मिला दरै, तनहुँ
कोभिड–१९ को संक्रमणका कारण लामो समय बन्द रहेका शैक्षिक संस्थाहरू खुल्न थालेका छन् । विद्यालय बन्द भएपछि विद्यार्थीहरूको सिकाइसमेत रोकिएको थियो । विद्यालयहरूले विभिन्न विकल्पको प्रयोगबाट विद्यार्थीको सिकाइ निरन्तरता पनि दिएका छन् ।
तनहुँका समुदायिक तथा निजी विद्यालयहरूले विभिन्न विकल्पहरू अवलम्बन गरी सिकाइ सहजीकरण गरिरहेका पनि छन् । केही स्थानीय तहका विद्यार्थीहरूलाई शिक्षकहरू टोल टोलमा पुगेर सिकाइ सहजीकरण गरिरहनुभएको छ भने केही विद्यालयहरूले अनलाइन कक्षा सञ्चालन गरी सिकाइ कार्यक्रम अगाडि बढाएका छन् ।
शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका, म्याग्दे गाउँपालिका, घिरिङ गाउँपालिका, ऋषिङ गाउँपालिका, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र देवघाट गाउँपालिकामा केही विद्यालयहरू नै खुलाएर सामाजिक दूरी कायम गरी मापदण्ड अपनाउँदै कक्षा सञ्चालन गरिएको शिक्षा विकास तथा समन्वय इकाइ तनहुँका प्रमुख रमाकान्त शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार भानु नगरपालिकामा समुदायस्तरमा कोरोना संक्रमण भएकाले हालसम्म विद्यालय खुलाउने निर्णय भएको छैन ।
पहुँच भएका विद्यार्थीलाई अनलाइन कक्षामार्फत सिकाइ भइरहेको छ भने पहुँच नभएका विद्यार्थीलाई विद्यालयमा नै सिकाइ केन्द्र मानेर सुरक्षा मापदण्ड अपनाएर सिफ्टगतरूपमा कक्षा सञ्चालन गरिएको शर्माले बताउनुभयो । शुक्लागण्डकी नगरपालिकाका ग्रामीण क्षेत्रका विद्यालयमा भने विद्यालयमै कक्षा सञ्चालन भइसकेको उहाँले बताउनुभयो । व्यास नगरपालिकामा भने आइतबारबाट संक्रमणको जोखिमबाट बच्न सुरक्षा मापदण्ड अपनाउँदै कक्षा सञ्चालन गरिएको छ ।
शुक्लागण्डकी नगरपालिकाको दुलेगौंडास्थित पञ्चमुनिदेव माध्यमिक विद्यालयले अनलाइन कक्षासँगै ‘होम स्कुलिङ’ अभियान चलाएको छ । कोरोनाका कारण विद्यालय सञ्चालनमा समस्या भएपछि विद्यार्थीको सिकाइलाई सहज बनाउने उद्देश्यले होम स्कुलिङ अभियान सञ्चालन गरिएको विद्यालयका शिक्षक लक्ष्मण पुरीले जानकारी दिनुभयो ।
लामो समयको लकडाउनमा पनि अनलाइन कक्षा सञ्चालन गर्दै आएको पुरीले बताउनुभयो । ‘इन्टरनेटको पहुँचमा भएका विद्यार्थीका लागि अनलाइनमार्फत कुनै कक्षाका पूरै त कुनै कक्षाका आधा जति विद्यार्थी जोडिनुभयो। अनलाइन कक्षामा सबै विद्यार्थी जोड्न नसकेपछि ती विद्यार्थीका लागि केन्द्र तोकर सिकाइ सहजीकरण गरिएको हो, उहाँहरूका लागि टोलटोलमा शिक्षकहरू गएर सिकाइ सहजीकरण गर्ने उद्देश्यले होम स्कुलिङ अभियान सञ्चालन गरेका छौं।’ –पुरीले भन्नुभयो ।
