नमुना दिएकै ठाउँबाट रिपोर्ट पाइने


काठमाडौं, (नेस)

सरकारले कोरोना परीक्षणको रिपोर्ट नमुना दिने स्वयम् व्यक्तिलाई दिने निर्णय गरेको छ ।
कतिपय व्यक्तिले नमुना संकलन गरेको महिना दिनसम्म पनि रिपोर्ट नपाएर नैराश्यता पलाउनुका साथै क्वारेन्टाइनबाट भाग्नेसम्मका अवस्था सृजना भएका थिए । कोरोनाको आरटीपीसीआर परीक्षण गरिएपछि त्यसको रिपोर्टको अवस्था थाहा पाउन लामो समय लाग्थ्यो ।

त्यो पनि नेगेटिभ आए थाहै नपाउने र पोजेटिभ आए केन्द्र सरकारको दैनिक मिडिया ब्रिफिङ र ल्याबबाट फोन गरेपछि मात्र थाहा हुन्थ्यो । पछिल्लो समय प्रदेश सरकार तथा अस्पतालबाट पनि सार्वजनिक हुँदै अहिले स्वयम् व्यक्तिले नमुना दिएकै ठाउँबाट पाउने व्यवस्था मिलाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले आइतबारको मिडिया ब्रिफिङमा जानकारी गराउनुभयो ।

विगतको झन्झटिलो प्रथाको अन्त्य गर्दै नेगेटिभ वा पोजेटिभ जुनसुकै रिपोर्ट आए पनि स्वाब संकलन गरेका र ल्याबमा परीक्षण गराएका संस्थाले सीधै सम्बन्धित व्यक्तिलाई नै रिपोर्ट दिनुपर्ने स्वास्थ्य मन्त्रालयबाट निर्णय गरिएको डा. गौतमले जानकारी गराउनुभयो ।

सरकारको यो निर्णयसँगै रिपोर्टका लागि अन्योलमा हुने परीक्षणवाला र संक्रमित भएकाहरुलाई केही समयमै जानकारी हुने भएको छ । आवश्यकताअनुसारको सुरक्षा अपनाउँदा थप व्यक्ति संक्रमित हुने र एकबाट अर्कोमा कोरोना संक्रमण फैलने सम्भावना न्यून हुनुका साथै संक्रमितले समयमै सावधानी अपनाई आफ्नो व्यवस्थापन गर्न सहज हुने भएको छ ।