पेरिस, (एजेन्सी)
चिसो मौसममा शुरू भएको ग्रान्डस्लाम टेनिस प्रतियोगिता फ्रेन्च ओपनमा भिक्टोरिया अजारेन्काले दोस्रो चरणमा स्थान बनाएकी छन् । अजारेन्काले पहिलो सेटमा २–१ को अग्रता लिँदा धेरै चिसो मौसम भएको भन्दै कोर्ट छाडेकी थिइन्। उनले ज्याकेट र लेगिज लगाएर खेलमा पुनरागमन गरिन्। त्यसपछि बेलारूसकी खेलाडीले मोन्टेनेग्रोकी डान्का कोभिनिचलाई ६–१, ६–२ ले हराएकी थिइन्।
हालै सम्पन्न अर्को ग्रान्डस्लाम टेनिस प्रतियोगिता यूएस ओपनमा फाइनल पुगेकी अजारेन्काले मौसम चुनौती भएको बताएकी छन्। उनले भनिन् ‘म खुसी छु कि मैले खेल सकाएँ। अब यो मौसमसँग हरेकले संघर्ष गरेको मैले हेर्न सक्छु।’
यस वर्षको पे्रmन्च ओपन ढिलो शुरू भएको हो। खासगरी, मे र जुनमा हुनुपर्ने सो प्रतियोगिता कोरोना भाइरसका कारण मिति सारिएको थियो। नियमित समय मे र जुनमा पेरिसमा मौसम त्यति चिसो हुँदैन। तर, सेप्टेम्बर र अक्टोबरमा पेरिस निकै चिसो हुने गर्छ । यसैले, खेलाडीका लागि यो क्ले कोर्टमा चिसो मौसम पहिलोपटक अनुभव गराइनेछ।
पहिलो सेटमा तीन गेम खेलेपछि अजारेन्काले सुपरभाइजरलाई जाडोले आफू जम्न (फ्रिज) लागेको बताएकी थिइन्। अजारेन्काले सुपर भाइजरलाई भनिन्– ‘म त यहाँ जम्न गइरहेकी छु। एक मिनेट पनि बस्न सक्दिनँ। किनभने, म चिसो भइसकेकी छु यहाँ ८ डिग्री सेल्सियस छ। म फ्लोरिडामा बस्छु मेरो तातो मौसममा बसेको बानी छ।’
अर्को महिला सिंगल्स खेलमा उपाधि दाबेदारी सिमोना हालेपले स्पेनकी सारा सोरिबेस टोर्नोलाई सहजै पन्छाइन्। रोमानियाकी हालेपले सो खेल ६–४, ६–० ले जितिन्। हालेपले कोरोना भाइरसका कारण न्युयोर्कमा सम्पन्न यूएस ओपनमा भने सहभागिता जनाएकी थिइनन्।











प्रतिक्रिया