सहज अवस्था नरहेकाले ८ वटा समूह बनाएर विद्यालय सेवा क्षेत्रका सामुदायिक भवन, पाटीपौवा, चौतारालगायतका स्थानमा विद्यार्थीलाई भेला गराई २÷३ घण्टा सिकाइ सहजीकरणका कार्यक्रम सञ्चालन गरिएको छ । यसरी टोल वा विद्यालयमा सुरक्षा मापदण्ड अपनाएर कक्षा सञ्चालन गर्दा विद्यार्थी र अभिभावकसमेत उत्साहित भएका छन् ।
जिल्लाका विद्यालयले छात्रा तथा लक्षित वर्गका विद्यार्थीलाई पनि यही अभियानमा छात्रवृत्ति वितरण, वितरण गरिएका स्वाध्ययनका सामग्रीको प्रभावकारीताको मूल्यांकन, पाठ्यपुस्तक वितरणलगायतका कार्यक्रमसमेत सञ्चालन गरिएको शिक्षा विकास तथा समन्वय इकाइ तनहुँले जनाएको छ । विभिन्न ठाउँका सामुदायिक विद्यालयले टोल–टोलमै पुगेर विद्यार्थी पढाउन थालेका छन् ।
शुक्लागण्डकी नगरपालिका–९ स्थित तालबेशी माध्यमिक विद्यालयले पनि टोल–टोलमा पुगेर विद्यार्थी पढाउन सिकाइ केन्द्र स्थापना गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको विद्यार्थी सिकाइ सहजीकरण निर्देशिकाअनुसार विद्यार्थीमा पठनपाठनप्रति उत्प्रेरणा जगाउन निर्देश भएसँगै विद्यालयले वडाभित्रका विभिन्न टोलमा सिकाइ केन्द्र स्थापना गरेको हो ।
वडा शिक्षा समितिका संयोजक, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, सम्पूर्ण टोल विकास संस्थाका अध्यक्ष र शिक्षकहरूको संयुक्त बैठकले कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई संख्याको आधारमा पायक पर्ने ठाउँमा केन्द्र स्थापना गर्ने निर्णय गरिएको नगर शिक्षा शाखाले जनाएको छ ।
तोकिएका सिकाइ केन्द्रहरूमा कक्षा एकदेखि पाँचसम्मका विद्यार्थीलाई पठनपाठन गराउँदै आएको छ । कक्षा ६ देखि ८ सम्मका अंग्रेजी माध्यमका र कक्षा ८ देखि १० सम्मका विद्यार्थीलाई पढाउन चारवटा भवन प्रयोग गरिएको छ । विद्यालयले अनलाइन माध्यमबाट कक्षा ११ र १२ को कक्षा सञ्चालन गरिरहेका छन् ।
त्यस्तै म्याग्दे गाउँपालिकाको पसले आधारभूत विद्यालयले पनि टोलमै पुगेर विद्यार्थी पढाउन थालिएको छ । विद्यार्थीलाई सिकाइ सहजीकरण गर्ने उद्देश्यले विद्यालयले टोलटोलमै पुगेर विद्यार्थीलाई पढाउन थालेको हो । विद्यार्थीलाई पढाउनका लागि पसलेका तीनवटा ठाउँमा कक्षा सञ्चालन गरिएको विद्यालयले जनाएको छ ।
व्यास नगरपालिकाका शैक्षिक संस्था सुचारु
करिब ६ महिनादेखि बन्द रहेका व्यास नगरपालिकाका शैक्षिक संस्थाहरू सुचारु भएका छन् । नगरपालिकाको गत असोज ७ गतेको निर्णयानुसार आइतबारबाट सामुदायिक र निजी विद्यालयले पठनपाठन सुचारु गरेका हुन् ।
