आन्तरिक किचलोमा कांग्रेसः देउवालाई २७ भाइको विरोधपत्र

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेको छ । पार्टीभित्रको आन्तरिक किचलो विरोधपत्र बुझाउने अवस्थासम्म पुगेको हो ।

१४औं महाधिवेशनको मिति घोषणा गरेसँगै कांग्रेसभित्र विवाद पनि बढ्दै गएको छ । पार्टी सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल पक्षबीचको विवाद सतहमा आएको छ । नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादवसहितका २७ केन्द्रीय सदस्यले सोमबार सभापति शेरबहादुर देउवालाई विरोधपत्र बुझाएका छन् ।

पार्टीलाई विधिसम्मत चलाउन बारम्बार माग गरे पनि सभापति देउवाले कुनै सुनुवाइ नगरी धमाधम निर्णय गरेर अगाडि बढेको भन्दै पार्टी केन्द्रीय कार्यालय सानेपामा पुगेर नेताहरूले देउवालाई हस्तान्तरण गर्ने गरी विरोधपत्र दर्ता गराएका छन् । पार्टी विधानसम्मत सञ्चालन गरी १४औं महाधिवेशन स्वच्छ र निष्पक्ष ढंगले गर्न विरोधपत्रमा माग गरिएको छ ।

सभापति देउवाको चारवर्षे कार्यकाल सकिएपछि विशेष परिस्थितिअनुसार एक वर्ष कार्यकाल थपिएको छ । आगामी महाधिवेशनमा आफ्नो पक्षमा बहुमत पु¥याउन सभापति देउवाले एकलौटी ढंगले विभागहरूलाई पूर्णता दिने काम गरेपछि पछिल्लो समयमा पौडेप पक्ष निकै रुष्ट रहँदै आएको छ ।

विरोध पत्रमा भनिएको छ– ‘महाधिवेशनको औपचारिक प्रक्रिया शुरू भएपछि पार्टीको नेतृत्वबाट विधिविहीन, अराजकता, आपसी अविश्वास, द्वन्द्व, पक्ष–विपक्षका रूपमा धु्रवीकृत गतिविधि भएको छ, यस्तो पक्षपात पूर्ण ढंगबाट महाधिवेशन गर्न खोज्नुले कब्जा गर्ने नियत देखिएको छ ।’

महाधिवेशनको मिति तोकिसकेपछि पार्टीका विभाग एवं अन्य संरचनामा विभिन्न नियुक्ति गर्नु वैधानिक व्यवस्था र महाधिवेशनको आचारसंहिताको ठाडो उल्लंघन भएको पनि विरोध पत्रमा उल्लेख गरिएको छ । पौडेल समूहले आफूहरूले उठाएका माग सम्बोधन गर्न देउवालाई एक साताको अल्टिमेटमसमेत दिएको छ । माग सम्बोधन नभए नेतृत्वविरुद्ध विरोध कार्यक्रम तय गर्न बाध्य हुने चेतावनीसमेत दिइएको छ ।

पार्टीभित्रको आन्तरिक विवाद चुलिँदै गएपछि नेता कृष्णप्रसाद सिटौला भने विवाद समाधान गर्न दौडधुपमा जुट्नुभएको छ । विवाद सामाधान गर्न सिटौलाले सभापति देउवा र नेता पौडेलसँग छलफल गर्नुभएको छ । यसअघि पौडेललाई साथ दिने बताइए पनि सिटौला भने पार्टीभित्र मध्यमार्गीका रूपमा आफ्नो भूमिका खेल्न शुरू गर्नुभएको छ ।

विरोधपत्रमा हस्ताक्षर गर्ने नेताहरूमा नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्यहरू डा. रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी, महेश आचार्य, दिलबहादुर घर्ती, डा. मीनेन्द्र रिजाल, सुजाता कोइराला, दिलेन्दप्रसाद बडू, डा. शेखर कोइराला, दीपक गिरी, नवीन्द्रराज जोशी, डा. चन्द्र भण्डारी, कमला पन्त, धनराज गुरुङ, रत्न शेरचन, बद्रीप्रसाद पाण्डे, जीवन परियार, गुरुराज घिमिरे, कल्याणकुमार गुरुङ, रामकृष्ण यादव, हृदयराम थानी, किरण यादव र सरिता प्रसाईं रहेका छन् ।