पीसीआर प्रयोगशालाको उद्घाटन


बैतडी, (नेस)

जिल्ला अस्पताल बैतडीमा स्थापना भएको पीसीआर प्रयोगशालाको बिहीबार उद्घाटन गरिएको छ । प्रयोगशालाको प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टले उद्घाटन गर्नुभयो ।

सुदूरपश्चिम प्रदेश सरकारको करिब ४० लाखको लागतमा प्रयोगशाला स्थापना भएकोे अस्पताल व्यवस्थापन समितिका अध्यक्ष पार्वती भट्टले बताउनुभयो । प्रयोगशाला उद्घाटन लगत्तै कोरोनाको परीक्षण पनि शुरु भएको थियो ।

योभन्दा पहिला कोरोना परीक्षणका लागि डडेल्धुरा तथा कैलालीमा स्वाब पठाउने गरिएको जिल्ला अस्पतालका प्रमुख डा. डम्मरजंग सिंहले जानकारी दिनुभयो । बैतडीमा पीसीआर प्रयोगशाला स्थापना भएपछि दार्चुलाका नागरिकलाई समेत सहज हुने भएको छ ।

पीसीआर प्रयोगशाला कोरोना परीक्षणका लागि मात्रै नभएर अन्य रोगहरूको परीक्षणका लागि सहज हुने स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो ।

प्रदेश सरकारले गत चैत १५ गते बैतडीमा पीसीआर प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको थियो । निर्णय गरेको करिब ६ महिनापछि बैतडीमा प्रयोगशाला सञ्चालनमा आएको हो । बैतडीसँगै डोटी र कैलालीमा पनि प्रयोगशाला स्थापना गर्ने निर्णय भएकोमा ती ठाउँमा यसअघि नै प्रयोगशाला सञ्चालनमा आइसेकेका छन् ।

उद्घाटन कार्यक्रममा प्रदेश सभा सदस्य प्रेमप्रशकाश भट्ट, जिल्ला समन्वय समितिका संयोजक सिद्धराज भट्ट, दशरथचन्द नगरपालिकाका मेयर नरेन्द्रसिंह थापा, प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी, नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष पार्वती भट्टलगायतको उपस्थिति रहेको थियो ।