डा. केसीको जीवन रक्षा गर्न माग


काठमाडौं, (नेस)
चिकित्सा शिक्षा क्षेत्र सुधारको माग राखी सत्याग्रहमा रहनुभएको डा. गोविन्द केसीको जीवन रक्षा गर्न अपिल गरिएको छ ।

प्राडा केसी विगत १४ दिनदेखि सत्याग्रहमा हुनुहुन्छ । उहाँको स्वास्थ्य अवस्था दिनप्रतिदिन गिर्दो छ । परीक्षणमा संलग्न चिकित्सकहरुले उहाँको शरीर कमजोर भएको छ र कुनै पनि दिन परिस्थिति गम्भीर बन्न सक्ने बताएका छन् ।

पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ, सुशीला कार्की, पूर्वसभामुख तथा मानव अधिकारकर्मी दमननाथ ढुंगाना, मानव अधिकारकर्मी कपिल श्रेष्ठ, पूर्वउपकुलपति त्रिभुवन विश्वविद्यालयका प्राडा केदारभक्त माथेमालगायत ३ दर्जनभन्दा बढी विभिन्न संघसंस्थाको नेतृत्व गर्दै आउनुभएका बौद्धिक व्यक्तित्वहरुले सामूहिकरुपमा आइतबार जारी गरेको विज्ञप्तिमा डा. केसीको जीवन रक्षा गर्न ध्यानाकर्षण गराइएको हो ।

विभिन्न सरकारका समयमा पटकपटक गरिएका सम्झौताको पूर्ण कार्यान्वयन नगरिँदा फेरि अनशन जस्तो कठोर बाटो अपनाउन बाध्य भएको डा. केसीले बताउँदै आउनुभएको छ ।

‘डा. केसीको गिर्दो स्वास्थ्य अवस्थालाई ख्याल गरी तत्कालै उहाँको जीवन रक्षा र उहाँले उठाएका मागहरु सम्बोधन गर्नका लागि सरकारसँग हामी हार्दिक अपील गर्दर्छौंंं।’ –

प्रजातान्त्रिक विचार समाज एवं नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष डा. केदारनरसिंह केसीले हस्ताक्षर गर्नुभएको विज्ञप्तिमा भनिएको छ ।

१४ दिनअघि जुम्लाको चन्दननाथ नगरपालिका–६ स्थित बाबिरा मष्ट मन्दिरबाट अनशन थाल्नुभएका डा. केसीको स्वास्थ्य अवस्था त्यहीं कमजोर बनेर असोज ६ गते काठमाडौं ल्याइएको तथ्य जान्दा जान्दै अर्को एक साता बित्दासम्म पनि सरकारले चासो नदिएकामा चिन्तित बनेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

संविधानले नै निर्दिष्ट गरेका स्वास्थ्य, शिक्षाजस्तो नागरिकका आधारभूत मानव अधिकारको विषय लागु गर्न एक जना वरिष्ठ चिकित्सक बारम्बार आमरण अनशनमा बस्नुपर्ने अवस्था हुनु दुःखद भएको बताउँदै संविधानले व्यवस्था गरेको मौलिक हकप्रति संवेदनशील हुन, डा. केसीसँग सरकारहरुले विगतमा पटक–पटक गरेका सम्झौता कार्यान्वयन गर्न र उहाँको जीवन रक्षा गर्न माग गरिएको छ ।