नगरपालिका क्षेत्रका सामुदायिक र संस्थागत विद्यालयहरूले नगरपालिकाबाट जारी गरिएको निर्देशिकाबमोजिम स्वास्थ्य सुरक्षा मापदण्ड अवलम्बन गर्दै विद्यालय सञ्चालन गरेका छन् । विद्यालयहरूले सिफ्टमा कक्षा सञ्चालन गरेका छन् ।
व्यास नगरपालिका–१ हाइस्कुलटारस्थित निर्मल माध्यमिक विद्यालयले दुई सिफ्टमा कक्षा सञ्चालन शुरू गरेको छ । प्रविधिको पहुँचमा भएका विद्यार्थीलाई अनलाइन माध्यमबाट सिकाइ सहजीकरण भइरहेको विद्यालयका प्रधानाध्यापक गणेशचन्द्र बस्नेतले बताउनुभयो ।
‘प्रविधिको पहुँचमा नभएका विद्यार्थीका लागि पनि टोलटोलमा कक्षा सञ्चालन गर्ने तयारीमा थियौं, नगरपालिकाले कक्षा सञ्चालन गर्न सकिने निर्णय गरेपछि सहज भएको छ’, प्रअ बस्नेत भन्नुहुन्छ– ‘बिहान १० देखि १ बजेसम्म कक्षा १ देखि ६ सम्म र दिउँसो १ः३० बजेदेखि ४ बजेसम्म कक्षा ७ देखि १० सम्मका विद्यार्थीहरूको लागि कक्षा सञ्चालन गरिएको छ ।’
व्यास–२ दमौलीस्थित सत्यवती माध्यमिक विद्यालयले पनि दुई सिफ्टमा कक्षा सञ्चालन गरेको छ । अनलाइन कक्षा सञ्चालन गर्दै आएको सत्यवतीले अनलाइन कक्षा सहभागी हुन नसक्ने विद्यार्थीलाई विद्यालयमा बोलाएर दुई सिफ्टमा कक्षा सञ्चालन गरिएको प्रधानाध्यापक इन्द्रप्रसाद पौडेलले बताउनुभयो ।
‘जोखिम अवस्थामा हामीले अनलाइन कक्षालाई नै बढी प्राथमिकता दिनेछौं’, प्रअ पौडेलले भन्नुभयो– ‘अनलाइनमा सहज पहुँच नभएका तर, घरमा ल्यापटप, कम्प्युटर तथा मोबाइल उपलब्ध भएमा नेपाल टेलिकमले विद्यार्थी र शिक्षकलाई उपलब्ध गराएको इन्टरनेटका लागि डाटा सुविधालाई उपयोग गर्दै सकेसम्म अनलाइनबाटै सिकाउने कार्यक्रमलाई निरन्तरता दिन लागेका छौं, स्वास्थ्य सुरक्षालाई पालना गर्दै विद्यार्थीको सिकाइलाई निरन्तरता दिने हाम्रो प्रयास हो ।’ साबुन पानीले हातधुने, स्यानिटाइजर, मास्कलगायतका स्वास्थ्य सामग्री विद्यालयले खरिद गरी तयारी अवस्थामा राखेको विद्यालयले जनाएको छ ।
त्यस्तै, नगर क्षेत्र भित्रको निजी विद्यालयहरूले पनि आवश्यक स्वास्थ्य सावधानी अपनाउँदै विद्यालय पठनपाठन थालेका छन् । व्यास–१ भादगाउँस्थित दमौली पब्लिक इंलिस स्कुलका प्रिन्सिपल सन्त तामाङले विद्यार्थीको तापक्रम नाप्नेदेखि साबुनपानीले हात धुने, स्यानिटाइटर तथा मास्कको प्रयोग गर्नेलगायतका मापदण्डसहित दुई सिफ्टमा कक्षा सञ्चालन गरिएको बताउनुभयो ।
स्यानिटाइजर र साबुनपानीले हात धुने, मास्क प्रयोग गर्ने र सामाजिक दूरी कायम गरी पढाइ शुरु गरिएको तामाङले बताउनुभयो । बिहान ६ बजेदेखि ११ बजेसम्म कक्षा ६ देखि १० सम्म र ११ देखि ३ बजेसम्म नर्सरीदेखि कक्षा ५ सम्मका विद्यार्थीको पठनपाठन गरिएको छ ।
प्रतिक्रिया