राष्ट्रपतिद्वारा तीन अध्यादेश जारी

0
Shares

काठमाडौं, (नेस)

राष्ट्रपति विद्यादेवी भण्डारीले तेजाब (एसिड)लगायत तीन अध्यादेश जारी गर्नुभएको छ । उहाँले संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा तेजाबलगायतका तीन अध्यादेश जारी गर्नुभएको हो ।

राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालका अनुसार तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७७, फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७७ र नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७७ जारी भएको हो ।

सरकारले एसिड आक्रमणका दोषीलाई कारबाही गर्न र पीडितको सम्पूर्ण उपचार, शिक्षा र जीविकाको प्रबन्ध गर्ने गरी कानुनी व्यवस्था गर्न अध्यादेश ल्याएको थियो । एसिड छ्याप्ने दोषीलाई २० वर्ष जेल सजाय र पीडितलाई पीडकबाटै मनासिब क्षतिपूर्तिको कडा व्यवस्थासहित सरकारले अध्यादेश ल्याएको छ ।

मुलुकी अपराध संहितामा एसिड छ्याप्नेविरुद्ध कारबाहीको व्यवस्था रहे पनि अपर्याप्त भएको भन्दै संशोधनसहित कडा सजाय तोकेर नयाँ कानुन ल्याइएको कानुन न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाम्फेले बताउनुभयो ।

अध्यादेशले एसिड प्रहारबाट अंगभंग भए क्षतिको मात्राअनुसार अपराधी १० देखि २० वर्षसम्म कैदमा बस्नुपर्ने व्यवस्था गरेको छ । पीडितको मृत्यु भए सर्वस्वसहित जन्मकैदको सजाय र पीडितलाई क्षतिपूर्ति बेहोनुपर्नेछ । अंगभंग गर्ने मनसायले आक्रमण प्रयास गरे पनि १० वर्षसम्म कैद सजाय हुनेछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड आक्रमणमा परेका पीडितसँग छलफलका क्रममा दोषीलाई कडा प्रावधानसहित चाँडै नयाँ कानुन ल्याउने प्रतिबद्धता जनाउनुभएको थियो । गत भदौ २५ गते प्रधानमन्त्री ओली दुई साताभित्र अध्यादेशको मस्यौदा तयार पारेर मन्त्रिपरिषद्को बैठकमा पेस गर्न कानुन मन्त्रीलाई निर्देशन दिनुभएको थियो ।

मुलुकी अपराध संहिता ऐनमा एसिड प्रहारबाट कसैको मृत्यु भए जन्मकैद, घाइते एवं अंगभंग भए ८ वर्षसम्म कैदको व्यवस्था छ । नयाँ व्यवस्थाअनुसार एसिड प्रहारसम्बन्धी कसुरमा दोषीउपर ज्यान मार्ने उद्योगअन्तर्गत सजायको किटानसमेत गरिएको छ । सरकारले हरेक वर्ष सेप्टेम्बर १० (भदौ २५)लाई एसिड आक्रमणविरुद्धको जागरण दिवस मनाउने निर्णय पनि गरिसकेको छ ।