पहिरो पिडितलाई नगरको सहयोग

0
Shares

अमृत अर्याल, स्याङजा ।

अविरल वर्षासँगै आएको पहिरोका कारण ज्यान गुमाएका वालिङ १४ तमादीका ९ जनाको दाहसंस्कारमा लागेको खर्च र घाईतेको सम्पूर्ण उपचार खर्च वालिङ नगरपालिकाले बेहोर्ने निर्णय भएको छ ।

सामूहिक दाहसंस्कार तथा उपचाररत घाईतेको सम्पूर्ण उपचार खर्च वालिङ नगरपालिकाले बेहोर्ने भएको हो । नगरप्रमुख दिलीपप्रताप खाँणको अध्यक्षतामा शुक्रबार बसेको ५८ औं कार्यपालिका बैठकले दाहसंस्कारका क्रममा भएको खर्च र उपचाररत मनिषा नेपालीको सम्पूर्ण उपचार खर्च नगरपालिकाले बेहोर्ने निर्णय भएको नगर प्रवक्ता केदार काफ्लेले बताउनुभयो ।

प्रवक्ता काफ्लेका अनुसार भूकम्प, बाढी पहिरो, आगलागी, असिनापानी, हावाहुरी, रोगब्याधी जस्ता प्राकृतिक विपत्तिबाट धनजनको क्षति भई राहतका लागि माग भएको खण्डमा प्राविधिकसहितको वडा समितिको निर्णय सहितको सिफारिसका आधारमा राहत रकम उपलब्ध गराउने निर्णय भएको छ ।

विपदको घटनामा परी कुनै ब्यक्तिको मृत्यु भएमा प्रति मृतक रु. १० हजार परिवारलाई उपलब्ध गराउने, घर पूर्णरुपमा क्षति भएमा रु. १० हजार, खाद्यान्न बाली जग्गा जमिन नष्ट भएमा रु. ५ हजार, घर आंशिक रुपमा क्षति भएमा रु. ७ हजार, गोठ नष्ट भएमा रु. ५ हजार, घटनामा परी घाईते हुनेहरुलाई उपचारका लागि अस्पताल जान आउन यातायात खर्चवापत रु. ३ हजार र विपदका कारण दुहुनो गाईभैंसी मरेमा प्रति पशु रु. ८ हजार र दुध दिन योग्य गाई भैंसी भएमा रु. ५ हजार, खसी बोका र माउ बाख्रा भएमा रु. ३ हजार राहत रकम उपलब्ध गराउने निर्णय भएको प्रवक्ता काफ्लेले बताउनुभयो ।तमादी घटनामा परी ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जलि, परिवारजनप्रति समवेदना तथा घाईतेको शिघ्र स्वास्थ्य लाभको कामना बैठकले गरेको छ ।

त्यस्तैगरी वालिङ नगरपालिकामा असोज ११ गतेदेखि डिजिटल प्रणाली सञ्चालनको शुभारम्भ गर्ने, घरनक्सा नवीकरण दस्तुर, जरीवाना र भूकम्प लाभग्राहीहरुले घर निर्माणका लागि नक्सा पासका लागि लाग्ने राजस्वको विषयमा राजस्व परामर्श समितिबाट सिफारिस भई आए अनुसार नै नवीकरण दस्तुर, जरीवाना र नक्सापासका लागि लाग्ने राजस्व रकम लिने निर्णय भएको प्रवक्ता काफ्लेले बताउनुभयो ।

बैठकले वालिङ १३ उदियाचौरमा अस्थायी क्रसर उद्योग स्थापनाका लागि एनडी क्रसर उद्योग प्रा.लि. ले अनुमति माग गरेकोमा सञ्चालनका लागि अनुमति दिने निर्णय गरेको छ भने नगरपालिकामा करारमा नियुक्ति भएका सबै किसिमका कर्मचारीहरुको आगामी २०७८ असार मसान्तसम्म करार नवीकरण थप गरिएको नगर प्रवक्ता काफ्लेले बताउनुभयो ।