हालेप र जोकोभिचलाई इटालियन उपाधि


रोम, (एजेन्सी)

शीर्ष वरीयताकी सिमोना हालेपले पहिलोपटक क्ले कोर्ट प्रतियोगिता इटालियन ओपनको उपाधि जितेकी छन्। रोमानियाकी हालेपले चेक खेलाडी कारोलिना पिलिस्कोभालाई हराएकी हुन्। तर, पिलिस्कोभाले चोटका कारण फाइनल खेल बीचैमा त्याग्न पुगिन्। उनले खेल छाड्नु अघिसम्म हालेप ६–०, २–१ को अग्रतामा थिइन्।

हालेपले दोस्रो वरीयताकी पिलिस्कोभाविरुद्ध पहिलो सेट २० मिनेटमै हात पारेकी थिइन्। दोस्रो सेटमा भने पिलिस्कोभाले खेललाई निरन्तरता दिन सकेनन्। हालेपले पे्रmन्च ओपन २०१८ मा जितेकी थिइन्। उनी आइतबारदेखि पेरिसमा हुने फ्रेन्च ओपनमा अर्को उपाधि हासिल गर्न तयार भएकी छन्।

फ्रेन्च ओपन ग्रान्डस्लाम प्रतियोगिताकी डिफेन्डिङ च्याम्पियन एस्लिग बार्टीले नाम फिर्ता लिएपछि हालेप शीर्ष स्थानमा रहने भएकी छन्। अस्टे«लियाकी बार्टीले कोरोना भाइरसका कारण अर्को देशमा यात्रा गर्न नचाहेको बताएकी छन्।

गत संस्करणकी विजेता पिलिस्कोभाले पहिलो सेटमा ९ अंक मात्रै जितेकी थिइन्। दोस्रो सेटमा उनको उपचार भएको थियो। उनको शरीरको पछाडिको तल्लो भागमा उपचार गरिएको हो। उनले दोस्रो सेटमा हालेपको सर्भिस तोडेर १–१ बराबरी गर्न पुगिन्। तर, उनलाई खेल्न असहज भएपछि उनले खेल परित्याग गरेकी थिइन्।

रोममा भएको इटालियन ओपनअन्तर्गत पुरुष सिंगल्सको उपाधि शीर्ष खेलाडी नोभाक जोकोभिचले जितेका छन्। सर्बियाली खेलाडीले डिएगो स्वार्टजम्यानलाई ७–५, ६–३ ले हराएका थिए। यो उनको ३६औं मास्टर्स एक हजार उपाधि हो। उनी २०२० मा अपराजय रहेका छन्।

यद्यपि, जोकोभिच गएको महिना सम्पन्न यूएस ओपनको चौथो चरणबाट बाहिरिएका थिए। उनले लाइन अम्पयारको घाँटीमा लाग्ने गरी बल प्रहार गरेका थिए। निर्णायकको केही बेरको छलफलपछि उनलाई प्रतियोगिताबाट अयोग्य घोषित गरिएको थियो।

उनी यूएस ओपनको उपाधि दाबेदारी थिए। तर, दुर्भाग्यवश उनी बाहिरिएपछि उनले फ्रेन्च ओपनको १९औं ग्रान्डस्लाम उपाधि जित्ने अभियानमा रहेका छन्।