भीटीएम किट अभाव


भक्तपुर, (नेस)

भक्तपुरमा कोरोना भाइरस संक्रमण पत्ता लगाउन परीक्षणका लागि प्रयोग हुने भीटीएम किट अभाव भएको छ ।

स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्णबहादुर मिजारले नाक तथा घाँटीबाट स्वाब संकलन गर्न प्रयोग हुने पीसीआर किट भीटीएमको अभावमा कोरोना परीक्षण रोकिने अवस्थामा पुगेको जानकारी दिनुभयो । किट अभाव हुँदै गएपछि अहिले नगन्य अवस्थमा मात्रै स्वाब संकलन गर्ने गरेको बताउनुभयो ।

बागमती प्रदेश सरकारले पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्ने भीटीएम किट पठाउन ढिलाइ गरेको हो । उहाँले विगतमा दैनिक २ सयदेखि ३ सयसम्म शंकास्पद तथा कन्ट्याक टे«सिङमा आएका व्यक्तिको स्वाब संकलन गरेर पीसीआर परीक्षण गर्दै आएको बताउनुभयो ।

स्वास्थ्य कार्यालयले भीटीएम किट केही भक्तपुर अस्पताललाई, केही जिल्लाका अन्य अस्पताललाई र सूर्यविनायक नगरपालिका, भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिकालाई वितरण गरेको बताउँदै उहाँले अब किट दिन सक्ने अवस्थामा कार्यालय नभएको प्रमुख मिजारले बताउनुभयो ।

पीसीआर परीक्षणका लागि स्वाब संकलनमा समस्या आए कोरोना महामारी फैलिने जोेखिम बढ्ने उहाँको भनाइ छ । कोरोना हब अस्पतालका रुपमा रहेको भक्तपुर जिल्ला अस्पतालमा पनि किट अभाव भएको अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट डा. सुमित्रा गौतमले जानकारी दिनुभयो ।

उहाँले स्वास्थ्य कार्यालय भक्तपुरले कोरोना हब अस्पतालको रुपमा रहेको भक्तपुर अस्पताललाई किटलगायतका अन्य स्वास्थ्य सामग्री पर्याप्त मात्रामा नदिएको बताउनुभयो ।

अस्पताल आफैले किट र अन्य स्वास्थ्य सामग्री खरिद गर्दै आएको उहाँले बताउनुभयो । केही दिनअगाडि मात्रै २ सय थान किट अस्पतालले खरिद गरेको बताउँदै उहाँले अरु किट पनि खरिद गर्ने तयारी गरेको बताउनुभयो ।

उहाँले विगतमा एकै दिन २ सय ५० जनासम्मको स्वाब संकलन गरेकोमा अहिले भने सरकारले लक्षण नदेखिएकाको परीक्षण नगर्ने भनेपछि अत्यावश्यकको मात्र पीसीआर गरिएको जानकारी दिनुभयो ।

मध्यपुरथिमि नगरपालिकाले भने केही दिनअघि मात्रै ४० लाख बराबरको भीटीएम किट खरिद गरेको छ ।

नगरपालिकाद्वारा सञ्चालिन नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालले आफ्नै ल्याबमा पीसीआर परीक्षण गर्दै आएकोले आवश्यक किट आफैले खरिद गरेको अस्पतालका अध्यक्ष एवं नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले बताउनुभयो ।