कोरोनाविरुद्ध स्थानीय तहले खर्चे नौ करोड


नेपाल समाचारपत्र, सिन्धुली

सिन्धुलीका स्थानीय तहले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि झन्डै ९ करोड रुपियाँ खर्च गरेका छन् । जिल्लामा रहेका दुई नगरपालिका र सात गाउँपालिकाले ८ करोड ८२ लाख ८० हजार ८ सय १७ रुपियाँ ४१ पैसा खर्च गरेको पाइएको हो ।

सिन्धुलीको कमलामाई नगरपालिकाले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सवा २ करोड भन्दाबढी रकम खर्च गरेको छ । कोरोना भाइरसको महामारी शुरु भएदेखि गत भदौ ११ गतेसम्ममा नगरपालिकाले २ करोड १४ लाख ४१ हजार ३ सय ३५ रुपियाँ ३५ पैसा खर्च गरेको कमलामाई नगरपालिकाका प्रमुख खड्गबहादुर खत्रीले बतानुभयो ।

दुधौली नगरपालिकाले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि १ करोड ६७ लाख १ हजार ४ सय ६७ रुपियाँ खर्च गरेको नगरपालिका प्रमुख घनश्याम राउतले जानकारी दिनुभयो । उहाँका अनुसार यो गत असार मसान्त सम्मको खर्च हो । मरिण गाउँपालिकाले पनि गत असार मसान्तसम्ममा ९६ लाख ५० हजार ८ सय ६६ रुपियाँ खर्च गरेको जगाउँपालिका अध्यक्ष कर्णबहादुर थापामगर बताउनुहुन्छ ।

फिक्कल गाउँपालिकाले कोरोना रोकथाम शीर्षकमा ६८ लाख ७५ हजार रुपियाँ खर्च गरेको प्रमुख प्रशासकीय अधिकृत रामकुमार कार्कीले उल्लेख गर्नुभयो ।

हरिहरपुरगढी गाउँपालिकाले ६१ लाख ६९ हजार ६ सय ७९ रुपियाँ, सुनकोसी गाउँपालिकाले १३ लाख ४१ हजार ५४ र गोलन्जोर गाउँपालिकाले ७६ लाख ९४ हजार ६९ रुपियाँ खर्च गरेको जनाएका छन् । हरिहरपुरगढी र गोलन्जोर गाउँपालिकाले राहत र स्वास्थ्य सुरक्षा भत्तामा सबै भन्दाबढी खर्च गरेका छन् ।

माहामारी शुरू भएदेखि आरडीटी तथा पीसीआर टेस्ट, उपचार, क्वारेन्टाइन तथा आइसोलेसन निर्माण तथा व्यवस्थापन, राहत वितरण, स्वास्थ्य सुरक्षा सामग्री तथा औषधि खरिद, जोखिम भक्तालगायत विभिन्न शीर्षकमा उक्त रकम खर्च भएको जिल्लाका स्थानीय तहहरूले बताएका छन् ।