प्रवेश परीक्षामा कोटा बढाउन माग गर्दै चिकित्सक आन्दोलित

0
Shares

पुष्कर बुढाथोकी, भक्तपुर

चिकित्सा शिक्षा आयोगले लिन लागेको चिकित्सा शिक्षाको स्नातकोत्तर तह प्रवेश परीक्षामा कोटा छुट्याउने क्रममा अन्याय भएको भन्दै गैरसरकारी क्षेत्रका चिकित्सक आन्दोलित भएका छन् ।

चिकित्सा शिक्षाको स्नातकोत्तर तहमा खुलातर्फको कोटा बढाउनुपर्नेलगायतका ५ बुँदे माग राख्दै उनीहरू आन्दोलित भएका हुन् । उनीहरू संशोधन गर्नुपर्ने मागसहित सोमबार आयोगको कार्यालय सानोठिमीमा धर्ना बसेका छन् । धर्नामा चिकित्सक संघका पदाधिकारीलगायत सय जना चिकित्सक सहभागी छन् ।

उनीहरूले हाल कायम गरिएको सिटको कोटालाई संशोधन गरी खुला प्रतियोगिताबाट ७० प्रतिशत, सरकारी सेवामा कार्यरत व्यक्तिबाट २० प्रतिशत र विदेशी विद्यार्थीबाट १० प्रतिशत गर्नुपर्ने, दुर्गम क्षेत्रमा काम गरेबापतको अंकभार व्यवस्थालाई खुला कोटामा समावेश नगर्न, चिकित्सा शिक्षा नियमावलीमा सरकारी चिकित्सकको परिभाषामा भएको व्यवस्था संशोधन गर्नुपर्नेलगायतका माग राखेका छन् ।

यसैबीच हिजो ज्ञापनपत्र बुझाउन पुगेका चिकित्सकमाथि हातपात भएको भन्दै नेपाल चिकित्सक संघले विज्ञप्ति जारी गरी त्यसको विरोध गरेको छ ।

माग बुझाउन गएका डाक्टरहरूलाई आयोगका उपाध्यक्षले तत्कालै संशोधनको सम्भावना नरहेको जानकारी दिएपछि उनीहरूले आयोगको कार्यालयमा ताला लगाउन खोजेका थिए । सो क्रममा प्रहरी आएपछि विवाद शुरू भएको र डाक्टरमाथि प्रहरीले हस्तक्षेप गर्दै हातपात गरेको डा. अमृत केसीले बताउनुभयो ।

ज्ञापनपत्र बुझाउन पुगेका विद्यार्थीहरूले प्रहरीले आक्रमण गर्दा डा. संजोग कँडेल, डा. रोशनी रेग्मी र डा. उत्सव कार्की घाइते भएको उहाँको भनाइ छ ।

‘चिकित्सा शिक्षा आयोगले बदनियतपूर्वक विभिन्न शक्तिकेन्द्रको आडमा सुधारको माग गर्दै शान्तिपूर्ण धर्नामा बसेका चिकित्सकमाथि प्रहरी लगाएर दमन गरेको छ।’ –डाक्टर अच्युत खनालको खनालले भन्नुभयो ।

उनीहरूले शान्तिपूर्ण धर्नाबाट माग पूरा नभए कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । सरकारले हालै सार्वजनिक गरेको चिकित्सा सेवा नियमावली र एकीकृत परीक्षाको सूचनाका केही बुँदामा निजी अस्पतालमा कार्यरत चिकित्सकहरूले आपत्ति जनाएका हुन् ।

उनीरुले केही बुदाँहरू पुनरावलोकन र परिमार्जन गर्न माग गरेका छन् । उनीहरूले सिट बाँडफाँडको विषयलाई मुख्य विषय बनाएका हुन् । खुला प्रतिस्पर्धामा देखिएको अस्वस्थ प्रतिस्पर्धा र म्याचिङको अस्पष्ट व्यवस्थाले चिकित्सा शिक्षा र विभेदकारी र अन्यायपूर्ण भएको उनीहरूको भनाइ छ ।

विभेदकारी बुँदाले देशका कुल चिकित्सकहरूको ९० प्रतिशत ओगट्ने गैरसरकरी र विभिन्न भूगोलमा अधिकतमरूपमा सेवा दिइरहेको करारका चिकित्सकहरूको वृत्ति विकासमा आँच आउने आन्दोलनमा सहभागीहरूले बताएका छन् । करिब दुई महिनाअगाडि आएको नियमावलीले २३ हजार ५ सय गैरसरकारी चिकित्सलाई विभेद गरेको आन्दोलनरत डाक्टर अच्युत खनालको आरोप छ ।

यता गैरसरकारी र विभिन्न भूगोलमा सेवा दिइरहेको करारका चिकित्सकहरूको मागका सम्बन्धमा मन्त्रालयसँग छलफल भइरहेको आयोगका उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरीले बताउनुभयो ।