कैदीमा संक्रमण देखिएपछि कारागारभित्रै आइसोलेसन


नेपाल समाचारपत्र, भद्रपुर

कैदीमा सङ्क्रमण देखिएपछि कारागारभित्रै दुई सय क्षमताको आइसोलेसन बनाउन थालिएको छ । झापा कारागारका आठ जना कैदीबन्दीलाई शुक्रबार कोरोना सङ्क्रमण देखिएपछि कारागार प्रशासनले आइसोलेसन बनाउने तयारी थालेको हो ।

कारागारको छतमाथि कोरोना सङ्क्रमित कैदीहरूलाई राख्नका लागि आइसोलेसन बनाउन थालिएको कारागार प्रमुख राजेन्द्र गौतमले बताउनुभयो । २ सय जना अट्ने आइसोलेसन निर्माण गरिने उहाँको कथन छ । कारागार प्रमुख गौतमले कैदीबन्दीमा कोरोनासँगै केही मौसमी ज्वरो फैलिएको पनि बताउनुभयो ।

झापा कारागारमा रहेका ७ कैदीसहित १० जनालाई सङ्क्रमण पुष्टि भएको थियो । असोज ५ गते कारागारका १७ जनाको पीसीआर परीक्षण गराउँदा १० जनामा सङ्क्रमण पुष्टि भएको भद्रपुर नगरपालिकाका क्वारेन्टाइन प्रमुख मनोज भट्टराईले बताउनुभयो ।

फैसला कार्यान्वयनका लागि कारागार ल्याउने क्रममा पीसीआर जाँच गर्दा यसअघि असोज ५ गते एक जना कैदीलाई सङ्क्रमण देखिएको थियो । शुक्रबार देखिएका सङ्क्रमितको उपचार भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालको कोभिड उपचार केन्द्रमा भइरहेको अस्पातालले जनाएको छ ।

कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी रहेका छन् । ३ सय ५० कैदीबन्दी क्षमता रहेको झापा कारागारमा हाल ८२ महिला र १ हजार ६१ पुरुष कैद भुक्तान गरिरहेका छन् । त्यस्तै, पुर्पक्षका लागि थुनामा राखिएकासमेत गरी ११ सय ४३ जना कैदीबन्दी रहेको कारागार प्रशासनले जनाएको छ । कारागारमा महिला विभाग भने छुट्टै रहेको छ ।

कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहेको र कोभिड–१९ को सङ्क्रमण भित्रभित्रै फैलिइरहेकाले सरकारले गम्भीर ध्यान दिनुपर्ने कैदीबन्दीहरूले माग राखेका छन् । आइसोलेसनका लागि नेपाल रेडक्रस सोसाइटी झापा शाखाले ५० थान त्रिपाल कारागारलाई प्रदान गरेको छ ।