खेलाडी सम्झौताका लागि क्रिकेटरको ग्रेड निर्धारण


काठमाडौं, (नेस)

नेपाल क्रिकेट संघ (क्यान) ले सन् २०२० को लागि केन्द्रीय खेलाडी सम्झौताका लागि पुरुषतर्फ १८ र महिलातर्फ १९ खेलाडीको नामावली सार्वजनिक गरेको छ।

क्यानले पहिलोपटक महिला टोलीलाई केन्द्रीय खेलाडीको सम्झौतामा राखेको हो। क्यानले तीन ग्रेडमा खेलाडी वर्गीकरण गर्दै पुरुषतर्फ प्रत्येक ग्रेडमा पारिश्रमिकमा १५ हजारले वृद्धि गरेको छ।

पुरुष खेलाडीको ‘ए’ ग्रेडका खेलाडीले ५० हजार ‘बी’ ग्रेडका खेलाडीले ४० हजार र ‘सी’ ग्रेडका खेलाडीले ३० हजार प्राप्त गर्नेछन्।

यसै वर्षदेखि समावेश गरिएको महिलातर्फ ‘ए’ ग्रेडमा रहेका खेलाडीले मासिक १५ हजार, ‘बी’ ग्रेडका खेलाडीले १२ हजार र ‘सी’ ग्रेडका खेलाडीले १० हजार पाउनेछन्।

सम्झौता २०२१ को शुरुआतबाटै लागू हुने भएको छ। सन् २०१९ मा ग्रेडमा रहेका स्पिनर ललितनारायण राजवंशी, ओपनर इसान पाण्डे, प्रदीप ऐरी र विकेट किपर राजु रिजाल सम्झौता सूचीबाट बाहिरिएका हुन्।

सन् २०१९ को ग्रेडअनुसार स्पिनर वसन्त रेग्मी ‘ए’ ग्रेडमा उक्लिएका छन्। सोमपाल कामी ‘बी’ ग्रेडमा झरेका छन्। यसअघि सोमपाल ‘ए’ र वसन्त ‘बी’ ग्रेडमा थिए। अभिनाश बोहरा र रोहितकुमार पौडेल ग्रेड ‘बी’ बाट ‘सी’ मा झरेका छन्।

पुरुष क्रिकेटरको ग्रेड
ग्रेड ‘ए’ ः ज्ञानेन्द्र मल्ल, पारस खड्का, सन्दीप लामिछाने, शरद् भेषवाकर, करण केसी, वसन्त रेग्मी, दीपेन्द्र सिंह ऐरी र विनोद भण्डारी।
ग्रेड ‘बी’ ः सुशन भारी, सोमपाल कामी, आरिफ शेख, पवन सरार्फ। ग्रेड ‘सी’ः सुवास खकुरेल, रोहितकुमार पौडेल, कुशल मल्ल, राशिद खान, अभिनास बोहोरा र कमलसिंह ऐरी।

महिला क्रिकेटरको ग्रेड
ग्रेड ‘ए’ ः रुबिना क्षेत्री (बेल्बासे), नेरी थापा, इन्दु बर्मा, सीता रानामगर र करुणा भण्डारी
ग्रेड ‘बी’ ः ज्योति पान्डे, अप्सरी बेगम, रोमा थापा, विन्दु रावल, कविता जोशी, ऋतु कनोजिया, काजल श्रेष्ठ र सरिता मगर।
ग्रेड ‘सी’ ः कविता कुँवर, डली भट्ट, अनुराधा चौधरी, सोनु खड्का, अञ्जली चन्द र शोभा आले।

क्यानका अन्य निर्णय
क्यानले संघको वार्षिक साधारणसभा आगामी असोज २८ गते गर्ने भएको छ। यसैगरी, राष्ट्रिय टोलीका पुरुष र महिला खेलाडी र कर्मचारीको दुर्घटना बीमा गर्नका लागि एक हप्ताभित्र प्रतिवेदन बुझाउने गरी संघका कोषाध्यक्ष रोशनकुमार सिंहको संयोजकत्वमा सदस्यहरू दुर्गाराज पाठक र छुम्बी रहने गरी समिति गठन गरिएको छ। आगामी मंसिरमा राष्ट्रिय खेलकुद परिषद्सँग समन्वय गरी महिला र पुरुष राष्ट्रिय प्रतियोगिता पीएम कप) सञ्चालन गर्ने निर्णय गरेको छ।

यसैगरी, क्यानले आईसीसीसँग समन्वय गरी आगामी डिसेम्बरमा मैत्रीपूर्ण अन्तर्राष्ट्रिय सिरिज सञ्चालन गर्न आवश्यक तयारी अघि बढाउने निर्णय गरेको छ। क्यानले राष्ट्रिय पुरुष क्रिकेटरका लागि अभ्यास सञ्चालन गर्ने तयारी गरेको छ। हालै, गम्भीर घाइते भएर उपचारमा रहेका क्रिकेटर ललितसिंह भण्डारीको उपचारमा क्यानले परिवार, नेपाल प्रहरी क्लब, ट्रक व्यवसायीलगायतसँग समन्वय गरी सक्दो सहयोग गर्ने निर्णय लिएको छ।