कोभिड–१९ को प्रभावबारे सर्वेक्षण नतिजा सार्वजनिक


काठमाडौं, (नेस)
नेपाल पत्रकार महासंघले पत्रकारिता क्षेत्रमा कोभिड–१९ को प्रभाव सर्वेक्षणको प्रारम्भिक नतिजा सार्वजनिक गरेको छ । सेयरकास्ट इनिसएिटिभक नेपालको सहकार्यमा महासंघले गरेको सर्वेक्षणको नतिजा भर्चुअल माध्यमबाट कार्यक्रम गरी सार्वजनिक गरिएको हो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले कोभिड–१९ महामारीको समयमा पत्रकारको पेसागत समस्या तथा सञ्चारमाध्यमले भोग्नुपरेको अवस्थाको यथार्थता थाहा पाउन सर्वेक्षण गरिएको बताउनुभयो ।
महासंघका पूर्वसभापति डा. सुरेश आचार्यले सञ्चारगृहले कोरोनाको वहानामा पत्रकारलाई पेसाबाट वञ्चित गर्न नमिल्ने बताउनुभयो । उहाँले मिडिया सञ्चालकहरूले वर्षौंदेखि कमाएको नाफालाई बिर्सिएर केही महिनाको घाटा देखाउँदै मिडिया बन्द गर्ने र पत्रकार निकाल्ने काम गर्नु गलत भएको बताउनुभयो ।
यस्तै महासंघका पूर्वसभापति तारानाथ दाहालले सर्वेक्षणमा सहभागी पत्रकारहरूले पेसाप्रति देखाएको आशाले उत्साहित बनाएको बताउनुभयो । उहाँले यो सर्वेक्षणको नतिजाले नेपाली पत्रकारिता क्षेत्रमा कोभिड–१९ का कारण सृजना भएको अवस्थालाई स्पष्ट पारेको बताउनुभयो ।
महासंघका पूर्वअध्यक्ष शिव गाउँलले सर्वेक्षणले कोभिड–१९ महामारीले पत्रकारको पेसागत सुरक्षामा ठूलो असर पारेकाले पेसागत संकटमा परेका पत्रकारको बारेमा महासंघले पहल कदम लिनुपर्ने धारणा राख्नुभयो ।
शेयरकास्टका अनुसन्धानकर्ता मधु आचार्य र भूमि चापागाईंले सर्वेक्षणमा अपनाइएको विधि र नमुना छनोटका बारेमा प्रकाश पार्नुभयो । त्यसै गरी कार्यक्रमका सहजकर्ता एवं महासंघका सचिव प्रकाश थापाले सर्वेक्षणको नतिजाले अहिलेको विषम परिस्थितिबाट सिंगो पत्रकारिता क्षेत्र माथि निस्कनु कोसेढुंगा सावित हुने बताउनुभयो ।