कोभिडबाट पर्यटन क्षेत्रमा ६० अर्बको नोक्सान


नेपाल समाचारपत्र, काठमाडौं

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले कोभिड १९ महामारी रोक्न चालिएका कदम तथा यात्रा प्रतिबन्धले नेपालको पर्यटन क्षेत्रमा ६० अर्बभन्दा बढीको घाटा व्यहोर्नु परेको हुँदा यसको पुर्नउत्थान चुनौतीपूर्ण रहेको बताउनु भएको छ ।

नेपाल उद्योग परिसंघले आइतबार आयोजना गरेको पर्यटन क्षेत्रलाई सुचारु गर्ने सम्बन्धी भर्चुअल अन्तत्र्रिmयामा मन्त्री भट्टराईले सावधानीपूर्वक पर्यटकीय गतिविधि खुल्ला गर्न सबैपक्षको सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो ।

मन्त्री भट्टराईले अन्तर्राष्ट्रिय उडान नियमित गर्दै लैजाने र बोर्डिङ पास लिएको ७२ घण्टाभित्रको पीसीआर टेस्ट नेगेटिभ लिएर आउँदा पर्यटकलाई नेपाल आउन रोक नभएको भन्दै अब पर्यटन सेवा सुचारु हुँदा अनअराइभल भिसा दिने कुरामा सरकार सकारात्मक रहेको जानकारी दिनुभयो ।

मन्त्री भट्टराईले पर्यटन क्षेत्रको पुर्नस्थापनाका प्याकेज कार्यान्वायनमा अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकमा मन्त्रालयको तर्फबाट निरन्तर फलोअप गरिरहेको पनि जानकारी दिनुभयो ।
कार्यक्रममा परिसंघका अध्यक्ष सतिशकुमार मोरले कोभिडसँग डराएरभन्दा पनि सावधानी अपनाएर अघि बढ्नुपर्ने अवस्था

आएकाले पर्यटन व्यवसाय तथा नागरिक उड्डयन सेवा सुचारु गर्नुको विकल्पन भएको बताउनुभयो । यसका लागि भएको सरकारी निर्णयको पनि अध्यक्ष मोरले स्वागत गर्नुभयो । पर्यटन क्षेत्रसँग सम्बन्धित उद्योग तथा सेवा सुचारु गर्दा निजी क्षेत्रसँगको छलफल तथा समन्वयमा जारी गरिने स्वास्थ्य प्रोटोकलको पालना गराउन परिसंघ प्रतिबद्ध रहेको पनि अध्यक्ष मोरले उल्लेख गर्नुभयो ।

पर्यटन पुर्नउत्थानका काम सुस्त भएको डिमान्ड शुल्क मिनाहा गर्ने लगायत बजेट तथा मौद्रिक नीतिमा आएका राहतको कार्यान्वयनमा ढिलाइ भइरहेको तर्फ अध्यक्ष मोरले ध्यानाकर्षण गराउनुभयो छ । राहत कार्यान्वयनमा ढिलाइ हुँदा भइरहेको क्षतिको जिम्वेवारी लिन पनि सरकार तयार हुनुपर्नेमा अध्यक्ष मोरले जोड दिनुभयो ।

परिसंघका राष्ट्रिय परिषद् सदस्य सुधिर मित्तलले पर्यटन क्षेत्रका विज्ञ तथा संघ संस्थाका अध्यक्षहरुले अन्तर्राष्ट्रिय तथा आन्तरिक उडान नियमित गर्नुपर्ने र उडानलाई अकस्मात रद्द गर्ने निर्णय लिन नहुने बताउनुभयो । हवाई इन्धनको शुल्क कम गरेर तथा पर्यटकीय पूर्वाधारको सुधार गरेर उड्डयन सेवालाई राहत दिन पनि मित्तलले आग्रह गर्नुभयो ।

त्यस्तै होटल एसोसिएसनका पूर्वअध्यक्ष योगेन्द्र शाक्यले सुरक्षित पर्यटनका लागि सबैपक्षमा विश्वास दिलाउन सहकार्य गरिनुपर्ने बताउनुभयो ।

ट्रेकिङ एजेन्सीज एसोसिएसनका अध्यक्ष खुमबहादुर सुवेदीले अनलाइन तथा अनअराइभल भिसा प्रदान गरिनुपर्ने तथा पर्यटक नेपाल भित्रिसकेपछि पीसीआर टेष्ट अनिर्वाय गर्ने सो अवधिका लागि क्वारेन्टाइनको समय तीन दिनमा सीमित गर्ने तथा पीसीआर रिपोर्ट नेगेटिभ भएमा जुनसुकै गन्तव्यमा जान पाउनुपर्ने व्यवस्था हुनुपर्ने बताउनुभयो ।

त्यस्तै पर्वतारोहण संघका अध्यक्ष शान्तवीर लामाले यात्रा बीमा अनिवार्य गर्ने तथा सरकारले जारी गर्ने प्रोटोकलमा होटल, ट्राभल एजेन्सी, ट्रेकिंङ एजेन्सी, यातायात कम्पनी र सबै कर्मचारीले पालना गराउन प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

परिसंघको पर्यटन समितिका संयोजक पम्फा धमलाले कुनै पर्यटक, यात्रु वा पर्यटन क्षेत्रका सम्बद्ध कर्मचारीलाई कोभिड संक्रमण भेटिएमा उपचार र कन्ट्रयाक्ट ट्रेसिङ गर्ने तर यसकै आधारमा उडान रद्द गर्ने वा होटल शिल गर्ने अवस्थामा जानु हुँदैन भन्नेमा जोड दिनुभयो ।