महाशक्ति सोपमा आगलागी

0
Shares

न्युज अफ नेपाल, हेटौंडा ।

हेटौंडा–८ स्थित औद्योगिक क्षेत्रभित्र स्थापित उद्योगमध्ये २०२७ सालमा स्थापित पुरानो उद्योगमा आगलागी भएको छ ।

सोमबार विहान करिब ७ बजे विद्युत् आपूर्ति गडबडी हुँदा सर्ट भएर साबुन उत्पादक उद्योग महाशक्ति सोप उद्योगको कार्टुन गोदाममा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

आगलागीबाट उद्योगको केमिकल, कार्टुन र र्यापर तथा अन्य सामग्री गरी करिब ५० लाख बराबर क्षति भएको प्रारम्भिक अनुमानमा उद्योगले जनाएको प्रहरीले बताएको छ । हेटौंडा उपमहानगरपालिकाको दमकल, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहयोगमा करिब एक घण्टापछि आगो निभाइएको प्रहरीले जनाएको छ ।

आगलागी समयमै नियन्त्रणमा लिइएकाले ठूलो क्षति हुनबाट जोगिएको प्रहरीले बताएको छ । उद्योगमा मजदुर समस्यालाई जनाउँदै उद्योग व्यबस्थापनले बारा जिल्लामा अर्को प्लान्ट राखेर हेटौंडा औद्योगिक क्षेत्रस्थित उद्योग २०६६ चैतमा बन्द गरेको थियो । साबुन उत्पादन गर्दै आएको उद्योग पुनर्संञ्चालनमा आएको हो ।

उद्योगले एउटामात्र प्लान्ट सञ्चालन गरी मायालु साबुन उत्पादन थालिएको थियो । दश मजदुर राखेर हेटौंडाबाट मायालु साबुनमात्र उत्पादन गर्दै आएको उद्योगले बारास्थित उद्योगबाट पूजालगायत लुगाधुने साबुन उत्पादन गर्दै आएको छ । विगतमा निर्यातसमेत हुने गरेको उद्योगको अधिकांश उत्पादन हाल आन्तरिक बजारमा खपत हुने गरेको छ ।

उद्योग व्यबस्थापन र मजदुरबीच प्याकेजमा भएको सहमतिअनुसार ९८ मजदुरले राजीनामा दिएका थिए । राजीनामापछि तलबसहित सहमतिअनुसार मजदुरलाई सुबिधा प्रदान गरिएको थियो । उक्त सहमतिमा चित्त नबुझाएर आन्दोलनमा उत्रिएका १८ मजदुर र उद्योग व्यबस्थापनबीच पुनः सहमतिपछि उनीहरुले अवकास लिएका थिए ।