‘कार्यशालामा आधारभूत तहका विद्यार्थीलाई सहयोग पु¥याउने उद्देश्यले १ देखि ३ कक्षासम्मका पाठ्यपुस्तकलाई आधार मानी स्थानीय मातृभाषाका अध्ययन सामग्री बनाउन लागिएको छ’, कार्यशाला गोष्ठीका प्रशिक्षक शिवलाल बुढा भन्नुहुन्छ– ‘गोष्ठीमा मुगुका चारवटै स्थानीय तहका ३० जना लेखकलाई सहभागी गराएर ९० वटा किताब तयार पार्दै छ ।’

पछिल्लो समयमा अधूनिकताको प्रभाव बढेसँगै मुगुमा स्थानीय भाषा, संस्कृति, भेषभूषा, रीतिरिवाज ओझेल पर्दै गएकोमा स्थानीयले चिन्ता व्यक्त गर्दै गएका छन् । स्थानीय रैथाने भाषा लोप हुनु भनेको हाम्रो अस्तित्व नै लोप हो भन्दै यसमा सरकारका तीनै तह लाग्नुपर्ने नाट्यकर्मी तथा कार्यशालामा सहभागी हीराबिजुली नेपाली बताउनुहुन्छ ।

कार्यशालामा २ दर्जन बढीले शैक्षिक सामग्री निर्माण गरी प्रस्तुत गरेका छन् । जुन स्थानीय खस र भोटे भाषासँग प्रत्यक्ष सम्बन्धित रहेको छ ।