विभिन्न घटनामा ५ जनाको मृत्यु


न्युज अफ नेपाल, हेटौंडा ।

मकवानपुरमा शनिबार भएका विभिन्न दुर्घटनामा ५ जनाको ज्यान गएको छ । विभिन्न स्थानमा खोलाले बगाउँदा तीन जनाको ज्यान गएकोे हो ।

हेटौंडा–१९, भीमफेदी गाउँपालिका–१, त्रिखण्डी र कैलाश गाउँपालिकाको चौकीटारमा एक÷एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

साँझ हेटौंडा–१९ स्थित ज्यामिरे खोलाले बगाउँदा ४५ वर्षीया पुतलीमाया घलानको मृत्यु भएको छ । हेटौंडा–१९, ज्यामिरेस्थित माइतबाट हेटौंडा–१९ कै कालिकाटारस्थित घर फर्कने क्रममा साँझ ६ बजे सम्पर्कबिहीन भएकी घलानको शव ज्यामिरे खोला किनारमा फेला परेको प्रहरीले जनाएको छ ।

शनिबार दिउँसो साढे २ बजे भैंसेस्थित त्रिखण्डेश्वर महादेव मन्दिर भ्रमणका लागि आएकी पर्सा जिल्ला बीरगंज महानगरपालिका–९ की १७ वर्षीया प्रियंका साहको त्रिखण्डी खोलाले बगाउँदा मृत्यु भएको छ ।

सपरिवारसहित प्रियंका नुहाउन लाग्दा खोलाले बगाएको प्रहरीले जनाएको छ । उनलाई सुरक्षाकर्मी र स्थानीयले उद्धार प्रयास गरे पनि बचाउन सकेनन् ।

कैलाश गाउँपालिका–५ स्थित गोगनेमा चौकीटार खोलाले बगाउँदा स्थानीय ३८ वर्षका धावा स्याङ्तानको मृत्यु भएको छ । उनी ५ नम्बर वडा कार्यालय गोगनेबाट घर फर्कने क्रममा बेलुका खोला तर्न खोज्दा बगाएर मृत्यु भएको हो । खोलाले बगाएर स्याङ्तानलाई बिमिरे खोलासम्म पु¥याएको थियो । खेतमा धान गोडेर फर्कँदै गर्दा उनलाई खोलाले बगाएर करिब ३ किलोमिटर तल पु¥याएको थियो ।

कान्तिलोकपथ सडकखण्डमा मकवानपुरगढी गाउँपालिका वडा नम्बर–२, मकवानपुरगढी दरबारनजिक भएको दुर्घटनामा मोटरसाइकलमा बसेका मकवानपुरगढी गाउँपालिका वडा नम्बर–३, धमिले निवासी ४६ वर्षीय भरत पुडासैनीको ज्यान गएको छ । मोटरसाइकलचालक मकवानपुरगढी–३, मक्रान्चुलीका ४१ वर्षीय कुमार पराजुली घाइते भएका छन् । गढी दरबार घुरेर शिखरकटेरीतर्फ फर्कने क्रममा ना. ३९ प ९५४२ नम्बर मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको हो ।

मनहरी गाउँपालिका वडा–९, खरंगामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएकी छन् । हेटौंडाबाट मनहरी जाँदै गरेको ना. ४३ प ७२ नम्बर मोटरसाइकलाई विपरीत दिशाबाट आउँदै गरेको ना. ५ ख ४६५२ नम्बर ट्रकले ठक्कर दिँदा मोटरसाइकलचालक बाराको रतनपुर बस्ने सूर्य स्याङ्तानको ज्यान गएको छ भने मोटरसाइकलमा पछाडि बसेकी १८ वर्षीया विनिता स्याङ्तान गम्भीर घाइते भएकी छन् ।