पहिरोपीडितलाई नगरको सहयोग


नेपाल समाचारपत्र, स्याङ्जा

वालिङ नगरपालिकाले पहिरोपीडितलाई सहयोग गर्ने भएको छ । पहिरोका कारण ज्यान गुमाएका वालिङ–१४ तमादीका ९ जनाको दाह–संस्कारमा लागेको खर्च र घाइतेको सम्पूर्ण उपचार खर्च वालिङ नगरपालिकाले बेहोर्ने निर्णय गरेको हो ।

नगरप्रमुख दिलीपप्रताप खाँणको अध्यक्षतामा शुक्रबार बसेको ५८औं कार्यपालिका बैठकले दाह–संस्कारका क्रममा भएको खर्च र उपचाररत मनिषा नेपालीको सम्पूर्ण उपचार खर्च नगरपालिकाले बेहोर्ने निर्णय भएको नगर प्रवक्ता केदार काफ्लेले बताउनुभयो । प्रवक्ता काफ्लेका अनुसार प्राकृतिक विपत्तिबाट धनजनको क्षति भई राहतका लागि माग भएको खण्डमा प्राविधिकसहितको वडा समितिको निर्णय तथा सिफारिसका आधारमा राहत रकम उपलब्ध गराउने निर्णय भएको छ ।

विपदको घटनामा परी कुनै व्यक्तिको मृत्यु भएमा प्रतिमृतक रु. १० हजार परिवारलाई उपलब्ध गराउने, घर पूर्णरूपमा क्षति भएमा रु. १० हजार, खाद्यान्न बाली, जग्गा–जमिन नष्ट भएमा रु. ५ हजार, घर आंशिकरूपमा क्षति भएमा रु. ७ हजार, गोठ नष्ट भएमा रु. ५ हजार, घटनामा परी घाइते हुनेलाई उपचारका लागि अस्पताल जान–आउन यातायात खर्चबापत रु. ३ हजार र विपदका कारण दुहुनो गाईभैंसी मरेमा प्रतिपशु रु. ८ हजार र दूध दिन योग्य गाई भैंसी भएमा रु. ५ हजार, खसी बोका र माउ बाख्रा भएमा रु. ३ हजार राहत रकम उपलब्ध गराउने निर्णय भएको प्रवक्ता काफ्लेको कथन छ ।

त्यस्तै गरी, वालिङ नगरपालिकामा असोज ११ गतेदेखि डिजिटल प्रणाली सञ्चालनको शुभारम्भ गर्ने, घरनक्सा नवीकरण दस्तुर, जरिवाना र भूकम्प लाभग्राहीहरूले घर निर्माणका लागि नक्सा पासका लागि लाग्ने राजस्वको विषयमा राजस्व परामर्श समितिबाट सिफारिस भई आएअनुसार नै नवीकरण दस्तुर, जरीवाना र नक्सापासका लागि लाग्ने राजस्व रकम लिने निर्णय भएको प्रवक्ता काफ्लेले बताउनुभयो ।

नगरपालिकामा करारमा नियुक्ति भएका सबै किसिमका कर्मचारीको आगामी २०७८ असार मसान्तसम्म करार नवीकरण थप गरिएकोसमेत नगर प्रमुख खाँणले बताउनुभयो ।