७९ जनाद्वारा रक्तदान


नेपाल समाचारपत्र, काठमाडौं

समाजसेवी ताराबहादुर कुँवरको आयोजनामा विभिन्न चरणमा गरी ७९ जनाले रक्तदान गरेका छन् ।
शनिबार भएको कार्यक्रममा २७ जनाले रक्तदान गरेका छन् । यसअघि दुईपटकमा गरी ५२ जनाले रक्तदान गरेका थिए ।

चक्रपथ सरसफाइ अभियानमा मुख्य आयोजक भएर शनिबार बाफलमा आयोजना गरेको रक्तदानमा अन्य सातवटा संघसंस्था पनि सहआयोजक रहेका थिए । कुँवरले अन्य केही मानिस पनि रक्तदान गर्न आए तापनि विभिन्न कारणले रक्तदान गर्न नमिलेको बताउनुभयो । संकलित ७९ पाउन्ड रगत नेपाल रेडक्रस सोसाइटीमा जम्मा गरिएको छ ।

बागमती प्रदेशसभाका नेकपा सांसद लक्ष्मण लम्सालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा लम्सालले पनि रक्तदान गरेका गर्नुभएको थियो । रक्तदातालाई प्रमाणपत्रसमेत वितरण गरिएको थियो । हेभी इक्विपमेन्ट व्यवसायी महासंघका अध्यक्ष, हजुरलाई नमस्ते ट्रेड लिंकका सञ्चालक रहेका उहाँ पछिल्लो समयमा रगतको अभाव हुन थालेपछि आफूले यो अभियान चलाएको बताउनुहुन्छ ।

कोरोना भाइरसको त्रासका कारण भएको लकडाउनले दैनिक जीवनयापनमा समस्या परेका १ हजार २ सय ४७ जनालाई उहाँले विभिन्न चरणमा गरी राहत स्वरुप चामल, दाल, नुन, तेललगायतका खाद्य सामग्री पनि वितरण गर्नुभएको छ ।

उहाँले भन्नुभयो– ‘एक व्यक्तिलाई अप्ठेरो पर्दा अर्कोले सहयोग गर्नु मानवीय धर्म हो त्यसैले व्यवसाय गरेर कमाएको थोरै खर्च गरेको हुँ ।’ राहतवितरण अभियानलाई अन्य व्यक्ति तथा संघसंस्थाले पनि सहयोग गरेका छन् ।