नेपाली चियाको आफ्नै लोगो प्रयोग हुने १२ चिया उद्योगलाई ट्रेडमार्क हस्तान्तरण


गणेश घिमिरे, इलाम

इलामका ९ सहित देशका १२ चिया उद्योगले ‘नेपाल टि क्वालिटी फ्रम दि हिमालयज’ ट्रेडमार्क (लोगो) प्राप्त गरेका छन् । पहिलो चरणमा देशका ४१ उद्योगले आवेदन गरेकामा १२ उद्योगले ट्रेडमार्क पाएका हुन् ।

ट्रेडमार्क प्रयोग गर्न चियाको अन्तिम उत्पादकले राष्ट्रिय चिया तथा कफी विकास बोर्डले तोकेको मापदण्ड पूरा गरी बोर्डमा आवेदन गर्नुपर्छ । बोर्डका अनुसार तोकिएको मापदण्ड शतप्रतिशत पूरा गरेका उद्योगले मात्रै ट्रेडमार्क पाउँछन् । बोर्डका कार्यकारी निर्देशक डा. विष्णु भट्टराईले औपचारिक रूपमा मंगलबार उद्योगलाई ट्रेडमार्क हस्तान्तरण गरिएको जानकारी दिनुभयो । कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले जिल्लाको सूर्योदय नगरपालिकामा भएको कार्यक्रममा ट्रेडमार्क हस्तान्तरण गर्नुभएको हो ।

ट्रेडमार्क पाउनेमा इलामको सूर्याेदय नगरपालिकास्थित गोर्खा टि स्टेट, नेपाल स्मल टि, तारागाउँ टि स्टेट र ओएएचआइएस टि स्टेट रहेका छन् । त्यस्तै इलाम नगरपालिकास्थित जस्बिरे टि स्टेट, हिमालयन सांग्रिला टि प्रोड्युसर्स प्रालि, उच्च पहाडी चिया सहकारी र साखेजुङ टि स्टेटले पनि ट्रेडमार्क पाएका छन् । साथै तेह्रथुमका दुई र संखुवासभाको एउटा उद्योगले ट्रेडमार्क प्राप्त गरेका छन् । ट्रेडमार्क कार्यान्वयनका लागि ‘नेपाल अर्थाेडक्स चिया सर्टिफिकेसन ट्रेडमार्क कार्यान्वयन निर्देशिका–२०७४’ बनेको छ । निर्देशिका अनुसार कार्यकारी निर्देशककै संयोजकत्वमा मार्क अनुगमन, व्यवस्थापन तथा नियमन समिति गठन भएको छ ।

चिया उद्योगीको संस्था हिमालयन अर्थाेडक्स टि प्रोड्युसर्स एसोसिएसन (होट्पा)ले ‘नेपाल टि क्वालिटी फ्रम दि हिमालयज’ लेखिएको ट्रेडमार्क तयार गरेर बोर्डमा पेश गरेको थियो । यही ट्रेडमार्क २०७४ मा सार्वजनिक गरिएको थियो । यता ट्रेडमार्क हस्तान्तरण कार्यक्रममा मन्त्री भुसालले ४१ उद्योगले आवेदन गरेकोमा पहिलो चरणमै १२ वटाले शतप्रतिशत मापदण्ड पूरा गरेको भेटिनु निकै खुशीको कुरा रहेको बताउनुभयो । अन्तर्राष्ट्रिय बजारमा चाहिने मापदण्ड शुरुमै शतप्रतिशत पूरा भएको पाउनु नेपालकै लागि गौरवको विषय भएको मन्त्री भुसालको भनाइ थियो । उहाँले चिया खेती भएको लामो समयपछि आफ्नो ब्रान्ड पाएकाले अब अन्य कृषिजन्य वस्तु अदुवा, अलैंचीलगायतको पनि ब्रान्ड बनाउनेमा सरकार लागिपरेको बताउनुभयो ।