लुम्स बगरमा बन्यो मुगुकै पहिलो बेलिब्रिज


मुगु, (नेस)

लामो समयदेखि खोला तर्दै आएका मुगु जिल्ला छायानाथ रारा नगरपालिकाबासी र मुगमकामारोङ गाउँपालिकाका स्थानीयमा छायानाथ रारा नगरपालिका–११ लुम्स बगरमा बेलिब्रिज पुल बनेपछि निकै खुसी छाएको छ । यो जिल्लाकै पहिलो बेलिब्रिज हो । पुल बनेपछि स्थानीयबासीमा विकासको आशा पनि पलाएको छ ।

विगतका वर्षमा दैनिक कामकाज गर्न, बालबालिका पठनपाठन गर्नका लागि यही खोला तर्नुपर्ने हुन्थ्यो । प्रत्येक वर्ष लुम्स खोला तर्दा २÷३ जना स्थानीयले ज्यान गुमाउँदै आएका थिए । पुल बन्दा व्यवसायमा पनि सहज आएको स्थानीय तीर्थ रोकाया बताउनुहुन्छ ।

स्थानीय पूर्वधार विकास साझेदारी कार्यक्रम र मुगमकामारोङ गाउँपालिकाको १ करोड ३० लाख आर्थिक सहयोगमा निर्माण भएको लुम्स बेलिब्रिज पुलको लम्बाइ ३० मिटर रहेको छ । यो पुल बन्दा छायानाथ रारा नगरपालिका र मुगमकामारोङ गाउँपालिकाका स्थानीय प्रभावित भएका मुगमकामारोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तीर्थराज शाही बताउनुहुन्छ ।