सुनकोसीमा धमाधम मर्न थाले किसानका बाख्रा


नानीराम नेपाल

सिनधुपाल्चोक । सुनकोसी गाउँपालिका ७ मा धमाधम किसानका बाख्रा मर्न थालेका छन् । धमाधम बाख्रा मरेर खोर नै रित्तिन थालेपछि पात्ले, कापिङ र आसपासका किसान चिन्तित बनेका छन् ।

पछिल्लो दुई साताकाबीच ५० भन्दा बढि बाख्रा मरिसकेको र बाख्रा मर्ने क्रम नरोकीएको स्थानीय सानु तिमल्सिनाले बताउनुभयो । कतिपयको त खोर नै रित्तिएको छ, धमाधम बाख्रा मरिरहेको छ’, तिमल्सिनाले भन्नुभयो, –‘गाउँपालिकालाई यसबारे सुनाउँदा कुनै चासो नै दिएन ।’ पीपीआर रोगको सुई माग गर्दा गाउँपालिकाले पठाउन नसकेको उहाँले सुनाउँनुभयो ।

पछिल्लो दुई सातामा कापिङमा स्थानीय सिताराम तिमल्सिना, हरि तिमल्सिना, अर्जुन तिमल्सिना र अनिता तिमल्सिना र अन्यको गरि ४० बढि बाख्रा मरेको छ । ‘मेरो आफ्नै खोरका ९ वटा बाख्रा मरिसकेको छ’, सानु तिमल्सिनाले भन्नुभयो ।

स्थानीयका बाख्रा मरिरहँदा गाउँपालिकाले ब्यक्ती छानेर उनहिरुका केहि ब्यक्तिका खोरमा मात्र औषधी लिएर पुगेको पात्लेका स्थानीय बताउँछन् ।‘धमाधम बाख्रा मरिरहेका बेला गाउँपालिकाले औषधी उपचारमै विभेद ग¥यो’, पात्लेका स्थानी हरि तिमल्सिनाले भन्नुभयो ।

स्थानीयले पशु चिकित्शक पठाइदिन पटक पटक आग्रह गरेपछि सुनकोसी गाउँपालिकाले बनेपाबाट २ जना चिकित्शक झिकाएर रोग परीक्षणका लागी पात्ले, कापिङ क्षेत्रमा पठायो । परिक्षण गर्दा रोग पहिचान नभएको र पीपीआरसँग मिल्दो लक्षण देखिएको सुनकोसी गाउँपालिका पशु सेवा शाखाका रामचन्द्र जिसीले बताउँनुभयो ।

‘पीपीआरको औषधी चलाउँदा केहि बाख्रा ठीक भएका थिए, तर रोगको पहिचान नै भएको चैँ छैन’, जिसीले भने ।