एक साथ चार पार्क बन्दै


नेपाल समाचारपत्र, ललितपुर
ललितपुुरको जावलाखेल क्षेत्रमा एकैसाथ चारवटा पार्क बन्ने भएका छन् । महानगरको वडा नं ४, ५ र १३ मा पर्ने जावलाखेलको स्टिलटावरनजिकै रहेका यी पार्क नगरस्तरीय गौरवशाली आयोजनाअन्तर्गत बन्न लागेका हुन् ।
चिल्ड्रेन पार्क, मिडल पार्क, पिस पार्क र गणेशमान सिंह पार्क नाम दिइएको यी पार्क कुल २६ आना ३ पैसा जग्गामा निर्माण हुनेछन् । यी पार्कको कुल लागत ७८ लाख ४८ हजार रहेको महानगरपालिकाले जनाएको छ ।
शनिबार पार्कको शिलान्यास गर्दै नगरप्रमुख चिरीबाबु महर्जनले हरियाली र पानीजन्य परियोजनालाई महानगरले प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘शहरभित्र पार्क निर्माण गर्दा शहरको सौन्दर्य बढ्छ ।’ खुला स्थानको संरक्षण गर्न पार्क निर्माणलाई महŒव दिएको उहाँले बताउनुभयो । महानगरले खुला ठाउँमा कुनै पनि भवन निर्माण गर्न नदिने नीति लिएको छ ।
अहिले नै खुला ठाउँको संरक्षण नगर्ने हो भने नयाँ पुस्तालाई अन्याय हुने नगर प्रमुख महर्जनले बताउनुभयो । ‘म सानो छँदा लगनखेलमा फुटबल खेल्न जान्थें, त्यहाँ सबैतिर पोखरी थियो, त्यहीं पौडी खेल्न सिकेको हो, हाम्रो पुस्ताले जुन प्रकृतिमा रमाइलो गरेका थियौं, त्यस्तो रमाइलो हाम्रा छोराछोरी र नातिनातिनाले गर्न पाएका छैनन्’, उहाँले भन्नुभयो– ‘अब पनि संरक्षणमा नजुट्ने हो भने नयाँ पुस्ताले हामीलाई धिक्कार्छन् ।’
ललितपुर महानगरपालिकाले लगनखेल, कुमारीपाटीको प्रसादी एकेडेमीनजिकै पार्क निर्माणको तयारी गरिरहेको छ । महानगरपालिकाका वरिष्ठ इन्जिनियर रामरतन शाहले पार्क बालमैत्री, अपांगतामैत्री हुने बताउनुभयो ।
कार्यक्रममा उपप्रमुख गीता सत्याल, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइराला, पूर्वाधार महाशाखा प्रमुख रुद्र गौतम, शहरी विकास योजना महाशाखा प्रमुख श्रीकुमार महर्जन तथ गणेशमान सिंह सालिक संरक्षण समितिका अध्यक्ष तथा पूर्वसांसद रामकृष्ण चित्रकारको पनि उपस्थिति थियो ।
पार्कका डिजाइनर वृक्ष फाउन्डेसनका अध्यक्ष मिलन राईले पार्क बालमैत्री, अपागंतामैत्री बन्ने बताउनुभयो । पार्क जैविक विविधतापूर्ण हुनेसमेत उहाँले स्पष्ट पार्नुभयो । सीटीईभीटीईका पूर्वसदस्य सचिव तथा पार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष रमेशकुमार बखतीले पार्क निर्माण र संरक्षणमा स्थानीयको भूमिका महŒवपूर्ण हुने बताउनुभयो ।