हाइड्रोपावरको लापरबाहीले गुरुङ बस्ती जोखिममा


गणेश घिमिरे, इलाम
हाइड्रोपावरको बेवास्ताले गुरुङ बस्ती पहिरोको जोखिममा परेको छ । उत्तरी इलामको सन्दकपुर गाउँपालिका–४ माबुको गुरुङ बस्ती जोखिममा परेको हो ।

पञ्चकन्या हाइड्रोपावर प्रालिले प्रवद्र्धन गरेको अप्परमाई जलविद्युत् आयोजनाको पेनस्टक पाइप फुट्न थालेपछि माबुको सिंगो बस्ती नै पहिरोको जोखिममा परेको वडाध्यक्ष वर्तबहादुर गुरुङले बताउनुभयो ।
जलविद्युत् आयोजनाको पावर हाउससम्म ल्याइएको पाइप फुट्दा करिब १ सय मिटर भू–भाग भासिसकेको छ ।

‘माबुको साविक वडा नम्बर ४ र ९ का १ सय ४७ घर–परिवार पहिरोको उच्च जोखिममा परेको छ ।’ –वडाध्यक्ष गुरुङले भन्नुभयो । जमिन दैनिकरूपमा भासिँदै जाँदा दर्जन बढी विद्युत् पोल ढल्ने अवस्थामा पुगेका छन् ।

खोलाको पानी सुरुङमार्गसम्म पु¥याउन प्रयोग गरिएको पेनस्टक पाइप जोडिएको भागबाट पानी चुहिन थालेपछि सयौं रोपनी जमिन पहिरोको जोखिममा छ । जमिन भासिएर बस्ती नै जोखिममा परेपछि गाउँपालिका अध्यक्ष उदयबहादुर राईसहितको टोलीले सो क्षेत्रको अवलोकन गरेको थियो ।

अवलोकनपछि गाउँपालिका अध्यक्ष राईले उच्च जोखिममा परेका पाँच घर–परिवारलाई तत्काल सुरक्षित गर्नेबारे जिल्ला विपद् व्यवस्थापन समितिसँग छलफल गरेको बताउनुभयो । यस विषयमा प्रमुख जिल्ला अधिकारीलाई पनि जानकारी गराइसकेको उहाँको कथन छ । यदि पेनस्टक पाइप पूरै फुटेको खण्डमा ठूलो दुर्घटना हुन सक्ने भन्दै स्थानीयहरू आत्तिएका छन् ।

यस विषयमा आयोजनालाई वडा तथा गाउँपालिकाले जानकारी गराए पनि समस्या समाधानका लागि चासो नगरेको वडाध्यक्ष गुरुङले बताउनुभयो । आयोजनालाई तत्काल पानी बन्द गरेर मर्मत सम्भार गर्नका लागि आग्रह गरे पनि चासो नदिएको उहाँको भनाइ छ ।

प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाईंले जोखिमबाट स्थानीयलाई जोगाउने र जलविद्युत् आयोजनाको प्राविधिक रिपोर्टसमेत अध्ययन गर्ने बताउनुभयो । आयोजनाको प्राविधिक टोलीले गत साउन महिनामा आयोजना स्थलको अध्ययन अवलोकन गरेको थियो ।

अध्ययन अवलोकन गरेर काठमाडौं फर्किएको टोलीले प्रतिवेदन बुझाउन ढिलाइ गरेको पाइएको छ । अध्ययनका लागि आएकाहरूमा कोरोना संक्रमण भेटिएपछि टोलीले प्रतिवेदन बुझाउन नसकेको र प्रतिवेदन प्राप्त भएपछि त्यही प्रतिवेदनको आधारमा काम गर्ने आयोजनाले जनाएको छ ।