चेल्सीविरुद्ध लिभरपुलको सानदार जित


लन्डन, (एजेन्सी)
इंग्लिस प्रिमियर लिगको उपाधि रक्षा गर्ने अभियानमा लागेको डिफेन्डिङ च्याम्पियन लिभरपुलले नयाँ सिजनमा चेल्सीविरुद्ध उसकै मैदानमा सानदार जित दर्ता गरेको छ।

आइतबार चेल्सीको स्टामफोर्ड ब्रिजमा भएको खेलमा लिभरपुलले चेल्सीलाई २–० ले हराएको हो। घरेलु टोलीका लागि सो खेलमा हार्नुको साथै डिफेन्डर एन्ड्रियाज क्रिस्टेनसेनलाई गुमाउनुपरेको थियो। उनी पहिलो हाफको इन्जुरी समयमा रातो कार्ड व्यहोरेर बाहिरिँदा लिभरपुलले १० खेलाडीमा सीमित चेल्सीलाई हराएको थियो।

क्रिस्टेन्सेनले साडियो मानेलाई गम्भीर फाउल गरेपछि शुरूमा रेफ्री पउल टाइर्नीले पहेंलो कार्ड देखाएका थिए। तर, रिभ्यँपछि उनलाई रातो कार्डको हकदार बनाइएको थियो। सानेले त्यसपछि दोस्रो हाफमा दुवै गोल गरेर लिभरपुललाई जित दिलाएका थिए।

मानेले ५०औं मिनेटमा रोबेर्टो फिर्मिनोको क्रसमा गोल गरेर लिभरपुललाई १–० को अग्रता दिलाएका थिए। अर्को गोल उनले चार मिनेपछि गरेका थिए।

योसँगै प्रिमियर लिगको नयाँ सिजनमा लिभरपुलले लगातार २ खेल जितेको छ । यसरी लगातार २ खेल जित्नेमा लेस्टर सिटी, एभर्टन, आर्सेनल र क्रिस्टल प्यालेस रहेका छन्। लेस्टरले आइतबार भएको दोस्रो खेलमा बनर्लीलाई ४–२ ले हराएको थियो।

त्यसैगरी, टोटनहामले यस सिजनमा पहिलो जित हात पारेको छ। पहिलो खेलमा एभर्टनसँग हारेको टोटनहामले दोस्रो खेलमा साउथाम्पटनलाई ५–२ ले हराएको हो। टोलीका लागि सन हिउङ मिन एक्लैले ४ गोल गरेका थिए। एक गोल हेरी केनले गरेका थिए। योसँगै टोटनहामले २ खेलमा ३ अंक जोडेको छ।